चौडा सडकले मात्र दीर्घकालीन ट्राफिक व्यवस्थापन सम्भव छैन

काठमाडौं । ट्राफिक समस्या समाधानका लागि सडक चौडा बनाउनु भनेको आगो निभाउन मट्टितेल प्रयोग गर्नुजस्तै हो (बोगर्टा, कोलम्बियाका पूर्व मेयर तथा ट्राफिक योजनाकार एनरिके पेनालोजाका) । उनको यो भनाइलाई नेपाली सडक व्यवस्थापनमा दाँज्न सकिन्छ । अहिले उपत्यकमा ट्राफिक जामको समस्या समाधान गर्न सडक फराकिलो बनाइँदैछ । नयाँ र राम्रा सडकले ट्राफिक जाम हुँदैन भन्ने कुरा सबैलाई थाहै छ । तर यसले निजी सवारी साधन किन्न मानिसहरूलाई पक्कै प्रोत्साहन गर्छ । परिणाम स्वरूप सवारी साधानको संख्यामा वृद्धि भई एकदिन सडकको क्षमताभन्दा गाडीको चाप बढी हुने अवस्था श्रृजना हुन्छ र पुनः ट्राफिक जामको समस्या दोहोरिनेछ ।

आशिष गजुरेल

सडकहरू चौडा र नयाँ बनाइएकाले ट्राफिक प्रहरी, यातायात विभाग तथा मन्त्रालयमा खुसीयाली छाएको छ, किनकि ट्राफिक जाम कम भएको छ । अवस्य पनि पहिलेको तुलनामा ट्राफिक जामको समस्या अहिलेको चौडा सडकले राहत दिएको छ । प्रश्नहरू आउछन् के यो अब सधैँभरि यस्तै रूपमा चल्छ त ? के अब कठमाडौँमा ट्राफिक जाम हुँदैन त ? के अब काठमाडौँको ट्राफिक समस्या समाधान दीर्घाकालीन रूपमा भएको हो त ? यी र यस्ता प्रश्नहरूको उत्तर अहिले नै खोज्नुपर्दछ ।

अहिले काठमाडौँमा १२ लाखको हाराहारीमा सवारी साधनहरू गुरिडरहेका छन् । यो संख्या दिनानुदिन बढ्दो छ । सवारी साधनको संख्या नबढ्ने हो भने विद्यामान सडकले दीर्घाकालीन रूपमा ट्राफिक व्यवस्थापन गर्छ । तर यो सम्भव छैन । गाडीको आयातमा रोक लगाउने अवस्था पनि छैन । दिनप्रतिदिन सवारी साधनको संख्या वृद्धि हुने भएकाले ट्राफिक समस्याफेरि आउनेछ ।

आज संसारमा ट्राफिक व्यवस्थापनका लागि सडक निर्माणका साथसाथै सार्वजनिक सवारी साधनको राम्रो विकास र क्षमता वृद्धि नै उपयुक्त माध्यम मानिएको छ । हालसालै काठमाण्डौँका सडकहरू चौडा भएका छन् । यसलाई निकै ठूलो उपलब्धि मान्नुपर्छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा यो सम्भव भएको हो । अब अर्को प्रधानमन्त्री या निकाय चाहियो जसले सार्वजनिक यातायातको विकास र क्षमता वृद्धि गर्ने ठोस कार्यक्रम ल्याउन सकोस् । आज संसारभरि ट्राफिक जाम नियन्त्रण गर्न चौडा सडक र निजी गाडी प्राथमिकतामा परेका देखिन्छन् ।

यद्यपि विकसित देशमा सवारी साधनको राम्रो व्यवस्था हुदाँ त्यहाँको ट्राफिक समस्या हल भएको देखिन्छ । सडक आउजाउको माध्यम हो । मुख्यतः सडकहरू सवारी साधनका लागि विकास भएको देखिन्छ । तर सडक भनेको सवारी साधन, पैदल यात्री, साइकल यात्री, सबैको साझा थलो हो । निजी सवारी साधन हुने व्यक्तिहरू अल्पसङ्ख्यक छन् तर राजनीतिक कार्यशक्ति उनीहरकै हातमा हुन्छ । त्यसैले सडकको विकास गर्दा निजी सवारीलाई प्राथमिकतामा राखेर विकास गर्छन् । उदाहरणका लागि सडक चिल्ला र चौडा बनाइन्छ तर पैदलमार्ग साँघुरा र सडक बनाएपछि मात्र बनाउन सुरु गरिन्छ । सुरक्षाको दृष्टिकोणबाट हेर्दा पनि पहिले पैदल मार्ग बनाउनुपर्छ त्यसपछि मात्र सवारी साधनका लागि सडक ।

उचित यातायातको पूर्वाधारबिना आर्थिक विकास सम्भव छैन । किनभने पूर्वाधार विकासको न्यूनतम आधार हो । तर संरचनाको विकास गर्दा यसबाट हुने अरू प्रभावको पनि राम्रो ख्याल गर्नुपर्छ । ट्राफिक इन्जिनियरिङ्को सामान्य सिद्घान्तअनुसार जब सवारीसाधनका लागि सडक साँघुरा हुन्छन् तब सडकमा थोरै संख्यामा सवारी साधनको उपस्थिति हुन्छ । चौडा सडक भए भने मानिसहरू निजी सवारी लिन उत्प्रेरित हुन्छन् किनभने ट्राफिक जाम कम हुन्छ र आनन्दकासाथ ड्राइभिङ् गर्न पाइन्छ । यसरी गाडीको संख्यामा वृद्धि हुन्छ र फेरि ट्राफिक जाम सुरु हुन्छ । त्यसपछि के फेरि सडक चौडा गर्न सम्भव हुन्छ त ? जमिन भनेको सीमित हुन्छ । चौडा गर्ने कार्य पनि सीमित हुन्छ । त्यसैले व्यवस्थित र वैज्ञानिक ट्राफिक व्यवस्थापन र सडक चौडा गर्ने कार्यसँगै लैजानुपर्छ । यी विषयहरूमा जिम्मेवार निकायले बेलैमा ध्यान दिनुपर्छ । ट्राफिक इन्जिनियरिङ्का दृष्टिबाट हेर्ने हो भने यस्तो नीति विकास गर्नुपर्छ जसले निजी गाडी किन्न निरुत्साहित गरोस् र सार्वजनिक यातायातको विकासमा जोड दियोस् । सडकमा कम सवारी साधन भए भने व्यवस्थापन कार्यमा निकै सहजता आउँछ ।

ट्राफिक व्यवस्थापन यातायातको सहज प्रवाहको लागि गरिने निर्देशन, नियन्त्रण र रेखदेख गर्ने कार्य हो । जसले सडकमा सवारी आउजाउन सरल पार्छ । यसले आउजाउका साथसाथै सडक सुरक्षाको पनि जिम्मेवारी लिन्छ । नेपालजस्तो देश जहाँ २१ औं शताब्दीमा पनि ट्राफिक प्रहरीले हात र सिट्ठीका भरमा ट्राफिक व्यवस्थापन गर्छन् । चौडा सडकले झन ट्राफिक समस्यमाका साथसाथै सडक दुर्घटनामा वृद्धि हुने सम्भावना पनि निम्त्याउछ । त्यसैले यसबारेमा सोच्नु निकै जरुरी छ ।

मोटरसाइकल अर्को सवारी साधन हो, जसको आयातमा हुने वृद्धिले चुनौती निम्त्याएको छ । समाधान गर्न यसको प्रयोगमा प्रतिबन्ध गर्ने हैन तर मोटरसाइकल प्रयोगकर्तालाई सार्वजनिक यातायात प्रयोग गर्न उत्प्रेरित गर्न सक्नुपर्छ । बर्खाको समयमा पानीमा रुझेर, गर्मीको समयमा घाम खपेर र जाडोको समयमा जाडो सहेर मोटर साइकालमा सवारी गर्नुपर्ने बाध्यता हुदाँहुदै पनि विश्वासिलो सार्वजनिक यातायातको सुविधा नहुदाँ उनीहरू मोटरसाइकलमा सवार हुनु पर्ने बाध्यता छ ।

भरपर्दो सार्वजनिक यातायात भयो भने उनीहरू सवारीको माध्यम परिवर्तन गर्छन् । यो संसारकै विकसित देशको उदाहरणले प्रष्ट पारेको छ । त्यसैले ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सडकहरू चौडा गर्ने कार्य र सार्वजनिक यातायातको विकास सँगसगै अगाडि बढाउनुपर्दछ ।

Facebook Comments