धुलोधुवाँ नियन्त्रणमा कहाँ चुक्यो महानगर? यस्ताे छ वातावरणविद्काे भनाइ

काठमाडौँ– काठमाडौँ उपत्यकामा धुलोधुवाँको विषयमा बहस हुनु कुनै नौलो कुरा होइन्। तर, पछिल्लो समय ‘काठमाडौँमा धुलोधुवाँ कम कहिले हन्छ?’ भन्ने प्रश्न महानगरलाई पेचिलो बन्दै गएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनमा काठमाडौँलाई ‘क्लिन, ग्रिन र नो माक्स सिटी’ बनाउँछु भनेर प्रतिबद्धता जनाएका थिए । त्यसकारण पनि सर्वसाधारणमा यो विषयप्रति चासो लाग्नु स्वभाविक हो।

हुन त महानगरले पनि उपत्यकाको धुलोधुवाँ कम गराउन काम नगरेको भने होइन । विभिन्न समयमा अनेकौं प्रयासहरू गरिरहेको छ। महानगरले काठमाडौँको धुलो नियन्त्रण गर्नको लागि ५ बटा बु्रमर सञ्चालन गरिरहेको छ।

त्यति मात्र होइन सडकका पेटी पखाल्नको लागि जेट मेसिनको पनि प्रयोग गर्दै आएको छ। महानगरसँग ९ वटा जेट मेसिन छ।

तर, करोडौँ खर्च गर्दा पनि महानगरले काठमाडौँको धुलो नियन्त्रण गर्न सकेको छैन् । काठमाडौँमा धुलोधुँवा कम गर्न असफल भएको महानगर आफैँ स्वीकार्छ । महानगरका वातावरण व्यवस्था विभागका प्रमुख हरि कुमार श्रेष्ठ महानगर धुलो–धुँवा नियन्त्रण गर्न प्रयासरत रहेको बताउँछन्। सडकमा रहेका खाल्टा–खुल्टी र मेलम्चीको लागि खनिएमा ढल धुलोको मुख्य कारण रहेको उनको भनाइ छ। यी समस्याहरूको समाधान नभई महानगरको हरेक प्रयास असफल हुने उनको दाबी छ।

मेलम्चीको काम पूर्ण रुपमा सम्पन्न नभएसम्म र सडक विस्तार/मर्मतको काम नसकिएसम्म महानगरको प्रयासले पूर्णता नपाउने उनले बताए।

तर, यस विषयमा वातावरणविद्को भनाइ भने भिन्नै छ । वातावरण कानुन विद पदमबहादुर श्रेष्ठ धुलो पखालेर मात्र कम नहुने बताउँछन्।

उनी भन्छन्, ‘काठमाडौँ महानगरमा धँलोको श्रोतहरू धेरै छन्। काठमाडौँ महानगरपालिकाले ति श्रोतहरूको पहिचान गर्न सकेको छैन। अझै भनौं भने महानगर कोसिस पनि गर्न चाहदैन । महानगरसँग वर्ताको क्रममा पटक पटक उठेका विषयहरू हुन् यी । तर, महानगरबाट कुनै प्रतिक्रिया आएको छैन।’

उनका अनुसार ब्रुमर र पानी हालेर पनि धुलो कम नहुनुमा मुख्य तीन कारण छन्। पहिलो अव्यवस्थित सडक निर्माण कार्य, दोस्रो सडकका खाल्डाखुल्डी र अर्को भनेको काठमाडौँमा रहेको ३ सय ५० वटा भन्दा धेरै इट्टा भट्टाबाट निस्केका धुवाँ।

उनी थप्छन्, ‘खाल्डाखुल्डी, निर्माण साम्रगी राखिएको ठाउँमा त बुम्रर लगाएर काम पनि भएन । एक त काठमाडौँको सडक सफा गर्नलाई पर्यप्त ब्रुमर पनि छैनन्। ब्रुमरको प्रविधि र हाम्रो बाटो फरक छन्। हामा सडकमा धुलोहरू ३ तह बनेर बसेको छ। ब्रुमरले तीनको एक मात्र सफा गर्छ। अनि धुलो कम हुँदैन्। विकासको नाममा गरिने तोडफोड रोकिनु जरूरी छ। बिहान सडक खनिएको छ भने राती सम्म त्यो पुरेर कालोपत्रे गनुपर्छ। यस विषयमा त महानगर र अन्य सम्बधित निकायहरूबीच समन्वयको पनि खाँचो छ। विकास बैज्ञानिक ढंगले गर्न सकियो भने, समय समयमा गाडी र सडकको मर्मत गरियो भने त काठमाडौँको आधा धुलोधुवाँ यसैपनि कम हुन्छ। सबै भन्दा धेरै धुलो त नाकाबाट प्रवेश गर्ने गाडीहरूले लिएर आउँछन् तिनको पनि व्यवस्था गर्न सकियो भने प्रदूषणलाई न्यूनीकरण गर्न सकिन्छ। सन् २०१७ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा वायु प्रदूषणबाट ९ हजार ९ सय ४३ जनाको मृत्यु भएको थियो। ब्रुमर र पानी हालेर मात्रै यो मृत्युदर कम हुँदैन, यसमा म दाबी गर्न सक्छु।’

त्यसैगरी अर्का वातावरणविद् भुषण तुलाधर महानगरले ब्रुमर चलाएर मात्र धुलो कम नहुने तर्क गर्छन् । धुलोको श्रोत घटाउन नसक्नु नै महानगरको कमजोरी रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘कम गुणस्तरको निर्माण, सडकछेउमै निर्माण सामग्री थुपार्ने चलन र विभिन्न बहानामा सडक खन्ने कार्यले गर्दा काठमाडौंका सडकहरू जहिले पनि धुलाम्मे भइरहन्छन्।’

सडकमा उत्पन्न भएको धुलो, बाहिरबाट आउने धुलो, निर्माणका लागि भत्काइएका संरचना र सडकमा थुपारिएका फोहोरहरूलाई निरूत्साहित गर्नमा महानगर चुकेको उनको भनाइ छ।

‘खाल्डाखुल्डी सडक, सडकमा यत्रतत्र छरिएका फोहोरमाथि ब्रुमर लगाएर धुलो कम हुँदैन्, उनले भने, ‘ब्रुमर लगाएर, सडक पखालेर धुलो कम नै नहुँने भन्ने चाँहि होइन। तर, जबसम्म धुलोको श्रोत घटाउन सकिँदैन तब सम्म समस्या कम हुँदैन्।’

Facebook Comments