भयावह बन्दैछ भक्तपुरमा पानीको समस्या ट्याङ्करको पानी समेत पाउन मुस्किल छ

भक्तपुर– चाँगुनारायण नगरपालिका–४, चापाख्वालकी राधिका खतिवडाको परिवारले २०७२ वैशाखको भूकम्पपछि धारामा पानी थाप्न पाएका छैनन्। भूकम्पले घर लगायतका संरचनामा क्षति पुग्यो। ट्याङ्करको पानी किनेर घर ठड्याएका उनले ट्याङ्करको पानी ल्याउन भने छोडेका छैनन्।

भूकम्पले भौतिक संरचनासँगै पानीको मुहान भासियो र पछि मुहान नै सुक्यो। ‘पानीको हाहाकार भएपछि इनार खन्यौँ, पानी आएन्’, उनले भनिन्, ‘भूकम्पपछि ट्याङ्करबाट पानी किनेर उपभोग गर्दै आएकाछौँ, ट्याङ्करको पानी समेत पाउन मुस्किल छ।’

चाँगुनारायण–४, रमाइलोका रामहरि उपाध्यायको समस्या पनि उस्तै छ। भूकम्पले घर लड्यो। अस्थायी टहराको बास भयो। पानीसमेत पिउन पाइएन । इनारसमेत सुकेपछि छिमेकीको इनारबाट पानी मागेर गुजारा चलाएको उनले बताए । बृहत खानेपानी संस्थान चाँगुनारायणले मिटर जडान गरी नगरकोट स्थित तेलकोट क्षेत्रबाट ल्याएको पानी आउन छोडेपछि चाँगुनारायण मन्दिर आसपासका अधिकांशले भूकम्पपछि खानेपानीको उपभोग गर्न पाएका छैनन्। चाँगुनारायण नगरपालिका चाँपाख्वाल, रमाइलो गाउँ, सङ्गम टोल, पोखरेल गाउँ, बुढाथोकी गाउँ, चाँगुनारायण मन्दिर आसपासका क्षेत्रमा पानीको समस्या छ।

पानीको समस्याका कारण भूकम्पले क्षतिग्रस्त भएको विश्वसम्पदा सुचीमा सुचिकृत चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल जीर्णोद्धार तथा पूनर्निर्माणमा समस्या परेको मन्दिरका भँडेल नाइके एवं पूनर्निर्माणमा संलग्न सत्यनारायण भँडेलले बताए । ‘मन्दिर पूनर्निर्माण जस्तो ठूलो कार्यमा ट्याङ्करमा पानी ल्याएर काम चलाउनु परेको छ’, उनले भने, ‘भूकम्पपछि चाँगुनारायणको माथिल्लो भेगमा पानीको समस्या छ ।’ उक्त क्षेत्रमा इनार खन्दासमेत पानी नआएको उनले बताए ।

पानीको समस्या हुँदा मौसमी बाली र जनजीविकामै कठिनाइ थपिएको छ । अहिले चाँगुनारायण मन्दिर आसपासका धारामा सयौँ गाग्रीलगायतका भाँडाको लाइन देख्न सकिन्छ । ‘महिनामा एकपल्ट धारामा पानी आउँछ’, स्थानीय राजवीर भँडेलले भने,‘पानी थाप्नेको हारालुछ हुन्छ, धारामा पानी आउनुभन्दा तीन दिनअघिदेखि भाँडाको लाइन हुन्छ ।’

भूकम्पपछि पानीको मुहान सुक्दै गएको र भएका मुहानको पनि संरक्षण हुन नसक्दा खानेपानीको हाहाकार भएको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं बृहत्त खानेपानी संस्थानका पूर्वअध्यक्ष बुद्धिलाल मर्हजन बताउँछन् । बजेट अभावका कारण पानीको मुहान संरक्षण हुन नसक्दा खानेपानीको समस्या आएको उनले बताए । खानेपानी समस्याको समाधानका लागि डिपबोरिङ गर्ने कार्यको थालनी भएको उनले जानकारी दिए । त्यसैगरी भक्तपुर–९ च्यांहासिंहकी कृतिका दुवाल दुई गाग्री पानी थाप्न ९ दिन कुर्छिन् । वर्षौँदेखि पानीको समस्या झेल्दै आएकी कृतिका ट्याङ्करको पानी किनेर उपभोग गर्छिन् ।

भक्तपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेन्द्र खायमलीका अनुसार लिवाली आवास विकास आयोजनामा ६ सय १० घरधुरी छन् । जसमध्ये करिब १ सय ३० घरधुरीमा मात्र खानेपानीको पाइप लाइन बिच्छ्याइएको छ। पाइप लाइन बिच्छाइएको स्थानमा समेत ९÷१० दिनमा एकपल्ट पानी आउँछ। बाँकी घरधुरीका बासिन्दा ट्याङ्करको पानी किनेर उपभोग गरिरहेका छन् । नगरक्षेत्रभित्र पानीको स्रोत नहुँदा खानेपानीको हाहाकार भएको वडाध्यक्ष खायमली बताउँछन्। ‘नगरको मुख्य चुनौती खानेपानी व्यवस्थापन भएको छ,’ उनले भने,‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले लिवाली क्षेत्रमा पाइपसमेत बिछ्याउन सकेको छैन।’ नगरपालिकाले आवास क्षेत्र आयोजना गर्दा पानीलाई प्राथमिकमा राख्न नसक्दा स्थानीय बासिन्दाले ट्याङ्करको भर पर्नु परेको उनी स्वीकार्छन्।

भक्तपुर नगरक्षेत्रका बासिन्दा दिनहँु पानीको समस्या बोकेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नगरपालिका धाउँछन् । स्थानीयको डेलिगेसन सम्बोधन गर्दै भक्तपुर नगरपालिकाले जेठ ९ गतेदेखि नगरका १० वटै वडामा ट्याङ्करबाट पानी वितरण थालेको स्यानिटेसन शाखाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए। नगरपालिकाले रोटेसनका आधारमा दैनिक १० वडामा १२ ट्याङ्कर पानी वितरण गर्दै आएको जनाएको छ।

नगरक्षेत्रभित्र पानीको समस्या समाधान तथा व्यवस्थापनका लागि नगरपालिकाले ५ वटा डिपबोरिङ् र आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली लागू गरेको भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले बताए। भक्तपुर– वडा १ र ख्वप इञ्जिनियरिङ् कलेजमा आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली सुरू भएको उनले जानकारी दिए। खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्चीको पर्खाइमा रहेको समेत नगरप्रमुख प्रजापति बताउँछन्।

केयूकेएलको कार्यालय दुधपाटीमा दिनहँु खानेपानीको समस्या लिएर उपभोक्ताको भिड लाग्ने गरेको छ। खानेपानीको वैकल्पिक व्यवस्था हुन नसक्दा दिनप्रतिदिन खानेपानीको समस्या थपिँदै गएको केयूकेएल भक्तपुर शाखाले जनाएको छ। ‘दैनिक ८० लाखदेखि एक करोड लिटर खानेपानीको माग छ’, केयूकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालयले भने,‘३० देखि ३५ लाख लिटर मात्र वितरण गर्ने सामर्थ छ।’ दैनिक ३५ देखि ४० प्रतिशत उपभोक्तालाई मात्र पानी वितरण गरेको उनले बताए।

खानेपानीको वैकल्पिक व्यवस्था गर्न नसक्दा ७, ८ दिन बिराएर उपभोक्तालाई पानी वितरण गर्दै आएको उनले बताए । केयूकेएल भक्तपुर शाखाले भक्तपुर, सूर्यविनायकको ५ र ६ वडाका केही भाग, चाँगुनारायणको ५, ७ र ८ वडाका केही उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको जनाएको छ । केयूकेएलले नगरकोट मुहानपोखरी र मध्यपुर थिमी बोडेबाट खानेपानी वितरण गर्दै आएको छ। केयूकेएल भक्तपुर शाखाले बोडेबाट दैनिक १५ लाख लिटर र नगरकोट मुहानपोखरीबाट करिब २० लाख लिटर पानी वितरण गर्दै आएको प्रमुख हिमालयले बताए । आपूर्ति कम र माग बढी भएकाले खानेपानीको समस्या अत्याधिक बढी भएको केयूकेएल भक्तपुरले जनाएको छ ।

भक्तपुरमा पानीको माग बढ्दै गएपछि खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर (पीटीडी)को समन्वयमा डिप ट्यूबवेल निर्माण गरेको जनाएको छ । दुधपाटी स्थित केयूकेएलकै जग्गामा पीटीडीले प्रतिसेकेन्ड ४ लिटर पानी डिप ट्यूबवेल र सल्लाघारी स्थित प्रतिसेकेन्ड ६ लिटर पानी निकाल्ने गरी ट्यूबवेल खनेको छ । दुवै स्थानको पानी परीक्षण एवं फिल्टर प्लान्टको तयारीमा रहेको र ५ महिनाभित्र सञ्चालन हुने हिमालयले बताए ।

उपभोक्ताले भने पाँचदिनमा वितरण हुँदै आएको पानी महिनादिनयता दश दिनसम्म पनि नआएको गुनासो गरेका छन् । ‘दैनिक ट्याङ्करको पानी किन्नु परेको छ’, भक्तपुर नगरपालिका–९ च्यांहासिंहका द्धारिका प्रजापतिले भने,‘चुनाव अघि खानेपानीलाई मुख्य एजेन्डा बनाउने जनप्रतिनिधिले स्थानीयको समस्यालाई सम्बोधन गरेका छैनन् ।’ ट्याङ्करमा वितरण गरेको पानीले भक्तपुरबासीको तिर्खा नमेटिने उनी बताउँछन् । पछिल्लो समयमा भक्तपुरका अन्य स्थानमा समेत पानीको संकट बढ्न थालेको छ । यस अगाडी खनिएका पानीका इनाहरु क्तमशः सुकिरहेका छन् । धारामा पनि पर्याप्त पानी आउँदैन् ।

Facebook Comments