हिँउविहीन बन्दैछ पहिलो पटक आरोहण गरिएको हिमाल (फाेटाेसहित)

मनाङ– नेपालमा धेरै स्वदेशी तथा विदेशी पर्वतारोहीले हालसम्म थुप्रै हिमाल आरोहण गरिसकेका छन्। विश्वको अग्लो हिमाल सगरमाथाभन्दा पहिले सन् १९५० जुन ३ मा फ्रान्सेली नागारिक मोरीस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए। त्यतिबेला र अहिलेको हिमालमा धेरै परिवर्तन आइसकेको छ।

अन्नपूर्ण प्रथम हिमालको उचाइ समुद्री सतहदेखि ८ हजार ९१ मिटर रहेको छ। अन्नपूर्ण प्रथम आरोहण गरेको अहिले ६९ वर्ष पुगेको छ । जलवायुपरिवर्तनका कारण हाल यी हिमालहरू कालापत्थरमा परिणत भएका छन्। समाजसेवी टेकबहादुर पुन मगरका अनुसार आजभन्दा ३१ वर्ष पहिले पञ्चकुण्ड तालदेखि हिमनदी थियो। अहिले तिनै हिमनदी सकिएर कुण्ड बनेको उनको भनाइ छ।
मोरीस हर्जोगले चढेको हिमाल

३१ वर्षीय मोरिस हर्जाेगको टिमले पहिलो पटक यस हिमालको सफल आरोहण गरेका थियो। यो सफलतासँगै नेपाल पर्वतीय पर्यटनको आकर्षण केन्द्र बनेको हो । अहिले धेरैले सर्वाेच्च शिखर सगरमाथा रोज्ने भएकाले अन्नपूर्ण प्रथमको आरोहण भने कम प्राथमिकतामा परेको छ ।

पर्यटकका लागि अन्नपूर्ण पदमार्ग आकर्षणमा पर्छ । ‘सगरमाथाभन्दा अन्नपूर्ण हिमाल आरोहणका लागि ज्यादै कठिन छ। जेठो हिमालको उपाधि पाए पनि धेरै पर्यटक अन्नपूर्ण प्रथममा जान सकेका छैनन्,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप केन्द्रीय कार्यालय संरक्षण अधिकृत ऋषि बरालले भने,‘पदमार्ग विस्तार भइरहेको छ । हिमालसम्मै पदमार्ग निर्माण भएको छ। अब सहज हुने अपेक्षा छ ।’ अन्नपूर्णको छुट्टै महत्त्व भए पनि प्रचारप्रसार गर्न नसकिएको उनले बताए।

अन्नपूर्ण प्रथम र तिलिचो पिगले बनाएको नारच्याङ ताल जसलाई पञ्चकुण्डा धामको रूपमा मान्यता दिएको छ। तालको छेउमा निर्माण गरिएको शिव मन्दिर र हिन्दु संस्कारअनुसार पितृ पूजा वा श्राद्धस्थल निर्माण गरिएको टेकबहादुर पुन बताउँछन्।

प्रचार प्रसारको अभाव र ढिलो सुरुवात

‘पदमार्ग व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भएको छ । पोखराको लेक साइडमा रहेको होटल छाडेर नारच्याङमा होटल व्यवसाय गर्दै आएका टेकबहादुर पुन अहिले अन्नपूर्ण प्रथमको प्रचार प्रसारमा लागेका छन्। मोरिस हर्जाेग चढेको हिमाल यहाँबाट पुगिन्छ भनेर प्रचारप्रसार हुन सकेको छैन,’उनले भने ‘सोचेअनुरूप हिँडेर पर्यटक आउन सकेका छैनन् । आएका केही फर्किएका पनि छन् ।’ मुस्ताङको टुकुचे भएर बेसक्याम्प जाने बाटो अप्ठेरो भएकाले  अहिले पदमार्ग निर्माण गर्न यहाँका अगुवा जुटेका छन् ।

एक्याप आयोजना प्रमुख राजकुमार गुरुङका अनुसार नेपालकै पहिलो र ठूलो संरक्षण क्षेत्रभित्र अन्नपूर्ण हिमाल पर्छ। अन्नपूर्ण हिमाल र यस आसपासको ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरिएको छ ।

लमजुङ हिमालदेखि निलगिरीसम्म अन्नपूर्ण हिमशृङ्खलाको भाग हो । गण्डकी प्रदेशका ५ जिल्ला, १५ गाउँपालिकाका ८७ वडामा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछन् । २०४३ मा कास्कीको घान्द्रुकबाट अन्नपूर्ण संरक्षणक्षेत्र परीक्षण सुरु भएको थियो । अन्नपूर्ण क्षेत्रमा बर्सेनी करिब २ लाख पर्यटक आउँछन् ।

तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराको अनुमतिमा हिमाल चढ्न हर्जोग आएका थिए। सगरमाथा आरोहणका लागि आएका उनी बेलायती जर्ज हन्ट र एडमन्ड हिलारीले ‘हामी चढ्दै छौँ, तपाईं अर्काे हिमाल रोज्नुस् भनेपछि हर्जाेग अन्नपूर्ण क्षेत्रमा आइपुगेका थिए ।

अन्नपूर्ण क्षेत्र नजिकै धौलागिरी आएका हर्जाेग कालीगण्डकीको तीरैतीर मुस्ताङको टुकुचे क्षेत्रबाट नारच्याङको लेक भुस्केट हुँदै आधार शिविर भएर अन्नपूर्ण प्रथम चढेका थिए । हर्जाेगले अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि बेलायती एडमन्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेका हुन्।

‘हामी सगरमाथा चढ्न गएको भए उनीहरूलाई धोका दिएको जस्तो हुन्थ्यो,’ अन्नपूर्णमा पहिलो पाइला पुस्तकमा उनले भनेका छन।, ‘बेलायतीहरूले सगरमाथा उक्लन बाह्रौँ प्रयास गर्दै थिए । बेलायती जर्ज हन्ट र एडमन्ड हिलारी मेरा साथी नै हुन् । तिब्बती मोहडाबाट पनि पटकपटक कोसिस गर्‍यौँ , सकेनौँ । अब एकपटक हाम्रा लागि छाडिदिनुस् भनेर उनीहरूले आग्रह गरेपछि तपाईंहरूले नसके अर्काेपटक हामी चढ्छौँ भन्दै हामी अन्नपूर्णतिर लाग्यौँ ।’

फ्रान्सबाट दिल्लीसम्म हवाई यात्रा गरेका हर्जाेगको टोली भारतबाट नेपाल सीमासम्म मोटरमा आएको थियो । उनीहरू लुम्बिनी हुँदै बाग्लुङ भएर धौलागिरी क्षेत्र हिँडेरै आएका हुन् । हर्जोगको टोलीसँग २ सय ५० जना भरिया थिए । उनीहरू सगरमाथा चढ्न नपाएपछि ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल चढ्न आएका थिए।

धौलागिरी चढ्नु राम्रो छैन भनेर स्थानीयले सुझाब दिएपछि उनीहरू पूर्वतर्फको अन्नपूर्ण प्रथम हिमाल आरोहणमा लागेका थिए । मनसुन सुरु हुनै लाग्दा र हिमपहिरो खस्ने समयमा हर्जाेगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए।

उनले हिमाल चढेको खबर विश्वभर फैलियो । ‘हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू ८ हजार मिटरभन्दा अग्लो हिमालमा गए, हिमालमा फ्रान्सेली झन्डा फहराए, ती हिमाल कसरी चढे ? उनीहरू को हुन् ? नेपालका अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरिका मानिसको आँखा खुल्यो,’ पुस्तकमा भनिएको छ। अन्नपूर्णको सफल आरोहणपछि विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको हो । अन्नपूर्ण पहिलो आरोहण गरेर कीर्तिमान बनाएको खुसियालीमा त्यतिबेला फ्रान्समा तीन दिन राष्ट्रिय उत्सव मनाइएको थियो ।

हिमाल आरोहणपछिको हर्जाेगको जीवन

आरोहणका क्रममा दुबै गोडा र दुबै हात गुमाएका हर्जोगलाई सहयोगीले बोकेर हिमालबाट झारेका थिए । उनीसँगै लुइस लचेनल पनि थिए । फर्किने बेला मोहन शमशेरले भेट्नलाई पत्र पठाएको जानकारी आएपछि सँगै आएका डाक्टर हुदो मार्सेलसहित उनी काठमाडौँ आएका थिए। दरबारमा एउटा ठूलो समारोह गरेर तत्कालीन सरकारले उनलाई गोर्खा क्रस पदक दिएको थियो ।

उक्त पदक पाउने आफू एकमात्र विदेशी भएको हर्जाेगले आफ्नो किताबमा उल्लेख गरेका छन् । उनले लेखेको किताब सन् २००० अघिसम्म १ करोड १० लाख बढी बिक्री भएको थियो । फ्रान्सेली भाषा ‘लान्नापुर्ना फर्मिय उई मिल’ नामको उक्त पुस्तक कुनै समय अमेरिकी बजारमा क्रिश्चियन धर्मग्रन्थ बाइबलभन्दा बढी बिक्री भएको मानिन्छ । यो पुस्तक सम्भवतः विश्वमा सबैभन्दा धेरै बिक्री भएको नेपालसम्बन्धी पुस्तक पनि हो । सन् १९५१ मा पेरिसको अस्पतालमा उपचार हुँदै गर्दा उनले यो पुस्तक लेखेका थिए।

नेपाल र भारतमा राम्रो उपचार नपाएपछि उनी फ्रान्स र अमेरिका उपचार गर्न गएका थिए। कृत्रिम हातखुट्टा लगाउँदै आएका हर्जोगको ९३ वर्षको उमेरमा २०६९ मङ्सिर २९ गते निधन भयो। अन्नपूर्ण चढ्नुअघि उनले युरोप र दक्षिण अमेरिकाका ४ हजार ८ सय मिटर उचाइका हिमाल आरोहण गरेका थिए। अन्नपूर्ण प्रथम जाने पदमार्ग नहुँदा र भएको पदमार्ग पनि उच्च जोखिममा रहँदा हिमाल चढ्ने र घुम्ने पर्यटक हेलिकप्टरमार्फत जाने गरेका छन्। पछिल्लो समय गत अप्रिल २३ मा अन्नपूर्ण प्रथम आरोहण गरेका बेलायती सैनिक म्याग्दीको निर्मल पुर्जा बेसक्याम्पसम्म हेलिकप्टरमै गएका थिए ।

Facebook Comments