मुहान सुक्दा डोटीको बक्रमा पानीको चरम समस्या

घाङल(डोटी) : डोटी जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ मा पानीका मुहान सुक्दै जानथाले पछि समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पानीका मूल सुक्दै जाँदा खानेपानीको समस्या सँगसँगै खेतबारीसमेत बाँझो राख्नुपर्ने अवस्था आएकोमा डोटी बडिकेदार गाउँपालिका वडा नम्बर ३ का स्थानीय चिन्तित छन् ।

खास गरी २०४० सालको भूकम्पपछि पानीका मुहान क्रमशः सुक्न थालेको बडिकेदार गाउँपालिका वडा नम्बर ३ का ७६ वर्षीय फौजबहादुर पौडेलले बताए । उनी भन्छन्,‘ पहिले त हामीलाई पानीको राम्रो व्यवस्था थियो । पिउन, खेतबारीमा सिँचाइ गर्न तर २०४० सालको भूकम्पपछि यस क्षेत्रका पानीका मूलहरू सुक्न थालेका हुन् । अहिले त धेरै मूल सुकिसकेका छन् । पहिले घाङलमा प्रशस्त पानी हुन्थ्यो । धान, गहुँ, मकै सबै चिज फल्थ्यो तर अहिले सबै खेतबारी बाँझै छन् । ’

स्थानीय २०४० सालको भूकम्पपश्चात यस क्षेत्रमा पानीका मूल सुक्न थालेको बताउँछन् । ‘भूकम्पले पानीका मुहान सुक्न सुरु गरेको पक्कै हो ।’ बडिकेदार वडा नम्बर ३ का ६५ वर्षीय चक्रराज न्यौपानेले भने, त्यसँगै वनङ्गल विनाश हुनु, वनमा डडेलो लगाउनु अर्को मुख्य कारण हो । वनजङ्गल मासिएपछि पानीका मुहान पनि सुक्दा रहेछन् भन्ने कुरा अहिले थाहा हुँदैछ ।’ उनले भने, ‘अब पानी जोगाउने हो भने पहिले वनजङ्गल जोगाउनुपर्दछ । ’

पछिल्लो समय पहाडी क्षेत्रमा पानीका मुहानहरू सुक्न थालेपछि खानेपानीको समस्या बढेको छ । पानीका मुहान सुक्दा खोला नाला पनि सुक्दै जान थालेपछि सिँचाई गर्न नपाउँदा स्थानीयका खेतीयोग्य जमिन पनि बाँझै राख्नुपर्ने स्थिति आएको वडा नम्बर ३ बक्रकी हिमा देवि विष्टले बताइन् ।

पानीको मुहान सुक्दै जान थालेपछि सुख्खापन र खानेपानीको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नेपाल वातावरण पत्रकार समूह नेफजले बडिकेदार गाउँपालिका वडा नम्बर ३ मा पानी छलफल सञ्चालन गरेको थियो । पानीको अभावका कारण स्थानीयले सास्ती भोग्न थालेपछि नेफेजले युएसआईडिको सहयोगमा सञ्चालित पानी परियोजना अन्तरगत डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङलमा पानी छलफल सञ्चालन गरेको हो ।

वनजङ्गलमा लाग्ने डडेलोका कारण वन विनाश हुनु, पानीका मुहानको संरक्षण नहुनु, खुला चरिचरणका कारण मुहान भत्कनु, पहिरोको कारण मुहान पुरिनु लगायतका कारणले पानीको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छलफलका सहभागीहरूले बताए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ३ बक्रकी जैसरा ओलीले भनिन्, ‘खेतबारीको कुरा छोड्दिउँ, हामीलाई त पिउन र दिसापिसाबका लागि पनि पानीको अत्यन्तै अभाव छ । पहिले जस्तो वनजङ्गल नभएर हो कि बस्ती बढेर हो । हामीलाई पानीको असाध्यै समस्या छ ।’

यस क्षेत्रमा सबैभन्दा बढी पीडित बक्रबासी रहेको उनले बताइन् । ‘अहिले पनि हामी दुई घण्टा हिडेर पानी लिन जान्छौँ, अगाडि जानेले भर्छन् पछाडि जाने रित्तै फर्कनुपर्छ । खुला दिशामुक्त घोषणाका लागि चर्पी बनायौँ पानी छैन के गर्ने चर्पी बनाएर ?’ उनले प्रति प्रश्न गरिन् ।

गाउँमा पानीको एउटा सानो मूल छ । त्यहाँका झण्डै बाइस घरधुरीले तिर्खा मेटुन्जेल पानी पिउन पाउँदैनन् ।

पानीको क्षेत्रमा गाउँमा लामो समयदेखि काम गरिरहेका क्षेत्रीय खानेपानीका कविराम मगरले पानीका मूल सुक्दै जान थालेपछि पु¥याउन अत्यन्तै कठिन भएको बताए । ‘पानीका लागि विभिन्न स्थानमा झगडा हुन्छ, एउटा गाउँमा भएको मुहान अर्को गाउँमा लैजान नदिने गरेका कारण पनि सबैलाई पानी पु¥याउन सकेका छैनौँ,’ उनले भने ।

पानी छलफलमा अधिकांश स्थानीयहरूले पानीको समस्या भएको तर त्यसका लागि गाउँपालिका वा प्रदेश सरकारले कुनै योजना दिन नसकेको बताए ।

‘पटक पटक हाम्रो गाउँमा खानेपानीका लागि सर्बे भयो,’ वडा नम्बर ३ गैमडाका लालबहादुर कार्कीले भने, ‘तर अहिलेसम्म पनि कुनै योजना आउन सकेको छैन । हामीलाई पानी अभावका कारण ट्वाइलेट जानुभन्दा जङ्गल दौडिन सहज हुन्छ, पाहुनाहरू नआइदिए हुन्थ्यो जस्तो हुन्छ ।’

वनजङ्गल विनाश हुनु पनि मुहान सुक्नुको प्रमुख कारण हो । पछिल्लो समय वनमा आगलागी हुने वा डडेलो लगाउने गलत कार्यका कारण वन विनाश भइरहेको गौडेल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह विकले बताए । उनले भने, ‘वन नभइकन पानी नहुने भएकाले सबैले वन संरक्षण गर्नुपर्ने हो । वनमा आगो लगाइदिँदा स–साना विरुवासमेत जलेर नष्ट हुन्छन् । वन रहेन भने पानी कसरी रहन्छ ? ’

स्थानीयमा चेतना जगाउन सकियो भने वनजङ्गल संरक्षण गर्न सकिन्छ । वनजङ्गल जोगाउन सके पानीका मुहान पनि जोगिने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै वडा नम्बर ३ तल्लो घाङलका हेमन्त आचार्यले आफ्नो टोलमा मूल भए पनि त्यसको संरक्षण नहुँदा सुक्दै जान थालेको बताए । ‘कतै मूल नभएर समस्या छ, हाम्रोमा मूल भए पनि त्यसको संरक्षण छैन् । ’ उनले भने, ‘खुला चरिचरणले गर्दा मूलमै बस्तुभाउ आउँछन्, त्यहीँ कुल्चिन्छन्, त्यहीँ पानी खान्छन् । ’

भएका पानीका मूहानहरू समेत संरक्षण नहुँदा यस क्षेत्रमा पानीको समस्या बढ्दै गएको छ । पानी छलफलमा अधिकांशले वर्षाको समयमा पानी भए पनि चैत, वैशाख, जेठ र असारसम्म निकै समस्या हुने गरेको बताएका थिए ।

बडिकेदार गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष लिलाधर सापकोटाले बक्र सबै भन्दा बढी मारमा परेको स्वीकार गर्दै त्यसका लागि ठूलो बजेट आवश्यक पर्ने बताए । उनले भने,‘यहाँ स्थानीयहरूले भन्नुभएको समस्या साँचो हो । हाम्रो वडामा बढी मारमा परेको गाउँ बक्र नै हो ।’

वडा नम्बर ३ को आधाभन्दा बढी क्षेत्र खानेपानी र सिँचाइको समस्याबाट ग्रसित भएको बताउँदै वडाध्यक्ष सापकोटाले पानीको मुहान संरक्षणका लागि बेला बेला नेपाल वातावरण पत्रकार समूहले जस्तै स्थानीयहरूलाई चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने र रिचार्जका लागि रिचार्ज पोखरीहरू निर्माण गर्न प्रदेश र केन्द्र सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए । आफ्नो कार्याकालमा पानीको समस्या समाधान गर्नका लागि प्रयास गर्ने उल्लेख गर्दै पानीको मुहान संरक्षण गर्ने प्रतिद्धता व्यक्त गरे ।

आफूले घट्टेखोलाको मुहानबाट क्षेत्रीय खानेपानीमार्फत बक्रमा खानेपानी ल्याउने योजना बनाएको उल्लेख गरे ।

वडाध्यक्ष र जनप्रतिनिधिले मात्रै गरेर नहुने भएकाले सबैको सहकार्यमा नियमित रूपमा वृक्षारोपण गर्ने, पानीका मुहान संरक्षण गर्ने र पानीको समस्या भएको स्थानमा पु¥याउन हरदम पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । पानी छलफल अत्यन्त प्रभावकारी कार्यक्रम भएकाले नेपाल वातावरण पत्रकार समूह नेफेजलाई वडाध्यक्ष सापकोटाले धन्यवाद दिँदै यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्न आग्रह गरे ।

कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यचौकी, विद्यालयका शिक्षक, बाल क्लबलगायतको सहभागीता रहेको थियो । पानी छलफलमा जनप्रतिनिधि तथा सरोकारवालाहरू निम्नानुसारका प्रतिबद्धताहरू व्यक्त गरेका छन् ।

प्रतिबद्धताहरू : 

१: पानीको मुहान संरक्षणका लागि मुहान वरिपरि तारबार र वृक्षारोपण गरी पानीका मुहान संरक्षण गरिनेछ ।

२: मुहान नभएका क्षेत्रमा मुहान भएका स्थानबाट पानी पु¥याउन वडाकार्यालयले पहल गरी पानी पु¥याउनेछ ।

३: वडा नम्बर ३ ले वर्षाको पानी सङ्कलन गर्न नयाँ प्रविधि

४: पानीका मुहान संरक्षण र वातावरण संरक्षणका विषयमा चेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

५: पानीका मुहान वरिपरि खुला चरिचरण रोकिनेछ । त्यससँगै सामुदायिक वनहरूमा, डाँडाहरूमा रिचार्ज पोखरी तथा          कृतिम तालहरू बनाइनेछ ।

६: विकास निर्माण गर्दा पानीका श्रोत नभत्किने गरी गरिनेछ ।

७: र उपस्थित सबैले आ–आफ्नो क्षेत्रबाट वन डडेलो नियन्त्रण गर्ने । अपनाउने यसका लागि गाउँपालिका र प्रदेश            सरकारसँग पहल गरिनेछ ।

Facebook Comments