पत्रपत्रिकामा आजः हुरीपीडितलाई गर्मीको मार, सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानी हाहाकार

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा हुरीपीडितलाई गर्मीको मार भन्ने शिर्षकमा समाचार छापिएको छ। पश्चिम तराईका कैलाली र कञ्चनपुरमा वैशाख पहिलो सातादेखि नै अत्यधिक गर्मी छ । हरेक दिन तापक्रम ४० डिग्री नाघेको छ । हावाहुरीले घरको छानो उडाएर खुला आकाशमुनि बसेका परिवार बिचल्लीमा छन् । राति लामखुट्टे र दिनमा चर्को गर्मीले बसिनसक्नु पारेको उनीहरूले बताए । ‘केहीबेर अरूको घर गएर बस्छौँ, कुनै बेला रूखको छहारीमा बसेर बिताउँछौँ,’ कैलालीको फूलबारी–१४ की अञ्जु समालले भनिन्, ‘हरेक दिन बढदै गएको गर्मीले बसिसक्नु छैन ।’

राजधानी
-आजको राजधानीमा सडक सञ्जालमा तात्यो सरकार, दुईवटा राजमार्ग कालोपत्रे गर्न २५ अर्ब भन्ने शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। सरकारले सडक सञ्जाललाई प्राथमिकता दिएर समृद्धिमा सघाउ पुग्ने गरी आगामी वर्ष सडक विस्तार र राजमार्गहरूको कालोपत्रेलाई विशेष जोड दिएर कार्यक्रम अघि सारेको छ ।सरकारको भौगोलिक आबद्धता कायम गर्दै कृषि तथा उद्योग व्यवसायको विकास गर्ने, जनजीवन सहज गर्ने र उच्च आर्थिक वृद्धि गर्न सघाउ पुग्ने गरी सडकका क्षेत्रमा उल्लेख्य रूपमा बजेट विनियोजन गरेको दाबी छ ।

गोरखापत्र
-आजको गोरखापत्रमा सडक सफा राख्न डस्टबिन प्रयोग  भन्ने शिर्षकमा समाचार छापिएको छ।शङ्करनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो कार्य क्षेत्रभित्र पर्ने तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि ड्राइभरटोलसम्म छ लेनको दुबै किनारमा डस्टबिन राखेको छ।

-अत्याधिक गर्मीले जनजीवन कष्टकर भन्ने शिर्षकमा समाचार छापिएको छ । चर्को घमासँगै बढेको गर्मीले सप्तरीसहिलको तराईको जनजीवन कष्टकर भएको छ।

नागरिक
-आजको नागरिकमा ‘चितवन निकुञ्जभित्र सडक नबनाउनु’ भन्ने शिर्षकमा भाषा शर्माको समाचार छापिएको छ। सर्वोच्च अदालतले दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्नेगरी कुनै पनि सडक निर्माणको काम नगर्न, नगराउन परमादेश जारी गरेको छ। सर्वोच्चले सार्वजनिक सरोकारको रिट निवेदन परेको ८ वर्षपछि फैसला गर्दै प्राणी चराचरको तर्फबाट गरिएको याचनालाई वातावरणीय न्याय गरिएको व्याख्या गरेको छ।

-सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानी हाहाकार भन्ने शिर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ। सर्लाहीको उत्तरी क्षेत्रमा खानेपानीको हाहाकार भएको छ। गाउँमा रहेको इनार, ट्युबवेललगायत पानीका मुहान सुक्दै गएपछि स्थानीय निकै टाढासम्म पुगेर खोलाको पानीसमेत खान बाध्य भएका छन्। विगत केही वर्षदेखि खानेपानीका इनार सुक्दै गएकाले समस्यामा परेका पूर्व–पश्चिम राजमार्ग क्षेत्रका बासिन्दा पानी नै खान नपाउने अवस्था निम्तिएको चुरे क्षेत्रस्थित अत्रौलीमा निर्माणाधीन खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष टमबहादुर घिसिङले बताए।

नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा क्रपथको बाँकी काम गर्न चिनियाँको तयारी, नेपाल पक्षको कुनै सुरसार छैन भन्ने शिर्षकमा सुरेश तामाङको समाचार छापिएको छ । कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो र चिटिक्क पारेर चिनियाँहरु स्वदेश फर्किसकेका छन् । चिनियाँ पक्षले चक्रपथको बाँकी खण्ड पनि यस्तै बनाउने विशेष चासो राख्दै विस्तृत अध्ययन गरी डिजाईन बनाएर फर्किने बेला पनि भईसकेको छ । तर नेपाल पक्षले भने अहिलेसम्म कुनै सुरसार देखाएको छैन ।

Facebook Comments