सर्वसाधारण भन्छन्ः ब्रुमरले काठमाडौँको धुलो हटाउन सक्दैन

काठमाडौँ – बढ्दै गएको धुलोलाई कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ब्रुमरको प्रयोग गर्दै आएको छ। ब्रुमरले रुट अनुसारका ठाउँमा पुगेर रातभर सफाइ गरी धुलो सङ्कलन गर्दछन् ।

काठमाडौँको धुलो केही हदसम्म नियन्त्रण भएकाले आउँदो असार १ गतेदेखि महानगरले चीन सरकारको अनुदानमा २ वटा ब्रुमर थप्ने भएको छ। यससँगै महानगर आफैँले पनि २ वटा बु्रमर किन्ने योजना बनाएको छ । यसरी महानगरले ब्रुमर थपिरहँदा सर्वसाधारणबाट भने विभिन्न किसिमका प्रतिक्रिया आउन थालेका छन् ।

यसै सन्दर्भमा आधारित भएर ‘काठमाडौँको धुलो नियन्त्रण गर्न ब्रुमरलाई कत्तिको उपयुक्त ठान्नुहुन्छ?’ भनेर हाकाहाकीकर्मी सुनिता सुवेदीले सर्वसाधारणसँग गरेको कुराकानी हाकाहाकी जनमतमा जस्ताको तस्तै :

सूर्यप्रसाद न्यौपाने, पर्वतः
राम्रोसँग पिच भएको बाटो छ भने मात्र त्यसलाई सफा गर्ने काम बु्रमरको हो । तर हाम्रो जस्तो देश, जहाँका बाटा भत्किएका र खाल्डाखुल्डी परेका छन्। बाटो राम्रोसँग मर्मत भएको छैन त्यसैले माटो निस्केको निस्कै गर्छ । ब्रुमर जति नै चलाए पनि सफा भने हुन सक्दैन। ब्रुमर लगाउनुभन्दा अगाडि सडक वरिपरिको खाली ठाउँबाट आउने माटो तथा हिलो रोक्ने उपाय अपनाउनु पर्छ।

 

पदम बहादुर जिरेल, जिरीः
धुलो नियन्त्रण गर्न सबैभन्दा पहिले भित्री सडकहरूको मर्मत तथा पिच गर्नुपर्छ । भित्री बाटो राम्रोसँग पिच नभएसम्म मुख्य सडकमा हिलो तथा धुलो सबै जान्छ । जसको कारण सडकमा जति नै ब्रुमर लगाए पनि धुलो न्यूनीकरण गर्न गाह्रो पर्छ ।

 

शशिकला पौडेल, लमजुङः
महानगरले ल्याएको कामलाई नराम्रो भन्न मिल्दैन । भर्खर मात्रै सुरुवात गरेको कुरा हो, पछि राम्रो हुँदै गयो भने त्यसले निरन्तरता लिँदा केही फरक नपर्ला जस्तो लाग्छ । तर ब्रुमरले सफा गरेर हल्का भए पनि धुलो कम भएको जस्तो लागेको छ । यसरी नै काम गर्दै गयो भने पछि धुलो नियन्त्रण हुन पनि सक्छ ।

 

मदन महर्जन, ललितपुरः
ब्रुमरले मात्र काठमाडौँको धुलो नियन्त्रण गर्न त गाह्रै पर्ला जस्तो लाग्छ । गाडीहरूको प्रदूषण र चाप उत्तिकै छ, बाटो पनि उस्तै बिग्रको, भत्केको र खाल्डाखुल्डी मात्र देखिन्छ । सबैभन्दा पहिले सडक मर्मतमा सरकारले ध्यान दिनुपर्छ अनि मात्र ब्रुमरले सफा गर्ने हो ।

Facebook Comments