रारालाई कसरी आहा ! बनाइराख्ने ?

रारा, मुगु– प्राकृतिक सौन्दर्यताकी खानी राराको सौन्दर्य जस्ताको त्यस्तै राख्न चौतर्फी प्रयास थालिएको छ । करिब ५.२ किलोमिटर पूर्वपश्चिम लम्बाइ, २.४ किलोमिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको रारा नेपालकै ठूलो ताल हो।

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा पर्ने रारामा मानवीय गतिविधिका कारण यसको प्राकृतिक सौन्दर्यता र जलीय स्वच्छतामा ह्रास आउन थालेपछि सरोकारवालाहरू चिन्तित भएका छन् । उनीहरू यतिबेला यसको प्राकृतिक सौन्दर्यतालाई जोगाउन अग्रसर छन्।

नेपाल वातावरण पत्रकार समूह नेफेजले पर्यटन, रारा तालको प्राकृतिक सौन्दर्य र जलीय स्वच्छता कायम राख्न के गर्न सकिन्छ ? भन्ने विषयमा गत वर्ष र यस वर्ष गरी दुईओटा पानी छलफल चलाएको छ ।

राराको प्राकृतिक सौन्दर्य बचाउनका लागि छाँयानाथ रारा नगरपालिका, रारा राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिले संयुक्त रूपमा रारा संरक्षणको काम सुरु गरेका छन् ।

युएसआइडिको सहयोगमा सञ्चालित पानी परियोजनाअन्तरगत मुगुको गमगढीमा गरेको दोस्रो पानी छलफल कार्यक्रममा बोल्दै छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ्ग शाहीले रारालाई पर्यटकीय क्षेत्र बनाउन र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरूको सङ्ख्या बढाउन आवश्यक पूर्वाधारको व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले गुरुयोजना बनाउन ९ लाख रुपैयाँ छुट्टाएको जानकारी दिए । उनले भने,‘यहि आर्थिक वर्षको असार मसान्तभित्र गुरुयोजना बनाइ सक्छौँ । त्यसमा पर्यटन प्रवद्र्धनका विषय सम्पूर्ण कुरा समेट्नेछौँ। ’

राराको जलीय एवं प्राकृतिक स्वस्थता कायम राख्न रारादेखि गममढीसम्म डस्बिन राख्ने कार्य सुरु भइसकेको उनले जानकारी दिए । ‘हामीले मुख्य रूपमा फोहोर व्यवस्थापनका लागि सल्लेरीमा ४६ ओटा डस्बिन राखेका छौँ भने रारादेखि गमगढी बजारसम्म ५ सय ओटा कुहिने र नकुहिने डस्बिन राख्ने योजना अनुरुप अहिले खरिद प्रक्रिया सुरु भैसकेको छ। ’

डस्बिनको फोहोर फ्याल्न नगरपालिकाले मिनी ट्याक्टर खरिद गरिसकेको छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख शाहीले बताए।

‘हामीलाई समस्या भनेको डम्पिङ साइट कहाँ बनाउने भन्ने हो ? भूगोलका कारण त्यस्तो जग्गा भेट्टाउन सकिएको छैन् ।’ यस विषयमा बृहत भेला राखी समस्या समाधान गरिने उल्लेख गरे ।

रारामा सबैभन्दा बढी फोहोर घोडाका कारण भएको देखिन्छ । घोडाको दिसा जथाभावी हुनु र यसले राराको जलीय जैविक विविधतालाई असर पुर्‍याइरहेकाले त्यसको व्यवस्थापनका लागि नगरपालिका, निकुञ्ज र मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिले संयुक्त रूपमा पहल थालेका छन् ।

‘घोडाको दिसा व्यवस्थापनका लागि नगरपालिका , निकुञ्ज र मध्यवर्ति क्षेत्र मिलेर स्टुल कलेक्सन ब्यागको निर्माण गदैछौँ ।’ नगरप्रमुख शाहीले भने, ‘पर्यटकले ल्याउने प्लाष्टिक, बोतललगायतका फोहोर व्यवस्थापनका लागि पर्यटकलाई रारामा घुम्ने अवधिसम्मका लागि स्थानीय झोला दिने र सोही झोलामा फोहोर सङ्कलन गर्ने गरी साझेदारी रूपमा कार्य भैरहेको छ। ’

राराको सौन्दर्यसँगसँगै पर्यटन प्रवद्र्धन र स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले बेरोजगार युवाहरूलाई होमस्टे व्यवस्थापनको तालिमसमेत प्रदान गरिएको छ । गत वर्ष नगरपालिकाले १० जनालाई प्रदान गरेको तालिमबाट २ जनाले व्यवसायिक रूपमा होमस्टे सञ्चालन गरिसकेका छन् भने बाँकी ८ जनालाई पुनः नगरपालिकाले पुनर्ताजगी तालिम दिने भएको छ।

रारामा घुम्न आउने पर्यटकहरूका लागि कोसेली लैजाने व्यवस्थासमेत गर्न लागिएको नगरप्रमुख शाहीले बताए। उनले रारालाई संरक्षित क्षेत्र सँगसँगै पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

गैर कानुनी रूपमा रारा निकुञ्जभित्र सञ्चालन गरिएको होटल हटाउनुपर्ने कार्यक्रममा सहभमगीले माग गरेका थिए। प्रतिनिधि सभा सदस्य गोपाल बमले नै निकुञ्जभित्र होटल सञ्चालन गरिरहेको बताउँदै त्यसलाई हटाउन स्थानीय तथा सरोकारवालाहरूले आग्रह गरेका थिए । पानी छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य गोपाल बमले राराको सौन्दर्यता र जलीय स्वस्थता जोगाउनका लागि आफैँ प्रतिवद्ध भएका कारण निकुञ्जभित्रको होटल हटाउन आफू सहमत रहेको बताए। उनले भने, ‘होटल हटाउन म सहमत छु, तर त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्दछ। ’
राराको प्राकृतिक सौन्दर्यता बनाउनका लागि सबै पक्ष सक्रिय रूपमा लाग्नुपर्ने उल्लेख गरे । ‘राराको सुन्दरता हेर्न पर्यटक आउने हुनाले यसको सौन्दर्यता बचाइराख्न आ–आफ्ना क्षेत्रबाट लाग्नुपर्छ ।’ उनले भने, ‘यसका लागि ऐन कानुन सुधार्ने वा बनाउने के गर्नुपर्छ, म त्यसका लागि तयार छु । ’

रारामा बाहिरबाट आउनेहरूले जथाभावी फोहोर फ्याल्ने त्यसमा पनि प्लास्टिक, काँच जस्ता नसड्ने वस्तुले रारालाई कुरुप बनाइरहेको छ ।

कार्यक्रममा रारा राष्ट्रिय निकुञ्जका निमित्त वार्डेन यज्ञराज रोकायले खुला चरिचरणका कारण पनि समस्या हुने गरेको बताए। उनले भने, ‘केही स्थानमा खुला चरिचरणका लागि खोलिएको हुन्छ तर सम्बन्धित वस्तुभाउका मालिकहरूले निकुञ्जमा जथाभावी वस्तुभाउ छोड्छन् । लामो समयसम्म पनि आफ्ना वस्तुभाउ लिन आउँदैनन्। ’त्यसले निकुञ्जलाई समस्या बनाएको बताए।

‘हामी केन्द्रअनुसार चले पनि स्थानीय सरकार र यहाँका सरोकारवाला निकायहरूसँगको समन्वयमा नियमित रूपमा सरसफाइ गर्ने, यसको स्वच्छता जोगाउनका लागि अन्तरक्रिया गर्ने काम गरिरहेका छौँ । ’ निमित्त वार्डेन रोकायले भने,‘ त्यसमा हामीलाई नेपाल आर्मीले पनि सहयोग गरिरहेको छ । ’

पछिल्लो समय रारा अवलोकनका लागि आउनेहरूको सङ्ख्यामा भइरहेको वृद्धिसँगै वातावरणलाई प्रभाव पार्ने प्लाष्टिक, सिसामा समेत वृद्धि हुँदै गएको छ ।

‘साप्ताहिक रूपमा हामी रारा ताल वरिपरका फोहोरहरू उठाउँने गर्छाैं । ’ रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष बलराम साहनीले भने,‘सरसफाई गर्दा चाउचाउका खोल , पानीका बोत्तल, रिचार्ज कार्ड, सुर्तीजन्य पदार्थका खोल र मदिराका बोत्तलहरू बढी मात्रामा भेट्टाइरहेका छौँ । त्यसलाई रोक्न नसके हाम्रो राराताल पनि पोखराको फेवाताल जस्तो नहोला भन्न सकिन्न । ’

त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए। रारातालमा पछिल्लो समय बढिरहेको फोहोर व्यवस्थापनका विषयमा चौतर्फी प्रयास थालिएको छ ।

छलफल कार्यक्रममा राराताल पछिल्लो समय पुरिँदै गइरहेको प्रति स्थानीयहरूले चिन्तासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै कान्तिपुर दैनिकका पत्रकार राजबहादुर शाहीले विश्वमा नपाउने ३ जातका माछा र भ्यागुत्ता रारा तालमा पाइने अनुसन्धानले देखाएको बताउँदै त्यसको संरक्षणका लागि कसैको ध्यान नगएकोले त्यसतर्फ पनि सबैको ध्यान जानुपर्ने बताए ।

उनले भने, ‘अहिले पहिले जस्तो असलालगायतका माछा देखिँदैनन्, माछा चोरेर खाने र माछाको आहारासमेत घटेदै गइरहेको छ । त्यसको संरक्षणमा हामी सबै लाग्नुपर्छ । ’

पानी छलफलमा स्थानीय तथा पत्रकार कविराज कार्कीले रारामा भौतिक विकासभन्दा पनि प्राकृतिक सौन्दर्यलाई नै यथावत राख्न सुझाव दिएका थिए ।

उद्योग वाणिज्य संघ मुगुका उपाध्यक्ष रत्नसिह मल्लले रारालाई जोगाउन जथाभावी रूपमा लगाइने स्काभेटर र जेसीभीलाई रोक्नुपर्ने बताए । कार्यक्रममा सबैले आ–आफ्नो स्थानबाट राराको स्वच्छता जोगाउन सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा छाँयानाथ रारा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, होमस्टे सञ्चालक, जिल्ला वन, सामुदायिक वन उपभोक्ता समिति , स्थानीय पत्रकार लगायतको सहभागीता रहेको थियो।

पानी छलफलमा निम्नानुसारका प्रतिबद्धताहरू गरिएको छ ।

१‍. राराको दीगो विकासका लागि संरक्षण र पर्यटनप्रवद्र्धन गर्न विनियोजित भएको बजेटमा आधारित रहेर यही आर्थिक वर्षको असार मसान्तभित्र गुरुयोजना बनाइनेछ।

२.फोहोर व्यवस्थापनका लागि स्थानीयतहमा झोला उत्पादन गरी आउने पर्यटकले सिसा र प्लाष्टिकजन्य र अन्य फोहोरहरू सोही झोलामा राखेर बुझाउने व्यवस्था गरिनेछ।

३. फोहोर व्यवस्थापनका लागि विभिन्न स्थानहरूमा खाडल निर्माण गर्न र घोडा खच्चडको दिशा व्यवस्थापन गर्न दिशा संकलन झोला उत्पादन गरी फोहोर संकलन गरिनेछ।

४. चरिचरणका लागि तोकिएको क्षेत्रमा मात्रै चरिचरण गराउनका लागि रारा राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति र छायाँनाथ रारा नगरपालिकाको संयुक्त समन्वयमा अनुगमन गरी सोही अनुरुप आगामी दिनहरूमा कार्यहरू गरिनेछ।

५. कानूनविपरित सञ्चालनमा रहेको रारा निकुञ्ज भित्रको होटल हटाउनका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरिनेछ।

६. यस अघि गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गरिनेछ ।

Facebook Comments