ठूलीगाढमा विनाशकारी ढंगले माछा मार्ने क्रम बढ्दो

खिमडी (कैलाली) – कैलाली र डोटी जिल्लामा पर्ने ठूलीगाढ जलाधार क्षेत्रमा परम्परागत माछा मार्ने कार्य हराउँदै गएको छ । अहिले विनाशकारी विधिबाट माछा मार्नेहरूको लर्को लाग्ने गरेको छ ।

कैलाली जिल्लाको चुरे गाउँपालिकादेखि मोहन्याल गाउँपालिका र डोटी जिल्लाको जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिका हुँदै कर्णालीमा मिसिने ठूलीगाढमा विनाशकारी तरिकाले माछा मार्न थालेपछि विगतको तुलनामा अहिले माछाको संख्या, आकार र प्रजातिमा ह्रास आएको छ । कूल जलनिकास घनत्व ९३५ मि रक्युविक किमी र कूल क्षेत्रफल ८५० क्युविक किमी भएको ठूलीगाढमा वैशाख, जेठ र असार महिनामा बालकदेखि वृद्धसम्म भेटिन्छन् ।

पानीमा विषादी हाल्ने, ब्याट्रि जोडर करेन्ट लगाउने, जङ्गली जडिबुटीको विषादी बनाई प्रयोग गर्ने, खोला फर्काएर वा थुनेर माछा मार्ने, स–साना प्वाल भएका जालको प्रयोग गर्ने, तीर चलाउने, ढुङ्गाले थिच्ने जस्ता विनाशकारी विधिबाट माछा मार्ने गरेका छन् ।

परम्परागत रूपमा जाल र बल्छी थापेर माछा मार्ने प्रचलन हराउँदै गएको छ । विनाशकारी तरिकाले माछा मार्ने प्रवृत्ति बढेकाले समस्या देखिएको हो । माछासँग जलचरको कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा नेपाल वातावरण पत्रकार समूह नेफेजले युएसआईडीको सहयोगमा मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडीमा पानी परियोजनाअन्तरगत पानी छलफल सञ्चालन गरेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, माछा मार्ने व्यक्ति, माछा विज्ञ र अग्रजलगायत स्थानीयको उपस्थिति थियो । पानी छलफलमा विनाशकारी तरिकाले माछा मार्ने प्रवृत्ति बढेका कारण माछाको संख्यामा कमी आएको विज्ञले बताए ।

कार्यक्रममा बोल्दै २५ वर्षदेखि माछा मारेरै जीविकोपार्जन गर्दै आएका डोटी बडिकेदार गाउँपालिका वडा नम्बर ३ ब्यूरेनीका कलकबहादुर बोहराले मानिसकै गलक प्रवृत्तिका कारण ठूलीगाढमा १० वर्षअगाडि जस्तो अहिले माछा नभएको बताए । उनले भने, ‘म माछा मार्ने मान्छे हो । रोजगार अरू केही पनि छैन । म जाल हानेर माछा मार्छु । पहिले २० ÷२५ किलोको माछा पाइन्थ्यो, आजकल साना मात्रै पाइन्छन् । ’

विगतभन्दा हाल माछा घट्नुको कारण वनमा आगलागी हुदाँ वर्षामा बाढी र पहिरोले माछाको कुर पुरिदिने, विषादी हाल्ने, करेन्ट लगाउने जस्ता कार्यले गर्दा माछाको संख्या घट्दै गइरहेको उनको भनाई छ । ‘हामीले त्यस्तो नगर भन्दा तैँले मात्रै माछा खाने, हामीले नखाने भन्छन् । माछाका बच्चासमेत मार्दा माछा ठूला हुन पाउँदैनन् । ’ माछा मारेरै जीविकोपार्जन गर्नेहरूका लागि विनाशकारी माछा मार्ने कार्यले दैनिकी असहज बनाएको छ ।

पानी छलफलमा बोल्दै मोहन्याल गाउँपालिका वडा नम्बर ४ की महिला स्वास्थ्य स्वयम्सेवीका निर्मला बस्नेतले माछा घट्दै जानेको अर्को कारण दुवाली थुनेर मार्नु पनि प्रमुख रहेको बताइन् । उनले भनिन्, ‘ठूलीगाडको खोला थुनेर वा अर्कोतिर खोला फर्काएर दुवाली थुन्छन् र जङ्गली जडिबुटीको विषादी हालेर माछा मार्छन् । यसरी मार्दा सानादेखि ठूला सबै माछा मात्रै नभएर पानीमा बस्ने सबै जीव पर्छन् । ’

यस्ता कार्यमा विशेष गरी महिला र बालबालिकाहरू बढी संलग्न हुने गरेका छन् । बालबालिकाहरूले बाँसको तीर बनाए र ढंङ्गाले थिचेरसमेत माछा मार्ने गरेको खिमडीकै स्थानीय ईन्द्रा देवी बोहराले बताइन् । उनले भनिन्, ‘ मेरा साना छोराहरू तीर हानेर माछा मार्छन् । पहिले सहर, भ्याकुर भन्ने ठूला माछा पाइन्थ्यो तर अहिले त मसिना माछा मात्रै पाईन्छन् । ’

अहिले विद्यालय बिहान लाग्ने गरेको छ । विद्यालय छुट्टी हुनासाथ माछा मार्न बालबालिका खोलामा पुग्छन् । पानीमा विषादी हाल्दा वा करेन्ट लगाई माछा मार्दा माछा मात्रै नभई मानिस र अन्य पशुचौपायलाई समेत असर पर्ने गरेको स्थानीयहरू बताउँछन् । मोहन्याल गाउँपालिका कटौजेकी समौ बुढामगरले ठूलीगाढमा आउँदा चित्त दुख्ने गरेको बताइन् । उनले भनिन्, ‘त्यही ठूलीगाढको पानी हामी गाईवस्तुलाई खुवाउँछौँ, त्यही पानीमा विषादी हाल्छन्, यस्तो नगर भन्ने हामीलाई कुनै आधारै छैन । ’

गाउँपालिका वा वडाले यस्तो गलत काम रोक्न नीति बनाएर कार्यान्वयन गर्न सक्यो भने मात्रैै रोकथाम गर्न सकिने उनको भनाई छ । आदिबासी जनजातीको बाहुल्यता रहेको खिमडीमा नेफेजले त्यहाँका स्थानीयलाई सचेत बनाउने र स्थानीय जनप्रतिनिधिलाई जिम्मेवार बनाउने उद्देश्यले उक्त पानी छलफल सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रममा स्थानीय सामुदायिक वनका कोषाध्यक्ष बमबहादुर बुढामगरले माछाको प्रजजन अवधि चैत, वैशाख, जेठ र असारसम्म माछा मार्ने कार्यलाई रोक्नुपर्ने बताए । उनले विषादी हालेर मार्दा माछा मर्ने र बाँचेका माछाको अण्डासमेत कानो हुने हुँदा विषादी र करेन्टलाई मुख्य रूपमा रोक्नुपर्ने बताए ।

पहिलेका परम्परागत जालभन्दा अहिले बजारमा आएका प्लाष्टिकका जालले माछालाई बढी क्षति पु¥याएको उल्लेख गर्दै जिरोऔँले र करेन्टको प्रयोगमा तत्काल रोक लगाउनुपर्ने कुरामा उनले जोड दिए ।

उक्त कार्यक्रममा भृकुटी मा. वि. का प्रअ चक्रबहादुर रास्कोटीले दुवाली थुनी विषादी हालेर माछा मार्ने गर्दा माछा मात्रै नभई पानीमा बस्ने सबै जीवहरू मर्ने भएकाले सबै मिलेर जलचर संरक्षणमा लाग्नुपर्ने बताए । आफूले पनि विद्यार्थीहरूलाई यसबारेमा जानकारी दिने उल्लेख गरे ।

कार्यक्रममा माछा विशेषज्ञ सुरेश वाग्लेले माछा र जलचर संरक्षणका लागि मानवीय सचेतना आवश्यक रहेको उल्लेख गरे । उनले भने,‘माछाको प्रजनन अवधि भनेको वैशाखदेखि साउनको पहिलो हप्तासम्म हो । तर अपवादमा असला र सहर माछाले वर्षमा २ पटकसम्म प्रजनन गर्दछन् (पहिलो जेठदेखि साउनसम्म र अर्को कात्तिकदेखि मंसिरसम्म) ।’ यो अवधीमा माछा मार्ने कार्यमा रोक लगाउने हो भने माछा संरक्षण गर्न सकिने उनको भनाई छ ।

एउटा १० किलोको सहर माछाले ५ लाखसम्म अन्डा बनाउँछ । त्यसलाई मार्नुभनेको ५ लाख माछा मार्नु हो त्यसैले यस विषयमा नागरिकहरूलाई सु–सूचित गर्ने र प्रजनन स्थलको संरक्षण गर्ने, वा माछा मार्न प्रतिबन्ध लगाउने, प्लाष्टिकको जाल अत्यन्तै घातक हुने भएकाले त्यसको प्रयोग नगर्न नगराउनका लागि सबैले आ–आफ्नो् स्थानबाट भूमिका खेल्नुपर्ने बताए ।

पानी छलफलमा मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले विनाशकारी माछा मार्ने कार्य रोक्नका लागि गाउँपालिकाले जलचर संरक्षण नीति निर्माण गरिरहेको बताए । उनले भने,‘आज भन्दा ४५ वर्षअघिदेखि विषादी प्रयोग गरेर माछा मार्नुहुँदैन भनेर लागी परेको छु । हामीले जलचर संरक्षण नीति बनाइरहेका छौँ । पानी परियोजनालाई नीतिको खाकाका लागि सहयोग गर्न भनेका छौँ । जति सक्यो छिटो नीति बनाई कार्यान्वयन गर्दछौँ । ’

उनले नेपाल वातावरण पत्रकार समूहले यसअघि पनि वडा नम्बर ६ सोल्टामा गरेको पानी छलफलमा गरेका प्रतिबद्धताअनुसार गाउँ सभामा कुनै पनि खोलामा विषादी प्रयोग गर्न हुँदैन भन्ने विषयमा निर्णयसमेत भएको जानकारी दिए । वडा नम्बर ६ बाट विषादी र करेन्ट लगाउने जस्ता कार्यमा रोक लगाउन सुरुवात भएको बताउँदै आगामी दिनमा निर्माणाधीन नीतिलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अघिल्लोपटक सोल्टामा गरिएको प्रतिबद्धताका बारेमा पानी छलफलमा बोल्दै मोहन्याल गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टिकाराम भण्डारीले आफ्नो वडाबाट माछा संरक्षणको काम सुरु गरेको बताए । उनले भने,‘राजी समुदायसँग बसेर माछा मार्ने तरिकाका विषयमा छलफल गर्दा ३ औँलेभन्दा कमको जाल प्रयोग गर्दाे, विषादी प्रयोग गर्दा, बम गोला हान्दा माछाको विनाश हुने भएपछि हाम्रो वडाले चैत्र २२ गते वडास्तरीय बैठक बसेर ३ औँलेभन्दा तलको जाल हान्न नपाइने, विषादी हाल्न नपाइने यदि हालेमा कानुनी कारबाही गरिनेछ भनी निर्णय गरी सूचनासमेत टाँसेका छौँ ।’

त्यस्तै अघिल्लो कात्तिक महिनामा भएको पानी छलफमा आफूले गरेको प्रतिबद्धताअनुसार वार्षिक रूपमा माछा मार्न दिइने ठेक्का यसपटकदेखि रद्ध गरिएको जानकारी दिए । कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष पूजा देवी बुढामगर, वडा नम्बर १ का अध्यक्ष नविन पुन मगर, वडा नम्बर तिनका वडाध्यक्ष नन्दराम गिरी, चारका वडाध्यक्ष टेक बहादुर बोगटी, पाँचका छविलाल हौलाली मगर, वडा नम्बर ७ का वडाध्यक्ष खरप्रसाद अधिकारी, स्थानीयबासी, आमा समूह, महिला स्वास्थ्यस्वयम्सेवीका, पत्रकार, सामुदायिक वन, खानेपानी उपभोक्ता समितिलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा ६ बुँदे प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

प्रतिबद्धताहरू :

१, पानी परियोजनाको सहयोगमा जलच तथा जलीय जैविक विविधता संरक्षण नीति निर्माण गरिनेछ ।

२, विषादी,जङ्गली जडिबुटी र विष्फोटक पदार्थ, करेन्ट प्रयोग गरी माछा मारिनेछैन ।

३, २ औँलेभन्दा साना जालको प्रयोग गर्न दिइनेछैन ।

४, जलचर संरक्षण सम्बन्धी प्रत्येक वडाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

५, माछाको प्रजनन अवधिमा माछा मार्न दिइनेछैन ।

६, आमा समूह, सामुदायिक वन, विद्यालय तथा सरोकारवाला सबैले आ–आफ्ने क्षेत्रबाट विनाशकारी माछा मार्ने कार्यमा रोकथाम गर्ने ।

Facebook Comments