फोक्सुन्डो पुग्ने हुटहुटी (भिडियो सहित)

सुबोध गौतम

यो काठमाडौँमा बनेको योजना होइन । काठमाडौँका धेरै भ्रमण योजना तुहिए । कर्णालीको बगर दैलेखको राकममा साँझको ९ः३० बजे फुरेको यात्रा हो, यो । यसका प्रमुख प्रस्तावक हुन, भाष्कर भट्टराई । उनी पानी परियोजनाका फिल्ड टिम डाइरेक्टर पनि हुन् जसको कार्यक्षेत्र नेपालगञ्ज हो । बर्षौदेखिको फोक्सुण्डो पुग्ने रहर यसरी ब्यूतियो ।


तर यो उद्देश्य विहीन यात्रा भने पक्कै थिएन । कार्यक्रमहरु पहिले नै तय भइसकेका थिए । नेपालगञ्जबाट डोल्पाको जुफालका लागि वैशाख १० गते उड्नु पर्ने थियो । टिकटको व्यवस्था गर्नुपर्ने भयो । तर १५ गतेसम्मै टिकट छैन भन्ने प्रारम्भिक सूचना पाइयो । नेपालगञ्जबाट कर्णाली प्रदेशका सहरहरू उडेर जान त्यति सजिलो छैन । उड्नु पर्ने ६ जना तर तीन जनाको टिकट मात्र १० गतेलाई नै मिलाइयो ।

टिकट भएर हुँदैन । उडान थोरै तर यात्रुहरू धेरै भएपछि समस्या आउनु स्वभाविक हो । जो पहिले विमानस्थल पुग्यो, त्यो उड्यो, सबै यस्तै भन्दारहेछन् । यसअघि मुगुको गमगढी जान नेपालगंज पुगेका नेपाल वातावरण पत्रकार समूह (नेफेज)का महासचिव निमेष रेग्मी जहाज नउड्का तीन दिन बसेर नेपालगंजबाटै फर्किनुप¥र्यो । उच्च क्षेत्रको उडान भएकाले होला उडानमा दैनिकी हावापानी सधँै हावी हुने । त्यो उडान अनुकूल नभइदिँदा अघिल्ला दिनका यात्रुहरूको संख्या पनि त्यत्तिकै हुने रहेछ । जसोतसो फुत्काएको टिकट कतै खेर जाने त होइन ? भन्ने आशङ्का हामीमा थियो ।

भर्जिन डोल्पा र फोक्सुण्डो हेर्ने हुटहुटीसहित नेफेजका तीन जना चारै बजे उठेर विमानस्थल पुग्यौँ । मौसम अनुकूल भइदियोस् भन्ने चाहना सबैको थियो । सामान्यतया बिहान मात्र उच्च भेगका लागि मौसम अनुकूल हुने रहेछ । त्यसैले होला, एउटै जहाजले कर्णालीका अन्य जिल्लामा पनि उडान भर्दो रहेछ । बिहान छ बजे एक ट्रिप यात्रुलाई अन्यत्र पु¥याएर आएपछि जुफालका लागि तारा एयरको जहाज तयार भयो । जाने पक्का भएपछि तीननै जनाको अनुहार उज्यालो भयो । जहाजमा छिरेपछि सबैले एकाअर्कालाई हेरे । सानो जहाज, ककपिट पनि खुला र त्यसका पछाडि सामानका बोराहरू । मानौँ पुरानो, अव्यवस्थित र साँगुरो कोठमा बसेजस्तो थियो । छेउछाउमा पोकापन्तरा पनि त्यत्तिकै थिए । हामी तीनमध्ये एक जना हाम्रा सहकर्मी आलोक जोशी जो विवाह बन्धनमा बाँधिएको दुई महिना मात्र भएको थियो । जहाज उड्न थालेपछि पंक्तिकारले उनको अनुहार पुलुक्क हे¥यो, चमक घटिसकेको थियो । मलीन अनुहारले ‘भगवान भरोसा’को सङ्केत गर्दै थियो । त्यसो त काठमाडौँबाट नेपालगञ्जका लागि उड्दा नै उनी नेपालगञ्जदेखि जुफालको उडान कल्पना गर्दै थिए । अर्का सहकर्मी थिए, चन्द्रकान्त पण्डित । उनी पछाडि बसेका थिए । संयोगनै मान्नुपर्छ, तीनै जना पहिलो पटक फोक्सुण्डो ताक्दै थियौँ ।

फोक्सुन्डो खोला

युवा पुस्ता (दुवै विमान चालक) को हातमा जीवन सुम्पिएर हामी उडान भर्दै थियौँ । जाजरकोटको आकास छिचोल्दै विमानले उचाई लिँदै थियो । ३० मिनेटको हवाई यात्राको अन्तिम पाँच मिनेट निकै रोमाञ्चकारी भयो जसले आलोकको अनुहारमा बिस्तारै चमक आउन थाल्यो । उनले थाहा पाए, विमान ओर्लँदै छ । विमान चालकले उचाई ह्वात्त घटाउन थाले । विमानलाई दुईतर्फका बडेमानका पहाडको बीचबाट छिराए । दुवैतर्फ र अगाडिका उच्च पहाडहरू हिउँले सेताम्मे थिए । ती हिमाल नाघेर हामी जुफाल ओर्लँदै थियौँ (हेर्नुस भिडियो र तस्वीर) । अगाडिका हिमाल पनि त्यत्तिकै सेताम्मे थिए । हामीले कल्पना गरेभन्दा धेरै आरामदायी तरिकाले ती चालकले विमान धावन मार्गमा ओराले । उनीहरूलाई धन्यवाद !

जुफाल विमानस्थलबाट दुनै (डोल्पाको सदरमुकाम) पुग्नुपर्ने भयो । साथमा जेनेरेटर, त्यसको इन्धन, प्रोजेक्टरलागयतका सामग्रीहरू थिए । पहिलेपहिले यात्रुहरू भरियालाई सामान बोकाएर पैदल दुनै पुग्दा रहेछन् । तर विकास बिस्तारै उक्लिँदै रहेछ । हेलिकप्टरले झुण्डाएर लगेका गाडीहरू गुड्न थालेछन् । जुफाल, दुनै र त्रिपुरा आसपासमा यस्ता गाडीको संख्या ३० पुग्यो भन्दै थिए, एक जना चालक । हामी पनि उडाएर लगिएका तीनै थोत्रा गाडीमा दुनैका लागि बस्यौँ । यसबीचमा एक ठाँउमा अर्को गाडी परिवर्तन गर्नुप¥यो, खोलामा पुल नभएकाले ।

जुफाल देखि दुनै को बीचमा पर्ने खोला । खोलामा पुल नभएकाले यहाँ बाट गाडी पविर्तन गर्नुपर्ने हुन्छ ।

त्यही गाडीमा भेट भए, जिल्ला शिक्षा इकाई प्रमुख सिंहराज डाँगी । डोल्पा भर ५६५ शिक्षक र करिब ११ हजार विद्यार्थी रहेछन् । यात्राका क्रममा देखिएका सबै विद्यालय बन्द थिए । उनी चार वर्षदेखि यहीँ कार्यरत रहेछन् । पंक्तिकारले उनलाई सोधे, सबैभन्दा टाढाको विद्यालय पुग्न कति दिन लाग्छ ? उनले भने, ‘हिडेर ७ दिन ।’ तपाई पुग्नु भाछ त ? ‘पुगेको छैन ।’ उनी अहिलेसम्म माथिल्लो डोल्पा पुगेका रहेनछन् । डाँगी कार्यालयमा मसहित दुई जना मात्र छौँ, भन्दै थिए । यही भनाइबाट थाहा पाउन सकिन्छ, डोल्पाको शैक्षिक अवस्था । त्यसो त भेटका क्रममा डोल्पाको नाम चलेको एकमात्र सरकारी (गैरसरकारी संघसंस्थाको नियमित आर्थिक सहयोग प्राप्त) श्री टपरिजा माध्यमिक विद्यालयका उपनिर्देशक रामचन्द्र बुढाले भने, ‘डोल्पामा दरबन्दी भएका कतिपय शिक्षक त विद्यालयनै नदेखी रिटायर्ड हुन्छन् ।’ त्यस्ता शिक्षकको सूची आफूसँग भएको ठोकुवा पनि गरे ।

ठुली भेरि र फक्सुन्डो खोलाको संगम स्थल सुलीगाढ ।

डाँगीसँग भलाकुसारी गर्दै ४५ मिनेटमा दुनै पुग्यौँ । यहाँ पुग्ने वित्तिकै विगतको सशस्त्र द्वन्दको घटना याद आयो । सशस्त्र द्वन्दमा होमिएको माओवादीले ०५८ असोज ९ गते राती दुनै सदरमुकाममा आक्रमण गरेका थिए । घटनामा नेपाल प्रहरीका १४ जनासहित माओवादीतर्फ धेरै संख्यामा मानवीय क्षति भएको थियो । यही घटनाले गर्दा तत्कालीन राजा विरेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच सेना परिचालनको विषयलाई लिएर सम्बन्ध चिसिएको थियो ।

दुनै पुगेपछि थाहा पाइयो, संभवत भौगोलिक विकटताको फाइदा उठाएर माओवादीले आक्रमण गरेको हुनुपर्छ । तर अहिलेको परिवेश अलि फेरिएको रहेछ । जुफालबाट दुनै पुग्ने सडक बनेको छ तर पुल भने कहिँकतै छैनन् । विकासका मोडेलहरू पनि उल्टोसुल्टो गतिमा चलिरहेका रहेछन् । ठूली भेरी नदीको दक्षिण पूर्वी किनारमा रहेको दुनै अझ पनि त्यति समृद्ध भइसकेको छैन भन्ने कुरा दुनैको मरमर होटलमा एक रात बिताउँदा थाहा पाइयो । ‘जैरी गाठ साना जलविद्युत आयोजनाबाट दुई सय किलोवाट विद्युत उत्यादन भइरहेको थियो । फागुन ४ मा बिग्रियो अहिले सम्मबनेको छैन’, कान्तिपुरमा काम गर्दा ताकाका सहकर्मी विष्णुलाल बुढा भन्छन, ‘हरेक वर्ष बिग्रिन्छ ।’ पंक्तिकारले सोधे, ‘बिग्रिन्छ कि बिगारिन्छ ?’ प्रश्न सुनेर बुढा हाँसे । लामो समयपछि उनकै कार्यथलोमा भेट हुँदा पत्रकारिता क्षेत्रका सुखदुखका भलाकुसारी पनि भए । उनी २१ वर्षदेखि जिल्ला संवाददाताका रूपमा कार्यरत छन् । बुढाको भनाईमा पहिरोले गर्दा विद्युत उत्पादन ठप्प भएको हो र वैशाख तेस्रो सातासम्म पनि बनेको छैन ।

दुनैको उत्तर तर्फको भूगोल ।

त्यसै पनि दुनै सदरमुकाम सुरक्षित देखिएन । ठूली भेरीको तटमा रहेको सदरमुकाम जुनसुकै बेला पनि क्षति हुनसक्ने देखिन्छ । तर पनि नदीको दुवैतर्फ तटबन्ध लगाउने काम भइरहेको छ । यसका लागि करोडौँ बजेट छुट्टाइएको छ । त्यो बजेटमा पनि चलखेल भइरहेको आम गुनासो त्यत्तिकै छ । मरमर होटलका मालिक अर्जुन हिराजन व्यवसाय गर्ने क्रममा दुनै आइपुगेको सुनाउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय ध्वजा वाहक विमानको टुङ्गो छैन । मनपरी छ । भरपर्ने अवस्था छैन । पञ्चायतका बेला अनुदानमा स्याउ ढुवानी हुन्थ्यो । अहिले छैन ।’ हिराचनले अर्को गजबको योजना सुनाए, नगरपालिकाले भेरीको दुई भँगालोबीचमा बगैँचा बनाउने रे । सुन्दा रमाइलो लागे पनि त्यो बगैँचा कुनै पनि बेला भेरीले बगाउँछ भन्ने हेक्का कसैमा देखिएन । योजनाहरू बनाउँदा र सहर बिस्ता गर्दा सम्भावित वातावरणीय क्षतिको मूल्याङ्कन गर्ने परिपाटी पनि देखिएन । दुनै बजारको सबै फोहोर ठूली भेरीमा फालेका दृश्यहरू पनि समान्य छन् ।

१० गते दिनभर दुनैमा भेटघाटको क्रम चलिरह्यो । यसबीचमा सामुदायिक वन उपभोक्ता महासंघ डोल्पाका अध्यक्ष शेरबहादुर बुढा होटलमा टुप्लुक्क आइपुगे । उनले संरक्षणको कथा सुनाउँदै भने, ‘डोल्पाका फाँटमा आलु र साग रोपेर सिकार खेल्न आउँछन् । सिकारीहरू निकुञ्ज भित्रै बस्छन् । त्यतिसम्म हुन्छ यहाँ ।’ त्यसो त शे–फोक्सुन्डो नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो ।

स्याङ्गटा गाउँ

उनीसँगको बार्तालापपछि खाजाको समय भयो । साहुनी याङचेनले एक थाल लोकल आलु उसिनेर ल्याइन । तपाईले मागेर जुन परिकार पनि गजव मिठो बनाउने रहिछन, उनले । खाना पकाउने सीपले भरिपूर्ण । भेज थुक्पा सुरुप्प पारेको तीनै जनाले एकचोटी वाह…वाह…भनियो । होटल साहुजी अर्जुन पनि सँगै थिए । उनी भन्दै थिए, ‘दुनैले एक पटक ५० जना पाहुना राख्न सक्दैन ।’ उनको भनाई दुनैका भौतिक पूर्वाधारले पुष्टि गरिरहेका थिए ।

यत्तिकैमा सहकर्मी आलोकले भने, ‘आँखा पोलिराछ । निकै हुदैन ।’ अर्का सहकर्मी चन्द्रकान्तले फ्याट्टै भने, ‘त्यसको एउटै उपाय छ । एक एक थोपा लोकल हालेपछि निको हुन्छ ।’ साहुसहित चारै जना हाँसियो । आलोकलाई खुर्सानीदेखि पनि एलर्जी रहेछ । खानामा खुर्सानी देख्यो कि तर्सिने । पहिलै पिरो हुन्न..हुन्न भनि हाल्ने । उसिनेको आलुसँगैको खुर्सानी देखेर उनी तर्सी रहेका थिए । अर्को बिहानै फोक्सुन्डोका लागि हिड्नु थियो । दुनैबाट करिब ३१-३२ किलोमिटरको दुरी तय गर्नु थियो ।

छेप्काकी स्थानिय महिला तानमा कपडा बुन्दै ।

वैशाख ११ गते – बिहानै हिड्ने योजना थियो । जेनेरेटर, इन्धन र प्रोजेक्टर पनि सँगसँगै लैजानुपर्ने । अघिल्लो साँझ साहुजीले खोजेको भरियाको बिहान मुड चेन्ज भएछ । उनी आएनन् । साहुजी अर्जुनले भन्न थाले, ‘हेर्नुस्, डोल्पालीले भारी बोक्दैनन् । भारी बोक्न जाजरकोट, रुकुम रोल्पाका मान्छे आउँछन् ।’ उनको भनाई र हाउभाउले सामाजिक मनोभाव दर्शाउथ्यो । उल्लेखित जिल्लाका श्रम गरेर खाने व्यक्तिहरूलाई गरेको सम्बोधन चित्तबुझ्दो थिएन । किन डोल्पालीले भारी बोक्दैनन् ? पंक्तिकारले प्रश्न गरे । उनको उत्तर थियो, ‘काम गर्दैनन् डोल्पाका मान्छेले । वर्षमा एक पटक किरा (यार्सागुम्बा) टिप्न जान्छन् त्यसैले पुग्छ ।’ उनको भनाई अघिल्लो दिन दुनै बजार घुम्दानै थाहा भएको थियो । बजारमा स्थानीय उत्पादनहरू केही देखिएन । जहाजबाट ल्याइएका भारतीय र तराईका वस्तुहरू मात्र थिए ।

पदमार्गमा पर्ने र्याचीमा आराम गर्दै सहकर्मी चद्रकान्त ।

दश बजिसकेको थियो । अर्का दुई जना भरिया आइपुगे । डोकोमा सबै सामान हालेर टिम दुनैबाट फोक्सुन्डोका लागि हिड्यो । दुनैबाट जुफाल जाने बाटोमा पर्ने सुलिगाढस्थित सेनाको श्री ईश्वरी बक्स गुल्म हुँदै उत्तरतर्फको फोक्सुन्डोको बाटो समातियो । यसबीचमा ठूली भेरी नदीभित्र प्लाष्टिकका बोतल, सिसाहरू, थैलालगायतका फोहोर वस्तु प्रसस्त देखिए । सुलिगाढमै अवस्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयमा पुगेर वैशाख १४ गते ‘फोक्सुन्डोको आँगन’मा नेफेजले गर्न लागेको कार्यक्रमको निम्तो पत्र पनि दिइयो । एक÷एक सय रुपैयाँ तिरेर निकुञ्ज प्रवेशको अनुमति पत्र लियौँ । तर, निकुञ्जका वार्डेन प्रमोदकुमार यादवसँग भने भेट भएन । उनी डोल्पा आउने क्रममा नेपालगञ्ज पुग्दै थिए ।

र्याचीमा स्थानिय महिला तानमा कपडा बुन्दै ।

सहकर्मी आलोकले काठमाडौँदेखि नै झोला पाँच किलोभन्दा बढी हुनुहुँदैन भन्दै थिए । यति भन्दा भन्दै ११ किलो भएछ । नेपालगञ्जमा झोलाको खानतलासी गरेर डेढ कलो सामान निकालिदिए । मन चिसो भयो । सुलिगाढबाट जब टोली उकालो लाग्यो, त्यसपछि बल्ल थाहा भो, पाँच किलोको अर्थ । १२ बजेको टन्टलापुर घाममा ९ किलोको झोला बोक्दा कस्तो भयो होला ? सबैभन्दा हलुको झोला आलोककै थियो, त्यही देखेर चन्द्रकान्तले दुनैमा ल्यापटप उनकै झोलामा हाले । बीचबीचमा उनी झस्किन्थे र भन्थे, ‘हत्तेरी यो ल्यापटपले कति गहुँगो भो ।’ चन्द्रकान्त भने आफ्नो भारी घटाउन पाएकोमा भित्रैबाट गदगद थिए, सायद ।

निकुञ्जका कर्मचारीको सुझावअनुसार टोलीले कागनीमा खाना खाने निधो ग¥यो । सुलिगाढबाट कागनी पुग्न टोलीलाई दुई घण्टा लाग्यो । फोक्सुन्डो खोलालाई दायाँबायाँ पार्दै टोली दुई बजे राजु होटलमा पुग्यो र खाना खायो । स्थानीयलाई १ घण्टा लाग्छ यो खण्ड पार गर्न । यसबीचको भौगोलिक बनावट उराठ लाग्दो रहेछ । फोक्सुण्डो खोलाबाहेक मन बुझाउने अरू केही देखिँदैन । चारैतिर ठूलठुला चट्टान र भीर मात्र ।

पाएसम्म लोकल उत्पादन खाने योजना थियो । यात्राभर लोकल भनेकै गेडागुडीको दाल, आलुको तरकारी र भाँगोको चटनीबाहेक (केही अपवादबाहेक) केही पाइएन । बारीमा पुदिना हलक्क हुर्किएको चन्द्रकान्तले देखिहाले, लौ ! पुदिनाको चट्नी पनि बनाउनुहोस् है भने । कौशीला राई (साहुनी) ले जे थियो त्यही ख्वाइन् ।

कागनीमा स्थानिय परिकार ।

त्यसो त त्यही कागनी हो, जहाँ पदमचालको अचारसहित स्थानीय बारीमा उत्पादन गरिएका साँग, तरकारी र चाङ्ग्राको सुकुटी, चौरीको दुध र दही खाएकोे । सुनिता होटल जहाँ टोली फोक्सुण्डाबाट फर्किदा बसेको थियो । तितेफापर, कोदो, मकै, काउली, भन्टा, करेला, फर्सीको मुन्टा जस्ता स्थानीय उत्पादनहरू यही मात्र देख्न पाइयोे । स्थानीय परिकार खान मनपराउने र आरामले थकान मेटन चाहनेहरूका लागि यो होटल यस क्षेत्रकै नमूना लाग्यो । यहाँ आउने सबैलाई साहू र साहुनी (गोमा र दर्बसिंह कार्की) स्वागत र सत्कारले आकर्षित गर्छन् । टोली माथि जाँदा यहा बस्न नपाएकोमा पछुतायो ।

तीन बजे कागनीबाट छेक्पाका लागि हिड्यिो । स्थानीयका लागि २ घण्टा लाग्ने यो बाटो पार गर्न हाम्रो टोलीलाई ४ घण्टा लाग्यो । त्यसो त जतिजति माथि गयो उति रमणीय दृश्य देखिन थाले । उजाड देखिएका नाङ्गा भिरहरूमा बिस्तारै हरियाली देखिन थाल्यो । सल्लाका बडेमानका रुखहरू भिरमा ठिङ्ग उभिएका छन् । माथि उक्लिँदै जादा वनजङ्गल पनि बाक्लिँदै जान्छ । बुट्यान त्यति देखिँदैन । त्योभन्दा पनि फोक्सुण्डो तालबाट झरना हुँदै बगेको सफा पानी र त्यसको आवाजले फोक्सुन्डोसम्मै पछ्याउँछ त्यहाँ जाने यात्रीलाई । फोक्सुण्डो खोलामा मिसिन आएका ससाना खोला र झरनाह देखेर मन तरंगित हुन्थ्यो । राती सुत्दा पनि कानमा त्यही पानीको आवाज गुन्जिरह्यो । त्यसो त दुनैको ठूली भेरीदेखिनै त्यो आवाजले हामीलाई पछ्याइरहेको थियो ।

फोक्सुन्डो पदमार्गमा पर्ने फोक्सुन्डो खोलामा पर्ने काठको पुल । यो पदमार्गमा यस्ता पुल धेरै भेटिन्छ ।

छेक्पामा बासबस्ने पूर्व निर्धारित योजना थियो । त्यहाँ पुग्दा नपुग्दै झिसमिस भइसकेको थियो । भएका तीनचार वटा होटल सबै भरिएका रहेछन् । जसोतसो झरना होटलमा बास बस्यौँ । खानामा त्यही आलु, गेडागुडीको दाल र भाँगोको अचार । २६६१ मिटर उचाईमा छ, छेक्पा । चौरी, खच्चर, घोडाका गोठहरू छन् । तलबाट खाद्यान्न बोकेर एकदिनमै दुनै, फोक्सुन्डो गर्छन, यी जनावर । यीनका लागि बोलिदिने कोही छैन ।

छेक्पादेखि ३१६० मिटर उचाईमा रहेको बाक्राल सुन्ड्वास्थित सम्झना होटल बीचको कठीन यात्रा ।

११ गते बिहान सात बजे टोली अर्को गन्तव्यका लागि हिड्यो । बिहानै महिलाहरु तानमा कपडाहरू बुन्दै थिए । पत्रकार न परियो यस्ता दृश्यहरूले लोभ्याउँथे । तिनलाई कैद गर्ने भोकले कहिल्यै छोड्दैनथ्यो । यसको परिणाम एउटै आउथ्यो, यात्रा लम्बिन्थ्यो । तर आलोक भन्दै थिए, ‘तपाईहरूले कति तस्बिर खिचेको, मलाई कहिल्यै फोटो खिच्न मन लागेन ।’ उनी एउटै गतिमा हिँडिरहेका हुन्थे । लाग्थ्यो, उनी व्यवसायिक ट्रेकर हुन् । पसिना आउने बित्तिकै टिसर्ट फुकालेर सुकाउँथे । अर्को लगाइहाल्थे । त्यसो त सुत्ने बेलामा कहिले ढाड दुख्छ भनेर ओछ्यानमै योगा गर्थे त कहिले गोलिगाठो स¥यो भन्दै मालिस गर्न भ्याउँथे । यति हुँदा पनि उनका पाइला रोकिँदैनथे ।

छेक्पादेखि ३१६० मिटर उचाईमा रहेको बाक्राल सुन्ड्वास्थित सम्झना होटलसम्मको दुरी निकै कठिन मानिदो रहेछ यो पदयात्रामा । बाटो अत्यधिक लामो, फेरि ढुङगा, गिट्टी र माटो छरिएकाले होला थकान औधी लाग्छ । धेरै स्थानमा भिरबाट ढुङ्गा खस्ने खतरा छ । दायाँ बायाँ र माथि हेरेर हिड्नुपर्ने स्थान छन् । दुःख लाग्दो कुरा, निकञ्ज प्रशासनले पदयात्रा मार्गमा कुनै सूचना, सङ्केतहरू राखेको छैन । कतिपय स्थानमा दोबाटा छन् । यात्रुहरू अलमलिन सक्छन् । नमिलाइएको एकदम कच्ची बाटो र उकालो ओरालोले गर्दा कतिकति बेला किन आइएछ भन्ने लाग्छ ।

यस पदमार्गको सबैभन्दा ठाडो उकालो यहीँ बाट सुरु हन्छ, यो उकालो पार गरेपछि फोक्सुन्डो आउँछ ।

तर यति हुँदाहुदै भिरमा चरिरहेका वन्यजन्तु देख्दा मन प्रफुल्लित हुन्थ्यो । एकपटक त्यस्तै भयो, चन्द्रकान्तले झ्वाट्ट एउटा जनावर भिरमा चरिरहेको देखे । ठम्याउन सकिएन, तीन जनाको कुरा बाझ्यो, कसैले थार, कसैले झारल त कसैले कस्तुरी मृग । यी वन्यजन्तु यस निकुञ्जका पहिचान हुन् । कस्तुरी हुनुपर्छ भन्ने निष्कर्ष निस्कियो । बीचमा सङ्ग्लो फोक्सुन्डो खोला सेतो छालसहित सुस्साइरहेको छ । दुई किनारमा सल्लाको वन छ तर पदयात्रा मार्गतर्फ भने वनजङ्गलहरू मासिएका छन् । खोलापारि भिरबाट आएका हिउँ पहिराका दृश्यहरू कम रोचक थिएनन । धेरै ठाँउका यस्ता पहिरो छिचोल्दै र हेर्दै यात्रा अघि बढिरहेको थियो ।

यत्तिकैमा यात्राको एउटा कठिन मोड आयो । जहाँ फोक्सुन्डो खोलाभित्रै पसेर बाटो तय गर्नुपर्ने भयो । पानीको सतह बढेपछि तटबन्ध गरेर बनाइएको बाटो खोलाभित्र डुबेको रहेछ । जुत्ता खोलेर पाइन्ट माथि सारेर खोला किनारका भिरका चिप्ला चट्टानलाई सहारा बनाउदै, एकले अर्कोको हात समातेर बरफ जस्तो चिसो पानीबाट बाटो काट्यौँ जुन पानीमा १०-१५ सेकेन्ड खुट्टा चोबल्दा चिसोले कठ्याङ्ग्रििछन् ।

ठाडो उकालो बाट दक्षीण तर्फ देखिएका हिमालहरु ।

अप्ठेरो र भिरपाखाका रुखहरू मात्र देख्न सकिन्छ । यात्रामा धेरै संख्यामा झोलुङ्गे पुल र काठमा विभिन्न डिजाइनका पुलहरू देख्न पाइन्छ । हामी जस्ता काठमाडौँ बस्नेहरूका लागि ती पुलमाथिको यात्रा पनि कम रोचक लाग्दैन । यस्तै दृश्यहरू छिचोल्दै र अस्थायी टेन्ट गाँडेर बसेका डोल्पालीहरूले बनाएको कालो कफी खाँदै हामी अर्को गन्तव्य नजिक नजिक आइपुग्यौँ । यत्तिकैमा एउटा अनौठो दृश्य देखियो । दुई बडेमानका खोलाको संगमस्थल । उत्तरबाट आएको फोक्सुन्डो खोलामा सेतो हिउँ जस्तो निश्चत पानी छालसहित बगिररहेको थियो भने पश्चिमबाट आएको खोलामा लेदोयुक्त फोहोर पानी बगिरहेको थियो । दुवै पानी एकअर्कासँग मिसिएको थियो (हेर्नुहोस भिडियो क्लीपमा) । कागमा हिमालहुँदै आउने पश्चिमबाट बग्ने पुग्मो खोलामा हिउँ पहिरो गएपछि माटोसहित लेदो पानी बगेको रहेछ जुन कुरा पुग्मोका स्थानीय आङ्बहादुर लामाले फोक्सुन्डोमा भेट भएपछि बताए ।

त्यही खोलाको दृश्य कैदगर्दागर्दै साँझ परिसकेको थियो । केही मिनेटको पैदल यात्रापछि सम्झना होटल पनि आयो । ‘तीन जना खाना खान आउँदै हुनुहुन्छ । एक जनाको टाउकोमा कपाल छैन भने मनोज चौधरीले’, होटल साहु सेम्दुक रोकायाले भित्र छिर्न नपाउदै भने । चौधरीले आलोकको टाउकोलाई सङ्केत गरेका रहेछन् ।

ठाडो उकालो बाट दक्षीण तर्फ देखिएको गाँउ ।

पानी परियोजनामा राप्ती रिभर वेसिन टिम लिडरका रूपमा कार्यरत चौधरी त्यही दिन बिहान मात्र सम्झना होटलबाट फोक्सुन्डोतर्फ लागेका रहेछन् । बिहानको खाना खान तीन जना आउँदैछन् भनेर होटलमा खबर छोडेका रहेछन् । हामी साँझ मात्र पुग्यौं । आङ्बहादुर र मनोज यात्राका क्रममा बीचमै मिसिन आएका सहकर्मी हुन् । झुसे दारी पालेका मनोज दाङ्गका चौधरी हुन् तर उनको हिडाई कुनै शेर्पाको भन्दा कम थिएन जुन कुरा फोक्सुन्डो घुमेर फर्किदा पुष्टि भयो ।

१२ गते बिहान ९ बजे टोली प्रमुख गन्तव्यका लागि अघि बढ्यो । करिब ३० मिनेटको तेर्से हिडाइपछि ठाडो उकालो सुरु भयो । वरिपरिका पहाडहरू हिउँले सेताम्मे थिए । सास रोकिने त होइन भन्ने चिन्ता त्यत्तिकै थियो । हेर्दा त्यहीँ त होला भन्ने लाग्छ । तर पहाडभित्र अर्को पहाड लुकेर बसेको हुँदो रहेछ । झण्डै ९० प्रतिशत भिर पार गरेपछि लुकेर बसेको फोक्सुन्डो झरना देखियो । फोक्सुन्डो तालको एक मात्र आउटलेटबाट आएको निश्चल सफा सेतो पानी खोलामा खस्दा बडेमानको झरना बनेको छ । यसको अवलोकन गर्न माथि काठको गोलो टावर बनाइएको छ । जुत्ता र टिसर्ट खोलेर पल्याँटी मारेर ढुङ्गामा बस्दै झरनाको आनन्द लिइयो । टावरका छानाका फल्याक, खाँबाहरूमा त्यहाँ पुग्नेहरूले आआफ्ना नाम र सही धस्काउँदा रहेछन् । ती नामहरू पढ्दा पनि रमाइलो लाग्ने । को को व्यक्ति फोक्सुन्डो आए भन्ने जानकारी पनि त्यसबाट थाहा हुँदोरहेछ । नेफेज टीमका सदस्यले पनि आआफ्नो नाम कोरे । संस्थाको नाम र मिति पनि लेखे । त्यहाँबाट फेरि उकालो लागियो ।

फोक्सुन्डो तालको आँगनमा पर्ने रिग्मो गाउँ ।

एउटा भिर जसोतसो पार ग¥यो, अर्को भिर हाइहाल्ने । बाटोमा खच्चर, चौरी, याक, घोडा दगुरिरहेका, आफू भित्तोमा च्यापिएर ती जनावरलाई भिर वा खोलातिर बाटो छोड्दिनुपर्ने । कतिपय स्थानमा साइड दिने ठाँउनै नहुने । ठाँउ हेरेर टाढैबाट भित्तोमा नच्पापिए आफैँ भिरबाट खसिन्छ भन्ने डर । एरिक भ्यालीले बनाएको वृत्तचित्र क्याराभानका नायक थिन्लेको यही पदयात्रा दूर्घटनामा परेर निधन भएको थियो । घोडामा सवार उनी सामान बोकेका चौरीलाई साइड दिदा छेक्पाभन्दा अलि माथि स्याङटाको आसपासमा घोडासहित फोक्सुन्डो खोलामा खसेका थिए । घोडा घटनास्थलमै मरेको थियो भने थिन्लेको उपचारका क्रममा छेक्पामा निधन भएको थियो । यस्तो अप्ठेरो सबैभन्दा बढी फोक्सुन्डो तालको पश्चिम उत्तर किनारमा बढी छ जहाँबाट एरिकले चौरीको डमी बनाएर फोक्सुन्डोमा खसालेका थिए ।

फोक्सुन्डो झरना ।

जसोतसो फोक्सुन्डो पुग्नु अघिको सबैभन्दा ठूलो भिर पार ग¥यौँ । तेर्सो ओरालो छिचोल्दै रिग्मा गाँउ आउँछ । तस्वीरहरू लिँदै, विश्राम गर्दै यो उकालो पार गर्न टोलीलाई ५ घण्टा लाग्यो । त्यसको उत्तरतर्फ शान्त निलो बडेमानको ताल देखियो । मन आनन्दित भयो कतिबेला त्यसको किनारमा पुगौँ भन्ने लाग्यो । शे–फोक्सुन्डो गाँउपालिका वार्ड न ८ का वडाध्यक्षको होटलमा टोली पुग्यो । तीन जना लखतरान भएर ओछ्यानमा पल्टिरहेका थियौं । मनोज र आङ्बहादुर कोठामै आइपुगे । आङसँगको परिचय र मनोजसँगको भलाकुसारी सुरु भयो । ‘यहाँ आएर पनि सुत्ने ? जाऊँ फोक्सुन्डो हेर्न’, उनीहरूले प्रस्ताव गरे । घडीमा दिउँसोको २ बजिसकेको थियो । बिहानको खाना खाइएकै थिएन । सबैले एकै स्वरमा भन्याँै, ‘खाना खाएपछि निस्कौँला ।’ हुन्छ भन्दै उनीहरू कोठाबाट बाहिरिए । खाना त भयो ।

रिग्मोमा चौरी चराएर फर्कदै गरेका स्थानीय महिला ।

चन्द्रकान्त थकाई मार्न कोठातिर लागे । आलोक र पंक्तिकार मनोजको टिमलाई पछ्याउँदै फोक्सुन्डो किनारतर्फ लाग्यो । मनोजहरू आफ्नो नियमित डिउटी सकेर फर्किँदै थिए । फोक्सुन्डो छेउमा के पुगेका थियौँ । आलोकले लामो सास फेर्दै भने, ‘वाह ! यस्तो पो ताल, होइन त सर ?’ दुईवटै हात दुईतर्फ तन्काएर आकासमा हेरे । किनारमा गएर पल्याँटी मारेर बसे । यत्तिकैमा मनोज आइपुगे र भने, ‘ल हिड्नुस् म तपाईहरूलाई फोक्सुन्डो चारैतीरबाट देखाउँछु ।’ ३६३५ मिटर उचाईमा रहेका तालको अवलोकन गर्न चारै जना यसको पूर्वी सिमाबाट हिड्दै गयौँ । मनोज र आङले यसको बखान गर्न थाले । फोटोका पारखी मनोजले ‘लौ सर, तपाईको मोबाइलबाट फोटो जाओस् त । उनी ताल किनारको बुट्यानमा चढ्न पनि भ्याए । फरक पोजमा तस्बिर खिचाउन थाले ।’ आलोक भन्दै थिए, ‘मलाई तस्बिर लिन पटक्कै मन पर्दैन । तर तपाईहख्ले खिचेको देखेर रहर लाग्यो । लौ मेरो पनि तस्बिर खिच्दिनु प¥यो ।’ तस्बिर खिचेपछि उनी छेउमै पल्याँटी मारेर शान्त मुद्रामा बसे ।

यता थासुङ् गुम्बाका उपप्रमुख लोटाईले कालो कफीको प्रस्ताव गरे । त्यसको चुस्कीसँगै फोक्सुन्डोको मनोरम दृश्य अवलोकन गरियो, यसको भूत, वर्तमान र भविष्यबारे चर्चा गरियो । उता चन्द्रकान्त भने कोठामा मस्त सुतिरहेका थिए।

तालको उत्तर तर्फको दृष्य ।

१३ गते बिहान तालको पुरै भाग हेर्ने योजना बन्यो । यसका लागि झण्डै ५ घण्टाको समय लाग्ने अनुमान भयो । झण्डै ४ सय मिटर उक्लिनु पर्ने रहेछ । बिहानै उठेर फोक्सुन्डो तालको रोमाञचक तर जोखिम मोल्दै टोली ४०६० मिटर छिचोलेर तालको उत्तर सिमासम्म पुग्यो । अंग्रेजी अक्षर ‘वाई’ आकारमा ताललाई पूर्वतर्फको एउटा कुनाबाहेक अन्य सबैतीरबाट नियाल्यौँ । फोक्सुन्डोलाई चारैतीरबाट नियालेर फर्किदा दिउँसोको तीन बजेको थियो । होटल अघि बिदा हुदै मनोजले सबैलाई भने, ‘अब याक्पो फोक्सुन्डो भन्नुपर्छ ।’ मतलब, आहा….फोक्सुन्डो ।

(यो टोली फोक्सुन्डोबाट सडकबाटो हुँदै कसरी नेपालगञ्ज आइपुग्यो । यसको बेलिबिस्तार अर्को भागमा हाकाहाकी अनलाइन हेर्न नभुल्नुहोला ।)

Facebook Comments