महिलाकोे नेतृत्वमा गाउँमा पानी मिल

मुगु–खत्याड गाउँपालिकामा पर्छ, चिमाडुङ्ग्री गाउँ । खत्याड खोला यही गाउँ भएर बग्छ । चिमाडुङ्ग्रीमा पूर्णरूपमा ग्रामीण परिवेश देख्न पाइन्छ । यहाँका मानिसको मुख्य पेसा कृषि हो । स्थानीयले भेडा र बाख्राको ऊनबाट विभिन्न सामग्री बनाउँछन्।

धान, गहुँ , जौ, कोदो जस्ता अन्न यो गाउँका मुख्य खाद्यान्न हुन् । यहाँ अन्न उत्पादन गर्नभन्दा बनाएर खान कठिन छ । गहुँ, जौ र कोदाको पिठो घट्टमा पिस्ने चलन छ । धान कुटेर चामल बनाउन भने धेरै मेहनत गर्नु पर्छ । थोरै धान कुट्न पनि धेरै समय र मेहनत लाग्छ । खास गरी यसको जोहो गर्ने दायित्व महिलाको हुन्छ । यसमा पुरुषको भूमिका भने सहायक रहन्छ ।

‘दुःख छ, के गर्नु, हातका पाता सबै दुख्छन्। नकुटी हुँदैन । यस्तै छ,’ खत्याड गाउँपालिका–४ की सुकिली थापाले भनिन् ।

स्थानीय महिलाले यो समस्या पुस्ताँैदेखि भोग्दै आएका छन् । योभन्दा सजिलो गरी चामल बनाउने अरू उपाय पनि उनीहरूसँग छैन ।

दन्ता थापा यो गाउँकी अगुवा महिला हुन् । उनले महिलाको यो समस्या समाधानको उपाय खोज्ने अठोट गरिन् । गाउँमा धान कुट्ने मिल बनाउने उनको सपना थियो । अहिले उनको सपनाले मूर्त रूप लिएको छ । फलस्वरुप गाउँमा धान कुट्ने मिल बनेको छ । मिल बनेपछि धान कुट्न सजिलो भयो । समयको पनि बचत भयो ।

‘मिल भएपछि सजिलो भयो । पहिले एक कठ्ठा धान कुट्न दिनभरि लाग्थ्यो । अहिले त एक बोरा धान एकै छिनमा कुट्न पाइन्छ । धेरै सजिलो भएको छ, ’स्थानीय मनिषा थापाले भनिन् ।

दन्तालाई गाउँका सबै महिलाले साथ दिएका छन् । उनकै पहलमा गाउँमा आमा समूह बन्यो । आमा समूह कै पहलमा धान कुट्ने पानी मिल बनेको रहेछ । मिलका कारण महिलालाई धेरै सजिलो भएको उनीहरू बताउँछन् ।

‘धान कुट्न सजिलो भयो । थोरै धानका लागि पनि धेरै मानिस र समय लाग्ने गथ्र्यो । अहिले त धेरै सजिलो,’ चेतनशील स्वास्थ्य आमा समूहकी अध्यक्ष बिमला थापाले भनिन् ।

उमेर पाको हुँदै गए पनि दन्ताको ऊर्जा भने जवानको जस्तै छ । गाउँको पुछारमा छ पानी मिल । पानीबाट चल्ने यो मिलमा अहिले धान मात्र कुटिन्छ । धान कुट्ने मेसिन पनि सानो छ । यहि सानो मिलले पनि स्थानीयको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

‘मिल बनाउने काम आमा समूहको अगुवाइमा भएको हो । जुन संस्था आए पनि, जो आए पनि महिलालाई मिल चाहिएको छ भनेर भन्यौँ । मिल भए महिलालाई सजिलो हुने थियो भन्याँै,’ समूहकी अध्यक्ष थापाले भनिन् ।

गाउँमा यो सुविधा ल्याउन दन्तालाई भने सजिलो थिएन । यसका लागि उनले लामो समय संघर्ष गर्नुपर्यो ।

‘मिलका लागि त के के गरेँ गरेँ । महिलालाई जुटाएँ । जो आए पनि महिलालाई धेरै समस्या भयो भनेँ । जस्लाई पनि मिलै भनेँ । गाउँपालिकामा धर्ना बसेँ । के गर्नु दुःख गरेरे मिल आयो,’ अध्यक्ष थापाले भनिन् ।

मिल बनाउन खत्याड गाउँपालिकाले ५ लाख लगानी गरेको छ । मिल सञ्चालनमा आएको २ महिना भयो । आम्दानी थोरै भए पनि मिलले २ युवालाई रोजगारीको अवसर पनि दिएको छ ।

‘अहिले प्रतिकेजी २ रुपैयाँले धान कुटाउँछौँ । २ जना काम गर्छौँ । उठे पैसाले केही मर्मतका लागि खर्च गर्छौँ अनि बचेको २ जनाले भाग गरेर लिन्छाैँ,’दानबहादुर रोकायाले भने ।

दन्ता थापालाई अब यही मिलमा पिठो पिस्ने र तेल पेल्ने मेसिन थप्ने मन छ । दन्ताको मात्रै हैन स्थानीय सबैको चाहना सबै कुरा कुट्ने, पिस्ने र पेल्ने व्यवस्था गर्न सके सहज हुन्छ भन्ने लागेको छ । यसका लागि उनीहरूले गाउँपालिकामा पहल गरिरहेका छन् ।

स्थानीय अहिले दन्ताको कामदेखि खुसी छन् । दन्ता आफँै पनि आफ्नो मेहनतले नतिजा पाएकोमा खुसी छिन् । मिलसम्म पुग्नका लागि बाटो अप्ठ्यारो छ । दन्तालाई यति बाटो बनाउन सके सबै कुरा पूर्ण हुने थियो भन्ने लागेको छ ।

‘मिलमा जाने बाटो बनाउने विचार छ । एक लाख जति पैसा भए त यसो दाजु भाइलाई लगाएर भए पनि बाटो बनाउने थिएँ नि । भन्दै छु, कतै भइहाल्छ कि भन्ने विश्वास छ,’अध्यक्ष थापाल भनिन् ।

मिल बनेपछि खेर गइरहेको पानीको सही सदुपयोग भयो । स्थानीयलाई फाइदा पुग्यो । स्थानीय तहले सम्भावना पहिचान गरी लगानी गर्ने हो भने सानो लगानीले पनि ठूलो नतिजा दिन सक्छ । मिल बनाउनका लागि लामो समय निरन्तर खटिने दन्ता थापा जस्ता पात्र समुदायमा उदाहरणका रूपमा रहन्छन् ।

Facebook Comments