बहसमा सगरमाथाः सङ्ख्या सीमित गर्ने कि व्यवस्थित बनाउने ?

काठमाडौ- सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो आरोहण हुँदा दुई जना आरोही थिए, एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा । सन् २०१९ मा सगरमाथा आरोहणको लागि विभिन्न देशका ३८१ आरोहीले पर्यटन विभागबाट अनुमति लिएका छन् र त्यसमध्ये कतिले आरोहण गरे भन्ने यकिन विवरण तयार भईसकेको छैन् । यसले स्पष्ट देखाउँछ कि आरोहीको सङ्ख्यामा निकै बढोत्तरी भएको छ ।

केही वर्षयताको तथ्याङ्क हेर्ने हो भने सगरमाथा आरोहण गर्नेको सङ्ख्या क्रमश वृद्धि भइरहेको छ । अहिले ३५० देखि ३८० बीचमा आरोहीको सङ्ख्या रहेको देखिन्छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष सगरमाथाले विश्वभर निकै चर्चा पायो । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रमुख समाचार समेत बनाए । यसपछाडि दुई कारण थिए । पहिलो, अघिल्ला वर्षका तुलनामा सगरमाथा आरोहीको मृत्युदर बढी हुनु , दोस्रो, यसपटक साउथ कोलभन्दा माथि लामो ट्राफिक जाम भएको समाचार विश्वभर नै फैलिनु । अन्तराष्ट्रिय सञ्चार माध्यममा यतिबेला नेपालले आरोहीको सङ्ख्या सीमित गर्न नसकेको भनी आलोचना भइरहेको छ ।

तर, सरकार यो मान्न तयार छैन । सगरमाथा आरोहणका क्रममा नौ जना आरोहीको मृत्यु ट्राफिक जामका कारण नभएको पर्यटन विभागले दाबी गरेको छ । विभिन्न वैज्ञानिक कारण, उच्च उचाइ, आरोहीको लापरवाही, शारीरिक कमजोरीलगायतका कारणहरूले गर्दा आरोहीको मृत्यु भएको विभागको ठहर छ । ट्राफिक जामको कारण मृत्यु भएको कुरा हल्ला मात्रै भएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले हाकाहाकीलाई बताए ।

सगरमाथामा आरोहीको सङ्ख्या बढे पनि मृत्युको कारण भने जाम नभएको उनको भनाइ छ । ट्राफिक जामले मर्ने कुरा असम्भव जस्तै रहेकाले हल्लाको पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह पनि गरेका छन् । केही दिन अगाडि सगरमाथामा भएको उक्त मृत्युको खबरले सबैलाई आश्चर्य चकित नै बनायो । यसका साथै हिमालमा ट्राफिक जाम भएकाले उनीहरूको मृत्यु भएको भनी विभिन्न सञ्चार माध्यम र समाजिक सञ्जालले खुब प्रचारप्रसार गरे । झट्ट हेर्दा पत्यार लाग्ने खालका फोटाले गलत सन्देश फैलाइरहेको भन्दै थापाले आक्रोश पोखे । सगरमाथाको गरिमा र उचाइलाई कम गर्नका लागि योजनाबद्ध रूपमा काम भइरहेको र कुनै वैज्ञानिक अनुसन्धानबिना जामको कारणले मृत्यु भएको भनी हल्ला फैलाएको सरकारको दाबी छ । क्याराभानमा भेटिएका तथा पुराना फोटाको प्रयोग गरेर मिडियाहरूले हल्ला फैलाएको थापाले गुनासो गरे । ‘अन्य हिमालहरूमा पनि ४ सयको हाराहारीमा आरोहीले आरोहण गरिरहेका हुन्छन्,’ उनले भने, ‘खोइ अहिलेसम्म ट्राफिक जामकै कारणले मृत्यु भएको थाहा छैन ।’

सकियो यस वर्षको आरोहण
हरेक वर्षको वसन्त ऋतुलाई हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मौसमको रूपमा लिने गरिन्छ । त्यसै अनुसार, यस वर्षको मे १४ मा बाटो बनाउन भनेर ८ जना शेर्पाहरू सगरमाथा शिखरमा पुगेसँगै आरोहण सुरु भएको थियो । यो सिजनको हिमाल आरोहण मे २७ मा सकिएको छ । मे २७ पछि भने हिउँ पग्लने क्रम तिव्र हुने भएकाले आरोहण गर्न निकै कठिन हुन्छ । यस सिजनमा सोलुखुम्बुका कामिरिता शेर्पाले हिमाल आरोहणको आफ्नै रेकर्ड पनि तोडेका छन् । अघिल्लो वर्षसम्म २२ पटक आरोहण गरेका उनले यो सिजनमा २ पटक सगरमाथाको आरोहण गरेर २४ पटक आरोहण गर्ने सफल आरोहीका रूपमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

हिमाल आरोहीको सङ्ख्या
प्रत्येक वर्ष करिब ३ सयको हाराहारीमा सगरमाथा आरोहण गर्ने पर्यटक हुन्छन् । सन् २०१४ मा हिम पहिरोका कारण ३ जनाले मात्र सफल आरोहण गरेका थिए भने सन् २०१५ मा गएको भूकम्पका कारण हिमाल आरोहण सञ्चालन हुन सकेन । यी दुई वर्ष आरोहीको सङ्ख्यामा ह्रास आए तापनि सन् २०१६ पछि भने केही हदसम्म आरोहीको सङ्ख्या बढेको छ । सन् २०१६ मा करिब ३ सय जनाले आरोहण गरेका थिए । सन् २०१७ मा भने आरोहीको सङ्ख्या बढेर ३ सय भन्दा माथि पुग्यो । यी दुई वर्ष हिमाल आरोहणका लागि उत्साहजनक देखिए । पछिल्ला केही वर्षको तुलनामा यो वर्ष सगरमाथा आरोहीको सङ्ख्या अहिलेसम्म कै सबैभन्दा बढी भएको देखिन्छ । विगतका वर्षमा २र३ सय आरोहीले सगरमाथाको आरोहण गर्थे । यसपटक भने करिब ४ सयको नजिक पुगेको थापाले जानकारी दिए । यसपटकको वास्तविक तथ्याङ्क भने टोलिले कार्यालयमा नपठाएकाले तोकेर भन्न गाह्रो परेको उनले बताए ।

मृत्युदर बढेको होइन
पछिल्ला केही वर्षयता सगरमाथा आरोहीको मृत्युदर बढेको भनि चर्को आलोचना भइरहेको छ । सन् २०१४ मा हिम पहिरोका कारण १६ शेर्पा गाइडको मृत्यु भयो । त्यसलगत्तै सन् २०१५ मा गएको भूकम्पका कारण हिम पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सन् २०१४ र २०१५ सगरमाथाको इतिहासमा नै दुःखदायी वर्ष थिए । त्यसैगरी सन् २०१६ र २०१७ मा ५÷५ जनाको मृत्यु भएको थियो भने सन् २०१८ मा ६ जनाको विभिन्न कारणले मृत्यु भयो । सन् २०१९ को मे २७ मा सकिएको यो वर्षको हिमाल आरोहणमा भने ९ जनाको मृत्यु भएको छ । यसरी हरेक वर्ष विभिन्न कारणले बढ्दै गइरहेको हिमाल आरोहीको मृत्युले विभिन्न प्रश्न उठेका छन् । चौतर्पिm रूपमा मृत्युदर बढेको गुनासो आइरहे तापनि आरोहीको सङ्ख्या बढ्दा मृत्यु हुनु स्वभाविक भएको थापाले बताए । ‘हिमाल आरोहण गर्नु आफैँमा जोखिमयुक्त काम हो,’ उनले भने, ‘सुरक्षित तरिका अपनाउन नसक्दा मृत्युदर पनि कुनै बेला बढी देखिन्छ ।’

आरोहण सुरक्षा
पछिल्लो समयमा आरोहणका क्रममा हेलचक्र्याँइ, शारीरिक कमजोरीलगायत विभिन्न समस्याहरूका कारण आरोहीको मृत्यु हुने गरेको छ । मृृत्युदर कम गर्नुको साथै हिमाल आरोहणलाई पनि अझै सुव्यवस्थित बनाउन विभिन्न विषयवस्तुहरूमा ख्याल गर्नुपर्ने थापाको भनाइ रहेको छ । हिमाली क्षेत्रको मौसम पूर्वानुमान महाशाखामा उच्च प्रविधिका साथै दक्ष मौसम विद्को व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता रहेको सरकारी अधिकारीहरूको बताउँछन् । विशेषगरी जलवायु परिवर्तनका कारण सगरमाथामा मौसमको भविष्यवाणी एकदमै कठिन बन्दै गएको देखिन्छ । विशेषतः भविष्यवाणी गरिएको भन्दा भिन्न, क्षणभरमा नै मौसम परिवर्तन हुनेक्रम बढेको छ । त्यसैले मौसमको अनुमानका लागि पनि सरकारले गम्भीर रूपमा सोचेको अधिकारीहरूले बताएका छन् ।

मौसम मात्र होइन, आरोही आफँैले पनि आफ्नो सुरक्षाको लागि गम्भीर रूपमा सोच्ने बेला आइसकेको छ । आरोहण सुरु गर्नुभन्दा अगाडि नै आफू मानसिक र शारीरिक रूपमा तयार हुनुका साथै होसियार पूर्वक आरोहण गनुपर्ने देखिन्छ, आरोहीले आफूलाई आवश्यक पर्ने सामग्रीहरू र आफ्नो ख्याल गरेर अगाडि बढ्नु पर्ने हुन्छ , सरकारी अधिकारीहरू भन्छन् । ‘हिमाल आरोहण गर्ने आरोही शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्छ, गाइडबिना आरोहण गर्न जानु हुँदैन,’ थापाले भने, ‘आरोहणका लागि आवश्यक पर्ने जुत्ता, पञ्जालगायतका विभिन्न सामग्रीहरूको प्रयोग अत्यावश्यक हुन्छ ।’ ‘साथै सन्तुलित भोजनमा पनि ध्यान दिने हो भने मृत्युदरलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ,’ उनले भने ।

पैसाको लोभ हैन
केही दिनअगाडि सगरमाथामा आरोहीको मृत्यु ट्राफिक जामले भएको भन्ने विषयले निकै चर्चा बटुल्यो । मृत्युको खबरले तातेका मिडिया तथा सामाजिक सञ्जालले पैसाको लोभमा एकैचोटी आरोहीलाई शिखरतर्फ पठाएको भन्दै चर्को आलोचना पनि गरे । यति मात्र होइन, नेपाल सरकारले राजश्वका लागि धेरै सङ्ख्यामा अनुमति दिएको भनी आलोचना भइरहेको छ तर सरकारी अधिकारीहरू भने यो मान्न तयार छैनन् । पैसाको लोभमा आरोहीको सङ्ख्या बढेको कुरा सत्य नभएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापा बताउँछन् । हिमाल आरोहणलाई गलत रूपमा प्रचार नगर्न पनि उनले आग्रह गरे ।

होटल व्यवसायदेखि गाइडसम्मले यसलाई रोजगारको रूपमा लिएका बेला अनावश्यक हल्ला फैलाउनु गलत भएको थापाले बताए । ‘अहिले हिमाल आरोहणलाई रोजगारको रूपमा विकास गर्नु महत्वपूर्ण मौका हो,’ उनले भने, ‘पैसाको लोभमा ट्राफिक जाम भयो भन्ने कुरा मिथ्या प्रचार मात्र हो ।’ हिमाल आरोहणबाट सरकारले ५ देखि १० प्रतिशत मात्र राजस्व सङ्कलन गर्ने उनले बताएका छन् । यसलाई लोभभन्दा पनि सकरात्मक सोचेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

अब के गर्ने ?
जामको कारणले नै मृत्यु भएको भनी वैज्ञानिक रूपमा पुष्टि नभए पनि पछिल्लो समयमा सगरमाथा आरोहणमा केही समस्या देखा परेको चाहिँ पक्कै हो, जसलाई सरकारी अधिकारीहरू समेतले स्वीकारेका छन् । सङ्ख्याको कारणले जाम बढेको कुरामा विमति छैन । आरोहणका क्रममा अक्सिजनलगायत सामग्रीको अभाव र स्वास्थ्य खराब हुने भएकाले मृत्यु हुने गर्दछ । एक उच्च अधिकारीका अनुसारा आरोहीको सङ्ख्या कसरी व्यवस्थित गर्ने भन्ने प्रमुख चुनौतीका रूपमा देखिएको छ । यस विषयमा उच्च सरकारी तहमा छलफलसमेत सुरु भएको छ तर यकिन के गर्ने भन्ने छैन् । विशेषतः यस पटक हिमाल आरोहणका लागि उपयुक्त मौसम छोटो समयमका लागि थियो, त्यसैले धेरै आरोही एकैचोटि शिखरमा पुगे । सङ्ख्यालाई सीमित गर्न नसकिने तर त्यसलाई व्यवस्थित गर्न सकिने सरकारी अधिकारीहरू बताउँछन् । यति मात्र होइन, आरोहीको स्वास्थ्य अवस्थाको बारेमा पनि राम्रो अनुगमन गर्न आवश्यक रहेको सरकारी अधिकारीहको भनाइ छ साथै आरोहण कम्पनी र सरकारका बीच समन्वयको आवश्यकता पनि देखिन्छ । त्यसैले यति बेलाको बहस हो, देखिएको समस्या समाधानका लागि आरोहीको सङ्ख्या नै सीमित गर्ने कि यसलाई व्यवस्थित बनाउने ? अर्काे सिजनको सगरमाथा आरोहण सुरु गर्ने बेलासम्म यो विषयमा पेचिलो बहस हुने देखिन्छ र हुनु जरुरी पनि छ ।

Facebook Comments