सगरमाथा मापन टोली चुचुरोमा, मंसिरमा वास्तविक उचाइ पत्ता लाग्ने

काठमाडौँ – सगरमाथाको उचाइ मापन गरिरहेको नापी विभागका दुई सदस्य चुचुरोमा पुगेका छन्। आज(बुधबार) विहान तीन बजे उनीहरू सगरमाथाको शिखरमा पुगेका हुन् ।

नापी विभागका निर्देशक दामोदर ढकालका अनुसार उनीहरू आज विहान अन्य आरोहण टोलीसँगे सगरमाथाको शिखरमा पुगेका हुन्। उनीहरूले सगरमाथाको शिखरमा आधा घण्टा बसी उचाइ मापनका लागि आवश्यक सम्पूर्ण डाटा संकलन गरिसकेका छन्।

सगरमाथाको उचाइ नाप्न विभागका ४ जना २७ चैतमा काठमाडौँबाट प्रस्थान गरेका थिए। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। यसमध्ये दुई सदस्य सगरमाथाको आधार शिविरमा बसिरहेका छन् भने दुई जनाले आरोहण गरेका हुन्। आरोहण गर्नेमा प्रमुख नापी अधिकृत गौम र नापी अधिकृत कार्की हुन् ।

यो सँगै सगरमाथा उचाइ मापनको ७५ प्रतिशत काम सकिएको निर्देशक ढकाल बताउँछन् । ‘हाम्रा दुई सदस्यले आज विहान सफलतापूर्वक सगरमाथा आरोहण गरी डाटा संकलन गरेका छन्,’ उनले भने, अब ग्राभिटी सर्भे गरेपछि सगरमाथाको वास्तविक उचाइ पत्ता लाग्नेछ।’

विभागले सगरमाथाको उचाइ मापनका लागि तीन वटा विधिको प्रयोग गरेको छ। गत आर्थिक वर्षबाट शुरु भएको उचाइ मापनमा परिशुद्ध समतलन नापी प्रणाली, त्रिकोणमितीय समतल नापी विधि र जीएनएसएस प्रविधि गरी तीन वटा विधिको प्रयोग गरिएको छ ।

त्यसमध्ये परिशुद्ध समतलन नापी प्रणाली अन्तर्गतको सबै काम सकिएको छ भने त्रिकोणमितीय समतलन नापीको काम चलिरहेको छ। जीएनएसएस प्रविधिका लागि भने ग्राभिटी सर्भे मेशिन आवश्यक पर्ने भएकाले केही समय लाग्ने निर्देशक ढकालको भनाइ छ । उनका अनुसार उक्त मेशिन नेपालमा नभएकाले नेपाल सरकारले खरिद गरिसकेको छ। तर, अहिले तत्काललाई विभिन्न प्रक्रिया बाँकी रहेकाले नापी विभागलाई उक्त मेशिन हस्तान्तरण गरिएको छैन्। मेशिन प्राप्त गर्ने बित्तिकै काम अगाडि बढ्ने उनले बताए ।

आगामी साउनसम्ममा तथ्यांक संकलनको सबै काम सकिने र तीनैवटा विधिबाट प्राप्त तथ्यांकलाई संकलन गरी सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउन आगामी मंसिरदेखि पुस सम्म लाग्ने निर्देशक ढकालले जनाए ।

२०७२ को भूकम्प पछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विज्ञहरूको धारणा आएपछि नापी विभागले पहिलो पटक तीन वटा विधिबाट सगरमाथाको उचाइ मापन शुरु गरेको हो।

हाल सगरमाथाको प्रमाणित उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको छ। सन् १८५४ मा ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले समतलन नापी विधिबाट सगरमाथाको उचाइ मापन गरेका थिए। हाल प्रमाणित उचाइ सोही मापनका आधारमा तय गरिएको हो।

Facebook Comments