विज्ञहरू भन्छन्-निजगढ विमानस्थलको ईआईए नै त्रुटिपूर्ण

काठमाडौँ – प्रस्तावित निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) रिपोर्ट त्रुटिपूर्ण रहेकोले त्यसलाई सच्याएर मात्र अगाडी बढ्नुपर्ने सरोकारवालाहरूको निष्कर्ष रहेको छ।

आइतबार काठमाडौँमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल वन सरोकार समितिले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा वन तथा वातावरण क्षेत्रका विज्ञले निजगढ विमानस्थल निर्माण गर्नको लागी सरकारले तयार पारेको प्रतिवेदनमा धेरै नै त्रुटि भएकाले यस विषयमा कानुनी परामर्श गर्ने समेत बताएका छन्।

यस विषयमा छलफल गरेर निचोड निकाली निजगढ विमानस्थलले वातावरणमा पार्ने असरलाई रोक्ने विषयमा विकल्प सुझाउने समेत दावी गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्टमा विमानस्थलको तथ्यांक हुनुपर्नेमा जलविद्युतको तथ्यांक भएको, विमानस्थल बनाउँदा वातावरणमा पार्ने असरबारे उल्लेख नभएको र स्थानीय तहको जग्गा, बस्ती तथा अतिक्रमणलाई व्यवस्थित कसरी गर्ने भन्ने बारेमा स्पष्ट उल्लेख नभएको वन तथा प्राकृतिक स्रोत विज्ञ सुरज श्रेष्ठले बताए।

उक्त तथ्याकंमा जंगल फडानी गरेर विमानस्थल बनाइ अर्को ठाउँमा वृक्षरोपण गर्ने उल्लेख गरिएकोले त्यस प्रति आफू असन्तुष्ट रहेको श्रेष्ठको भनाइ छ। ‘वृक्षरोपण गर्ने खर्चले आवादीको जग्गा किनेर विमानस्थल बनाउन सकिन्छ,’ उनले भने, ‘वन विनाश गर्ने हो भने जिल्लाको ५० प्रतिशत जंगल मासिन्छ जसले प्राकृतिक प्रकोप निम्त्याउन सहयोग गर्ने छ। तर, हामी चाहन्छौँ विमानस्थल आर्थिक, सामाजिक र वातावरणीय रूपमा उत्कृष्ट भई चाँडै नै बनोस।’

निजगढ विमानस्थल बनिरहँदा त्यहाँका स्थानीयलाई अहिलेसम्म कसैले पनि यस विषयमा जानकारी नगराएको र सरकारी निकायबाट पनि चासो नहुँदा अनौपचारिक समितिको गठन गरेर अगाडी बढ्ने उद्देश्य रहेको विज्ञ श्रेष्ठले बताएका छन्। राजनीतिक तथा विभिन्न सघंसंस्थाहरूबाट टाढै रहेर आफै रकम संकलन गरी वातावरण संरक्षणको लागी समिति अगाडि बढ्न लागेको उनले बताए।

‘वातावरणबाट आउने प्रकोप हामीले हातले रोक्न सकिँदैन त्यसैले सचेत भएर अगाडी बढ्नु पर्छ भनेर सरकारी निकायसँग अपिल गरेका थियौ तर, केही प्रतिक्रिया आएन,’ समितिले गुनासो पोखेको छ।

वन तथा वातावरणसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरूले १ सय ४१ जनाको हस्ताक्षरित अपिल प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयमा बुझाएको थियो।

वातावरणविद् डा. प्रभु बुढाथोकीले पनि विमानस्थल बनाउँदा वनजंगल मासिने भएकोले उक्त क्षेत्रमा बाढीको उच्च जोखिम रहने बताएका छन्। ‘एयरपोर्ट बनाउने तर, जंगल बचाउने हाम्रो अभियान हो,’ उनले भने, ‘अहिले सरकारले निजगढ विमानस्थल बनाउने काममा केही समयको लागि रोकेको जस्तो छ, यो हाम्रो लागी खुसीको कुरा हो।’

निजगढ विमानस्थल बनाउने कुरा आएसँगै वातावरण तथा वनलाई प्रत्यक्ष रूपमा असर पार्ने भएकोले सम्पूर्ण सरोकारवाला निकायबाट असन्तुष्टि देखिएको छ। वन विनाश रोकेर वैकल्पिक बाटोबाट एयरपोर्ट बनाउने अभियानमा लागेको वन तथा वातावरणसँग सरोकारवालाहरूले बताएका छन्।

वनजँगल विनाशको कारण वर्षा, बाढी, खानेपानी, वन्यजन्तु र जैविक विविधता तथा चुरे, भाँवर, तराई मधेस संरक्षणमा असर पर्ने वन तथा वातावरण विज्ञहरूले बताएका छन्।

बारा जिल्लाको चारकोशे जङ्गल अर्थात् उष्ण सालको प्राकृतिक वन ७ हजार ९ सय ६९ दशमलव ३८ हेक्टर मासेर बुद्धिमानी नहुने समितिको तर्क रहेको छ। उक्त विमानस्थल निर्माण भएसँगै ८ सय ६८ वर्ग किलोमिटरमा फैलिएको नदीहरूको जलाधार क्षेत्र, वन क्षेत्रको दक्षिणको आवादीमा ३९ सय विघाहा कृषि क्षेत्रमा भएको सिँचाइमा प्रत्यक्ष प्रभाव पार्ने निश्चित रहेको समितिले बताएको छ।

त्यसैगरि उक्त जगंलमा ५ सय प्रजातिका चरा चुरुङ्ीहरु, २३ वटा लोपोन्मुख रुख बिरुवा, १५ फिट गोलाई भएको ४ सय वर्ष पुरानो भीम सखुवा (साल), २२ जातका लोपोन्मुख वन्यजन्तुको वासस्थानको बिचल्ली हुनेमा समितिले चिन्ता व्यक्त गरेको छ।

उक्त वनमा सो क्षेत्रका ३ लाख ग्रामीण जनताहरू काठ, दाउरा, घाँसपात, जडीबुटी र अन्य वन पैदावारमा आश्रित हुने त्यस भेगका बासिन्दा वन नोक्सान भएपछि उनीहरू चुरे क्षेत्र तर्फ जाँदै गर्दा दक्षिण क्षेत्रको कृषि भूमि मरुभूमि हुने समितिले जनाएको छ ।

समितिले स्थलगत निरीक्षण गर्ने र संरक्षणको लागी पहल गर्ने भनेर कोष निर्माण गरेर अगाडी बढेको जानकारी दिएको छ ।

Facebook Comments