जलवायु परिवर्तनको असर, पशुमा बाँझोपन

काठमाडौँ – जलवायु परिवर्तनका कारण पशुमा आनुवांशिक गुणको अभाव देखिन थालेको छ ।

बढ्दो जलवायु परिवर्तनका कारण हाल पशुपंक्षीहरूमा विभिन्न किसिमका प्रभाव तथा असरहरु देखा परेका बेला आनुवांशिक गुण पनि एक हो ।

अत्याधिक तापक्रमका कारण पशुको ‘प्रजनन फिजियोलोजी’मा असर गर्नुका साथै पशुहरूमा बाँझोपन बढ्दै गएको पशु प्रजनन महाशाखाकी प्रमुख डा. निना अमात्य गोरखालीले बताइन् । हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने पशुको प्रजनन क्षमतामा जलवायु परिवर्तनको असर बढि देखिएको उनको भनाई छ ।

तातो घामका कारण ‘प्रजनन फिजियोलोजी’मा असर गर्ने हुँदा पशुपंक्षीमा लैङ्गिक असन्तुलन बढ्दै गएको डा गोरखालीले दाबी गरिन् ।

‘नेपालले हरितगृह ग्याँस कम उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको मारमा पशुपंक्षीहरू बढि जोखिममा छन्,’ उनले भनिन्, ‘घट्दै गएको घाँसका कारण पशुमा देखिएको आनुवांशिक समस्या पनि जलवायु परिवर्तन कै असर हो ।’

जलवायु परिवर्तनका कारण विभिन्न प्रजातिका प्राणीहरूले आफुलाई परिवर्तित जलवायुमा अनुकुलित गर्न नसक्दा लोप हुने सम्भावना बढेको उनी बताउँछिन् ।

वायुमण्डलको तापक्रम बढ्दै गएकाले गर्मी क्षेत्रमा पाइने प्राणी तथा वनस्पतिहरु उच्च तथा जाडो क्षेत्रमा पाइन थालेका र उच्च क्षेत्रमा हुने प्राणी तथा वनस्पतिहरु लोप हुने खतरा बढ्दै गएको हो । ‘सजिलै स्थानान्तरण नहुने प्रजातिहरू, माटोभित्र बस्ने जीवहरू, नउड्ने किराहरूबढी जोखिममा पर्ने देखिन्छ,’ उनले भनिन् ।

अनुकुल वातावरणको खोजिका लागि केही प्रजातिहरू उचाई तिर सर्न कोसिस गर्ने हुनाले नेपालमा जैविक विविधताको स्वरुप छिटो बदलिन सक्ने सम्भावना रहेको उनको तर्क छ । नेपालको जैविक विविधता थोरै क्षेत्रमा फैलिएको र विशेष खालको जलवायुमा पाइने हुनाले जलवायुमा हुने थोरै परिवर्तनले पनि निकै प्रभाव पर्ने गरेको छ ।

चार हजार कि.मी. यात्रा तय गरेर नेपालमा बच्चा कोरल्न आउने साइबेरियाली चराहरूको संख्या कम हुन थालेको छ भने जलवायु परिवर्तनको कारण वनस्पति तथा प्राणीको स्वभावमा समेत परिर्वतन देखिन थालेको छ । ‘जैविक विविधतामा नकारात्मक असर पर्नु भनेको समग्र अर्थतन्त्र र जीविकोपार्जनमा नै असर पार्नु हो,’ उनले भनिन्।

वातावरणीय असरको प्रभावका कारण पृथ्वीको तापक्रम बढ्दै जाँदा चरन क्षेत्र घटेको, हिमाली क्षेत्रमा विषालु घाँस उम्रिएको, पशुहरूमा नयाँनयाँ किसिमका रोग देखिन पनि थालेका छन् । नेपालमा अध्ययन र अनुसन्धानको कमी भएको पनि पशु प्रजननमा जलवायु परिर्वतनको असरलाई प्राथमिकतामा नराखेको उनको आनुभव छ । ‘अध्ययन गर्छु भन्दा पनि सरकारले खासै चासो देखाउँदैन्,’ उनले भनिन् । जलवायु परिवर्तनको कारणले परिवर्तित परिस्थितिम अनुकूलन हुन तथा बढ्दो जोखिम नियन्त्रण गर्नको लागि नेपालमा आर्थिक स्रोतको अभाव रहेको गोरखाली बताउँछिन् ।

जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा पर्दै आएको भए तापनि यसबाट पर्ने प्रभाव र सिर्जना हुन जाने जोखिमका बारेमा खासगरी प्रभावित समुदायका मानिसहरुमा जनचेतनाको कमी रहेको उनको बुझाई छ ।

Facebook Comments