तराइ झरेकी अप्सरा

प्रकृतिकी अप्सराको उपमा पाएकी राराले छिनछिनमा आफ्नो स्वरुप बदलेर प्रकृतिप्रेमीलाई अल्लादित पार्छिन् । बसन्तले यस्ती परीमाथि स्पर्श गर्दा यिनमा देखिएको आकर्षणलाई आँखैले कैद गर्ने धोको साँचेर राखेको पनि धेरै वर्ष भयो ।

एकजना दाजु छन् कपिल न्यौपाने जुन जिल्ला जाँदा पनि त्यहाँको माटो टिपेर फर्कन्छन् भन्दै थिए,७४ जिल्लाको माटो भेला पारिसकें । तालिममा पोख्त यी दाजुसँग धेरै लामै यात्रा गरिसकें । मनाङमा उनीसँगको रोचक यात्रा छ त्यो अर्को बसाइमा पस्कुँला । तर मेरो रुचि माटो भन्दा अनुभूति जम्मा पार्ने हो । उनको हिसाबमा म अलि कच्चै छु । ५५ जिल्ला जति टेकियो कि ।

नयाँ वर्षमा केही दिन घरायसी विदा मनाउन नारायणघाटमा थिएँ । नेपाल वातावरण पत्रकार समूहका साथीहरुले एकैपटक तीनवटा कार्यक्रमहरु कर्णाली भेगमा आयोजना गदैछन् । यो टिमले आयोजना गर्ने कार्यक्रमलाई टेवा दिन हामी बेला बेला जान्छौं, पदीय दायित्वले पनि सहकर्मीहरुको मनोबल बढाउनु र स्थानीय मुद्धा पहिल्याउनु हाम्रो कर्तव्य हो । स्थानीय समस्यालाई काठमाडौंसम्म ल्याउन सके पत्रकारिताको सार्थकता रहन्छ । यही सेरोफेरोमा जुरेको मेरो मुगुको मेलो ।

लजिष्टिकको जिम्मा नेपालगञ्ज कार्यालयका लेखा अधिकृत एकराज भट्टले मिलाएका थिए । करिब २ साता अघिनै यात्राको कार्यतालिका निश्चित थियो । बैशाख ३ गते सबेरै नारायणघाटबाट नेपालगञ्जतिर हानिएँ । दिमागभरी राराको सुन्दरता र गमगढीमा हुने कार्यक्रमको कल्पना थियो । कर्णाली बेसिनबारेमा अध्ययन गरेर तयार भइसकेको थिएँ ।

बैशाखको बेला नेपालगञ्जमा काठमाडौं कै सरह मौसम थियो । प्राविधिक निर्देशक चन्द्रकान्त पन्डितको भनाइमा नेपालगञ्जले चिसो खन्याएर मलाई स्वागत गरेको रे । मेरो लागि चाहि यो कुरा अलि अपच । जे भएपनि भोलिको यात्राको कौतुहल थियो । हुम्ला र लुक्लाको उडानले धेरै नै त्रसित बबुरोलाई मुगुको उडानप्रति आकर्षण थिएन । मुगुतिर प्रस्थान गरेकी समूह सहकर्मी अमृता केसीको फोन लागिरहेको छैन । सायद उनीसहितको टिम मोबाइल नेटवर्क पर नै छ ।

बैशाख ४ बिहानै । होटलको भ्mयालबाट चिहाएको बाहिर त बेजोडले हावाहुरी चलेको छ । एकैछिनमा एकराजीले फोन आयो । ”आज उडान हुँदैन सर” । साढे ८ बजे नेपालगञ्जबाट उडान गर्ने योजना तुहियो । प्रकृतिको लिला । मुगुमा पानी परिरहेको छ, मौसम खुलेमा एयरलाइन्सले खबर गर्नेछ । नेपालगञ्जमा पनि फाटफुट पानी पर्दैछ ।

नेपालगञ्ज कार्यालयमा आज के गर्ने भन्ने बारेमा छलफल भयो ।कार्यक्रमहरुको केही समीक्षा पनि । आज पानी कार्यक्रमको एंकरिङको तयारी छ त्यो पनि कर्णालीमै गएर । सँगै जाउँ भन्ने भो । हामी कर्णालीको भंगालोतिर लाग्यौ । जति पश्चिततिर लाग्यो मौसम खुल्दै गयो । मनभित्र आज उता जान नपाएको हुटहुटी ।

हाम्रो टेलिभिजन कार्यक्रममा समूहले आयोजना गरेको कर्णाली नदीजन्य प्रकोप व्यवस्थापनको सामग्री बज्ने थियो । टिभी एंकरहरु ज्योतिबुढा र सदीक्षा शाह परम्परागत भेषभूषामा सजिएका। क्यामरा सहकर्मी मोहन केसी नदी किनारामा क्यामराको सेटिङ मिलाउँदैछन् । निर्देशक पन्डित चाहिँ स्कीप्टमा धुलमिल गराउन लागेका छन् । म रमिते क्यामरा बोकेर फोटो उतार्दै ।

टिभी एंकरहरु ज्योतिबुढा र सदीक्षा शाह परम्परागत भेषभूषामा ।

आज सदीक्षा र ज्योतिले धेरै टेक खाए । सायद मैले केही भन्छ कि भन्ने लाग्यो कि । अब म आफै सतर्क हुनपर्छ । गुरुजीलाई लिएर म अलि टाढातिर लागेँ ।

गेरुवा पुल संभवत नेपालकै लामो पुल हो । यो पुलमा साँझ झमक्क पर्दा पनि मेरो फोटोग्राफी जारी रह्यो । सटर स्पीड र एपार्चर फरक फरक गरी क्रियटिभ फोटोग्राफीको अभ्यास गर्न थालें । यौटा फोटो त रारा तालकै जस्तो आएछ । साथीहरुलाई देखाएको जिस्क्याउन थाले । सरको रारा त यतै पो भेटियो । मैले पनि यतै रारा भेटे अब जान्न भन्दिएँ । जान पाए पो जानु नि । फोटोमा त भेटिई अप्सरा । तराई झरेकी अप्सरा ।

रात नै पर्यो । पारीपट्टि रेष्टुरामा माछा खाने कि । तर कर्णालीको माछा जस्तो लागेन । मलेखुमा बेचिने माछा जस्तै । फर्कदा बाटामा साथीहरुले बर्दियाको लेगपीसको चर्चा गरे । लौन त जाउँ मैले पनि उत्साह भरेँ ।

हाम्रो साधन पोखरेल लेग पिस अगाडि राकियो । तर आज लेग पिस छैन । अर्को ट्राइ गर्नुपर्छ । हामी हान्नियौं पुरी लेगपिसमा । त्यहाँचाहि रहेछ । कटेज प्रकारको एउटा कोठामा हामी बस्यौं । केटाहरु लेग पिस लिएर हाजिर भए । एउटा अकवरी खुसार्नी सिध्याउने मलाई लेग पिसको पिरोले अत्यायो । पेटभित्र सम्म पुगेको थाहा हुने ।

उता कोठाको ढोकाछेउ वेटरहरु पालैपालो २ मिनेटको फरकमा देखा पर्छन् । सर अरु के ल्याउँ ?दुई मिनेटपछि अर्को आउँछ, सर अरु के ल्याउँ । एक बोत्तल पानी ल्याउ । पानी लिएर आएपछि पनि फेरी उही शब्द, सर अरु के ल्याउँ ।वेटरको यो एकनासे पारा बुझिहाल्यौं । उ हामीलाई रक्सी खान प्रेरित गर्दै थियो । रेष्टुराँका अरु कोठामा रक्सीका बोत्तल बजेका आवाज हाम्रो कानमा आएकै छ ।

सायद हाम्रो समाज मदिरामा धेरै नै अभ्यस्त छ । पारी रुपेडिया जाँदा रक्सीका दोकान नै भेटिदैनन् । त्यहाँ प्रतिबन्धित छ । तर हाम्रो देश छिर्दा लस्करै भट्टी पसलहरुमा सजाइएका कैयौथरी मदिराले हाम्रो सभ्यता बताउँदैछ । नेपालको रक्सी पर्यटन बढेको साथीहरुले सुनाउँदैछन् । धेरै दिदीबहिनी घरेलु हिंसाको मारमा पनि परेका छन् ।

गुलरिया हुँदै नेपालगञ्ज फर्कदा अचानक सहनै नसकिने गन्ध नाकमा ठोकियो । के गन्हायो ? साथीहरुले प्रश्न खस्न नपाउँदै उत्तर दिए । यो कर्णाली डिस्टीलरी । अनि यत्रो कम्पनीले वरपरको वातावरण्मा यस्तो दुर्गन्ध फैलाउन पाउँछ त ? स्थानीयको विरोध छैन ? हामीले यो बारेमा कार्यक्रम बनाएनौं ? मेरा प्रश्नको वर्षालाई साथीहरुले हाँसी हाँसी खुइल्याइदिए । यहाँका धेरै स्थानीयलाई यो कम्पनीले पैसा बाँडेर राखेको छ कसैले चुँ नै गर्दैन हामी मात्रै किन कराउने ? यहाँ आएर यस्ता विषय उठाए ज्यानकै खतरा हुनसक्छ । मैले बुझें यो दुर्गन्धको मर्म । सेल्फ सेन्सरसीपको अभ्यास ।

बैशाख ५ सबेरै एकराजजीको फोन आयो । तुरुन्तै एयरपोर्ट आउनुपर्ने भो । उनीतैनाथ थिए, मलाई उडाउने मिसनमा । हतारहतार होटल चेकआउट गरी बाहिर निस्केँ । फाट्टफुट्ट विजुली रिक्सा चलेका । त्यसैमा जाने भएँ । दुई सयमा एयरपोर्ट । हत्तपत्त एक्सरेमा सामान चेक गराएर एकराजजी भएतिर लम्केँ । समीट एयरमा रहेछ उड्ने । समीटका एक दारी पालेका स्टाफले एकराजजीलाई हेरे अनि मतिर पुलुक्क हेरे । कुनै शब्द ननिकाली उनी सरासर काउन्टरको भित्रपट्टिको कोठामा गए । धेरै बेर एयरलाइन्स स्टाफहरुको कुराकानी चल्यो ।

मैले एकराजजीलाई इशारा गरें, मेरो उडान के हुन्छ ? उनी पनि बेखबर थिए । उनी भित्रैको कोठामा पसेर कानमै सोधे । आज जहाजले दुई खेप गर्छ । हिजो फसेका यात्रीलाई भर्खर उडाउँदैछौं । फर्केपछि दोस्रो उडान हुन्छ त्यसैमा तपाइँको पालो । दुईचार घन्टा फरक भएर के भो ? हामी दुइभाई टहल्न थाल्यौं । मेरो मनमा अघिदेखि ती कर्मचारीको हेराई र उनीहरुको गुनगुनले चिसो पसेकै हो । एकराजजीलाई सोधे, दोस्रो उडानका अरु यात्रुहरुखै त ?मलाई त शंका लाग्यो है । सर नआतिनुस हुन्छ उनी ढाडस देखाउँदै थिए । करिब एक घन्टापछि एयरलाइन्सका कर्मचारी आएर भने सरी आज उडान हुँदैन ।

अघिको मेरो शंका अब सत्य भयो । त्यतिमात्र कहाँ उनले अब हाम्रो एयरलाइन्सले भोलिबाट उडान गर्दैन पैसा फिर्ता लिनुस भनेर खनखनी गनिदिए । उफ । अब के गर्ने ? भोलिदेखि यो एयरलाइन्सले लुक्लातिर कुहिरे बोक्ने रे । हिजो मात्र यसको अर्को जहाज हेलिकोप्टरसँग ठोक्कियो । लुक्लाको जुधाई नेपालगञ्जको पीडा ।

अब भोलिको अन्तिम प्रयास गर्नुपर्ने भो । ती कर्मचारीलाई बिन्ती गरियो तारा एयरमा मिलाइदिनुस न त । हाम्रो यो बिन्तीभावलाई उनले स्वीकार गरे । म कोशिश गर्छु । तर केहीबेरमै जवाफ आयो । सरी सकिएन । अब हाम्रो विकल्प सिधै तारा एयरमा नै कुरा गर्ने रह्यो । त्यसो त तारामा टिकट नपाएकै कारण एकराजजीले समीटको विकल्प रोजेका हुन । कर्णालीको लवजमा बोल्ने पातला एकजना ताराका कर्मचारीतिर हाम्रो नजर पर्यो । एकराजजीले चिनेका । उनैले ताराको टिकट नभएकोले समीटको बाटो देखाएका रहेछन् । घाँटीमा परिचयपत्र भिरेका यी युवा निकै नै अड्कलेर मात्रै बोल्ने । मलाइ मालपोत कार्यालयका सुब्बाजस्तै लाग्यो । गमेर मात्रै बोल्ने । उनीबाट भोलिको उडानका लागि सहयोग हुने कुनै गुञ्जायस मिलेन । दुइभाइको बिहान खेर गयो ।

फर्किदा पार्किङ लटमा पुराना सहकर्मी निरञ्जन राजवंशी भेटिए । चल्तापुर्जा खेल पत्रकार । आठौं राष्ट्रिय खेलकुदको कभरेजका लागि आएका । राष्ट्रपति आउँदैछिन् आज एयरपोर्टमा हिजोजस्तो छैन । सुरक्षा चहलपहल छ ।

फर्किदा त्यही पातला कर्मचारी एयरपोर्ट बाहिर होटल अगाडि मोवाइलमा कुरा गर्दै उभिरहेका भेटिए । एकराजजीले एकपटक फेरी कुरा गर्छु भने मलाई दिक्क लागिसक्यो । तर ती युवाले स्वचालित ढंगले अर्कोतिर मुन्टो फर्र्र्र्काए । कुरो बुझियो भोलि पनि संभव छैन ।

फेरी होटललाई फोन गरी रुम आज पनि चाहिने जानकारी गराइयो । कस्तो गेष्ट होला । हरदिन बिहान चेकआउट, दिउँसो चेकइन । मेरो मर्का बुझेकि बुझेनन् उनै जानुन् । आफुलाई लाजको पसारो ।

कार्यालयबाट पनि अर्को दिनका लागि लामै प्रयास चल्यो, त्यो अन्तिम दिन थियो किनभने बैशाख ६ को मध्यान्न सम्म नपुगे मेरो भ्रमणको तुक थिएन । सबैतिरका प्रयास निरर्थक । काठमाडौं फर्कने निर्णय गरें । भोलि मध्यान्नको टिकट कन्फर्म भो ।

अब आज के गर्ने ? कुरा चल्यो आठौं राष्ट्रिय खेलकुद उद्घाटन हेर्न जाने कार्यालय समय पछि । बीच बाटामै सहकर्मी ज्याति बुढाको जन्मदिन मनाउने कार्यक्रममा लगे चन्द्रले । एकराज र मोहनले आठौं राष्ट्रिय खेलकुदको दुइटा पास र जर्सी लिएर आइसके । हामी चार जना दुइवटा पासले कसरी छिर्ने ? मेरा सहकर्मी मित्र शुशिल विकलाई सम्झे र फोन लगाएँ । उनी नेपालगञ्जमै छन् । ठीकै छ सर भित्र छिराउँछु नि । हामी ढुक्क ।

सहकर्मी ज्याति बुढाको जन्मदिन मनाउने कार्यक्रम

कार्यक्रमको तयारी राम्रो थियो । अस्थायी प्यारापिटमा धेरै नै खर्च देखियो, निरीह राज्यले यौटा गतिलो रंगशाला बनाउन सकेन । सायद धुर्मुसले बनाउँछन् कि चन्दा उठाएर । अस्ती भर्खर नेकपाका दुई अध्यक्षले लाज पचाएरै उद्घाटन गरे धुर्मुसको चन्दाबाट बन्ने रंगशालाको, यतिका बजेट खर्च हुन सकेको छैन । एउटा रंगशाला बनाइदिए के जान्छ र?

नेपालको झन्डा अनि सात प्रदेशको मार्च पासले आनन्द नै दियो । त्यसो त खेल यस्तो माध्यम हो जसले धेरै मनहरुलाई एकताको सुत्रमा उन्न सक्छ, विभेदलाई कम गर्छ । राष्टिय भावनाको विकास गर्छ ।

मार्चपासमा हिडेका खेलाडीको अनुहार मलीन छ । सायद खेलेरै बाँच्न गाहे होला । उद्घाटन झाँकी सँगै हामी लाग्यौ रुपेडियातिर । सडकमा बदाम सेकको चुक्की लिइयो । हाम्रातिर विरलै पाइने । हिजोको लेगपिसको पिरोलाई आज यसले सान्त्वना दिँदैछ ।

आठौं राष्ट्रिय खेलकुद उद्घाटन

गमगढी र राराको सपना तुहियो । अर्को पटक प्रयास गर्ने नै छु ।

मुगु गएका साथीहरुले धोका खाए । उनीहरुले संस्थाको महासचिव नै आउन लागेको सहभागीका कानमा पुर्याइसकेका रहेछन् । तर अचानक म नपुग्दा सहभागीले झुक्याएको अनुभव गरे । उनीहरुले कसरी बुझुन मेरो पीडा । मैले गेरुवा पुलबाटै राराको दर्शन गरे साँझमा । ती लज्जावती झार झै प्रकृतिमै लुकिन् ।

प्रकृतिले मुस्कान छरेर के गर्नु त्यहाँ धेरै नै विकटताको अनुभूति छ मानिससँग । यात्रामा मैले जस्तै धेरै प्रहरहरु एयरपोर्टमै बिताउने धेरै अनुहारहरु सम्झन्छु । मान्छे हेरेर मालपोतको सुब्बा जस्तै गरी बोल्ने एयरलाइन्सका कर्मचारी सम्झन्छु । अनलाइन टिकटिङ र भरपर्दो उडानको कल्पनामा लुट्पुटिन्छु ।
(रेग्मी नेपाल वातावरण पत्रकार समूहका महासचिव हुन्)

Facebook Comments