गाडी भाडा बढाउन हतार गर्ने सरकारले यि बेथिति कहिले देख्ला ?

काठमाडौँ – ११ बज्यो, अफिस जान हतार भइसकेको थियो । गाडी चढ्न भनेर फटाफट वनस्थली चोकमा पुगेँ।बालाजुबाट कलङ्की, बल्खु, सानेपा, एकान्तकुना भन्दै पुरानो गाडी मेरै अगाडि घ्याच्च रोकियो। जाउँ जाउँ बैनी, सिट खाली छ, भनेर मलाई गाडीमा चढ्न सहचालकले आग्रह गरे।

यस्तो थोत्रो गाडीमा सिट के गतिला होलान् भन्ने सोच्दै चढेँ। गाडीभित्र सोचेभन्दा फरक दृश्य देखियो। चिटिक्क मिलेका सिटकभरले गाडी नै सुन्दर देखिन्थ्यो। सार्वजनिक यातायात पनि यति राम्रा सिट ? आफैँले आफूलई प्रश्न गरेँ किनकी मेरा अधिकांश अनुभव ठीक विपरीत र तिता थिए।

तर, एउटा भनाई छ ‘टल्कने जति सबै सुन हुँदैनन्,’ भयो त्यस्तै, गाडी पुरानो भएर होला, गाडीको आवाज र गन्धले यात्रा भने राम्रो बनाएन। बल्खु पुग्दा गाडी बिग्रियो। सहचालकले अर्को गाडीमा जान आग्रह गरेपछि, अफिस जान हतार भएकी म अर्को गाडीमा चढेँ। बसको बाहिरी आवरण रङ्ग पोतेर चिटिक्क देखिन्थ्यो । नयाँ देखिने गाडीभित्र चढ्ने बित्तिकै त्यहाँको दृश्यले मलाई निःशब्द बनायो । बाहिरबाट हेर्दा लोभ लाग्दो गाडीभित्र जताजतै फोहोर र च्यातिएका सिटले शरीर नै बोझिलो बनायो।

 यो पंक्तिकार आफैले भोगेको प्रतिनिधिमुलक घट्ना हो । सबै यात्रुले भोग्ने समस्या यही हो तर भनेर केही हुने होइन भनेर चुप लागेर बस्ने जमात नै ठूलो भइसक्यो । बस्ने सिट तथा कवरहरू पुराना, च्यातिएका र सिटको आडमा हात राख्न प्रयोग गरिने डण्डी फुस्केर त्यहाँको काँटीले घोच्ने गरेको यात्रुहरू बताउँछन् । दैनिक रूपमा लाखौँ सङ्ख्यामा गुड्ने सार्वजनिक सवारी साधनमा यो अव्यवस्थाले सम्पूर्ण यात्रुहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गरिरहेको छ  तर  व्यवसायीको जुनसुकै माग पुरा गर्न तयार हुने सरकारी निकायलाई यसको कुनै मतलव नै छैन्।

विगत १ वर्षदेखि काठमाडौँको गौशालामा बस्दै आएकी फुलमाया पुरी सार्वजनिक यातायातको समस्याबाट विरक्त छिन्। ‘त्यसै त धुलो सहर, त्यसमाथि फोहोर सिटमा बस्दा कपडा छिट्टै फोहोर हुने, फाटेका र उक्किएका सिटका काँटीले कपडा पनि च्यातिने अवस्था छ,’ उनले भनिन्, ‘छोटो यात्रा गर्नेलाई पनि बान्ता भएको देखेकी छु, त्यतीबेला प्लास्टिक पाइँदैन, गाडीमा डस्टवीन नहुँदा त्यो फोहोरले अरू यात्रुलाई पनि असर गरेको हुन्छ।’

अहिलेको अर्को प्रमुख समस्या भनेको गाडीमा अत्याधिक यात्रुको चाप हो। मान्छेको भिडभित्र पेलिँदै आफू पनि उभिएर यात्रा गर्नु सबैभन्दा जटिल समस्या भएको यात्रुहरूले गुनासो गर्ने गरेका छन्। काभ्रे पलाञ्चोक, पनौती घर भएका राजन सुन्दास पनि सार्वजनिक यातायातको अवस्था देखेर निराश छन्। जस्तोसुकै समस्या भए पनि सामना गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

‘गाडीले क्षमताभन्दा बढी यात्रु बोक्छन्। अनावश्यक रूपमा मान्छेहरू चढाउँछन्,’ उनले भने, ‘चालक र सहचालकले पनि लापरवाही तरिकाले चलाइरहेका हुन्छन्।’ ‘कतिपय गाडीमा सिटको अवस्था केही सुध्रिसकेको भएपनि अधिकांश सिटहरूको अवस्था अहिले पनि नाजुक छ,’ उनले भने। गाडीको क्षमतासम्म मात्र यात्रु भइदिए सहज रूपमा यात्रा गर्न पाइन्थ्यो,’ उनी बताउँछन्।

शहरका हरेक बस स्टपमा गाडी कुर्ने मानिसहरूको भीड उत्तिकै देखिन्छ। खचाखच भरिएको गाडीमा पनि यात्रा गर्न सर्वसाधारण विवश देखिन्छन्। गाडीभित्रै फोहोर फाल्नेदेखि लिएर दुव्र्यवहारसम्मका समस्या सार्वजनिक यातायातमा फस्टाएको छ । सार्वजनिक यातायातमा यात्रुको चाप, फोहोरका साथै दुव्र्यवहार पनि सामान्य भैसकेको सर्वसाधारण गुनासो गर्छिन् । गोरखा घर भइ काठमाडौँमा बसेर अध्ययन गर्दै आएकी सन्ध्या भट्ट सार्वजनिक यातायातमा बढ्दै गइरहेको समस्याले विरक्त भएको बताउँछिन् ।

विशेषतः चेतनाको कमीले नै यस किसिमका समस्या आउने गरेको उनको भनाइ छ । ‘महिला शिक्षा र समान अधिकार दिने हो भने दुव्र्यवहार पनि धेरैहदसम्म कम हुन्थ्यो,’ उनले भनिन्, ‘अभियान सञ्चालन गरेर भए पनि गाडीभित्र सफा गर्नु पर्छ, दुव्र्यवहार गर्नुहँदैन भन्ने चेतनाको विकास गर्न सके मात्र पनि यात्रा सहज हुन्थ्यो ।’

सवारी चालक तथा सहचालककै लापरबाहीले यस्ता समस्याहरू भइरहेको यात्रुहरूको गुनासो छ । तर चालक, सहचालकहरू भने समस्याबाट पछि हट्ने गरेका छन् । सवारी चालक तथा सहचालकको कारणले मात्र समस्या नभएर यात्रु स्वयंमको कारणले पनि हुने गरेको चालकहरू बताउँछन् ।

व्यस्त सडकमा यात्रुले भरिभराउ सार्वजानिक यातायातका चालक अर्जुन क्षेत्री भन्छन्, ‘भीड देखेपछि आफू नचढ्ने हो भने हामीले तानेर राख्दैनाैँ, जानी जानी गाडीमा चढ्छन्,’ उनले भने, ‘हामीले पनि पैसा कमाउनु पर्‍यो नि, हामीलाई मात्र दोष लगाएर कहाँ हुन्छ ?’

गाडीभित्र फोहोर व्यवस्थापन गर्न सवारी चालक, सहचालकबाट पर्याप्त प्रयास भएको देखिँदैन । तर, चालक क्षेत्री भन्छन्, ‘डस्विन राख्ने, गाडी बिग्रिए बनाउने, सिट पुरानो भए परिवर्तन गर्ने काम साहुको हो’ उनले भने, ‘सफा गर्न भनेर राखेको डस्विन पनि यात्रुले प्रयोग गर्न खोज्दैनन् ।’

यति मात्र होइन सार्वजनिक बसभित्रका समस्या अरु कैयौँ छन् । कतिपय गाडीमा दुर्गन्ध नै फैलिएको देखिन्छ । अनि कतिपय गाडीका झ्याल बिग्रेका हुन्छन् । त्यसलाई समयमा मर्मत नगर्दा धुलोको समस्यादेखि पानी पर्दा सिट भिज्ने समस्यासमेत देखिन्छ । अझै कतिपय यात्रुवाहक सार्वजनिक गाडीले त जनावार र ठूला ठूला सामाग्रीहरू बोकेर सास्ती दिने गरेका छन् । तर, यसको अनुगमन र कारवाही गर्ने काम भएको देखिँदैन् । यति मात्र कहाँ हो र कतिपय वसमा सिट वढाउन जर्वरजस्ती रुपमा सिट थपेर बस्नै नहुँने समेत बनाइएको छ ।

सम्बन्धित निकायको बेवास्ता

काठमाडौँमा चल्ने सवारी साधनमा यात्रुको चाप बढिरहँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । दिनहुँ जसो सार्वजनिक यातायातमा यात्रुको चापसँगै समस्या पनि बढेको छ तर सरकारी निकायबाट कुनै किसिमको पहल भएको छैन। यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनाल अनुगमनसँगै चालक तथा सहचालकलाई सामान्य परामर्श दिने गरेको बताउँछन्। ‘अनुगमनका क्रममा गाडीमा यात्रु बढी भेटेमा तुरुन्तै ओराल्ने र अबदेखि यसरी चढाउनु हुँदैन भनेर सचेत गराउछाैँ,’ उनले भने, ‘अटेर गर्नेलाई ट्राफिकले कारवाही गर्छ।’

सामान्य अनुगमनबाहेक अन्य केही योजना नभएको पनि खनालले बताए। ‘सार्वजनिक यातायातमा फोहोर गर्नुहुँदैन, सिट सफा गनुहोस्, डस्बिन राख्नुहोस् भन्ने गरेका छौँ,’ उनले भने। यातायात व्यवस्थापनमा सरकारदेखि उपभोक्तासम्म कसैले पनि वास्ता नगर्दा समस्या आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयकुमार स्वारले बताए ।

‘यातायात व्यवस्थापनका लागि एकपक्ष लागेर मात्र हुँदैन, यात्रु, चालकदेखि लिएर सरकार स्वयम एकजुट भएर लाग्नु पर्छ।’ उनले भने, ‘व्यवस्थित तरिकाले यात्रा गर्नुको साथै सफा गर्नुपर्छ भन्ने धारणा विकास गर्नुपर्छ, परम्परागत सोचाइबाट मुक्त हुनु पनि जरुरी छ ।’ यात्रुले पनि यात्राको समयमा खाँदा भएको फोहोर गाडीभित्रै फाल्ने, नयाँ सिट देखेपछि कोट्याउने, च्यात्ने बानी हटाउनु जरुरी छ । यातायात जस्तो क्षेत्रमा व्यवस्थापनका निम्ति सरकारबाट खासै महत्व नदिइएको भन्दै स्वारले चिन्ता व्यक्त गरे ।

‘उपत्यकामा भएका सवारी साधनहरूको व्यवस्थापन नगरी अन्य गाडी थप्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा कुन रुटमा कतिवटा गाडी चलाउन सकिन्छ भनेर अध्ययन गर्न सकिन्छ तर त्यो भएको छैन ।’ नियम कानुन धेरै बने पनि कार्यान्वयन हुन नसकेको भन्दै उनले दुख प्रकट गरेका छन् । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा हुने समस्याहरूको समाधान गर्ने हेतुले अनुगमन गर्ने गर्दछ तर प्रभावकारी भएको देखिँदैन ।

साउन १ गतेभित्रमा नीति तथा कानुुन निर्माणको काम सक्ने लक्ष्य रहेको उनले बताए । ‘कानुनपश्चात हाम्रो काम भनेको सार्वजनिक यातायातका क्षेत्रमा नीतिगत रूपमा व्यवसायीलाई सुझाव दिने हो,’ उनले भने । यातायातको समस्यालाई गम्भीर रूपमा लिनुको सट्टा सामान्य रूपमा लिएको देखिन्छ । स्थानीय तहबाटै फोहोर गर्नुहुँदैन भनेर सर्वसाधारणमा चेतना फैलाउनुका साथै सरकारी निकायले पनि यातायात क्षेत्रका समस्याहरू पहिचान गरी समयमा नै समाधान गर्नतर्फ लाग्नु जरुरी देखिन्छ ।

के भन्छ कानुन ?

सवारी दुर्घटना रोकथाम गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढङ्गबाट यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउनका लागि विभिन्न ऐन बनाइएको छ। यातायात व्यवस्थापन ऐनको दफा ७४ अन्तर्गत ‘बाटो निर्धारण गर्ने व्यवस्था’ रहेको छ, जसमा विभागले उपयुक्त देखेको ठाउँमा आवश्यकताअनुसार सार्वजनिक सवारीलाई यातायात सेवा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।

त्यसैगरी दफा १०२ अन्तर्गत , ‘सिटभन्दा बढी यात्रु राख्न नपाउने’ नियम उल्लेख गरिएको छ। जसअन्तर्गत, यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ताको प्रमाणपत्रमा लेखिएको सीट सङ्ख्याभन्दा बढी यात्री राखी चलाउन नहुने व्यवस्था छ । यस्तै दफा १०७ अन्र्तगत, ‘सिट सुरक्षित राख्नु पर्ने’  उल्लेख छ । जसको उपदफा १ मा स्थानीय बाटोमा चल्ने यात्रुबाहक सार्वजनिक ठूला सवारीमा चारवटा सिट, अशक्त व्यक्तिका लागि दुईवटा सिट महिलाहरूका लागि सुरक्षित राख्नु पर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनुपर्ने व्यवस्था छ ।

दफा १०९ मा ‘अनुचित व्यवहार गर्न नहुने’ उल्लेख गरिएको छ, जसमा कसैले पनि यात्रु, चालक, परिचालक तथा सुरक्षाकर्मीसँग अनुचित व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ ।दफा ११५, मा ‘सवारीको गति निर्धारण’ उल्लेख गरिएको छ । जसको उपदफा १ अन्र्तगत, विभागले कुनै पनि सार्वजनिक स्थानमा सवारीको गति निर्धारण गर्न आवश्यक देखिएमा सो स्थानमा गति निर्धारण गरी सोभन्दा बढी गतिमा सवारी चलाउन निषेद गर्न सक्नेछ । यसरी गति निर्धारण गरिएको स्थानमा निर्धारित गतिभन्दा बढी बेगले सवारी चलाउन हुँदैन भन्ने व्यवस्था छ ।

त्यसैगरी दफा १५७ अन्र्तगत, ‘यातायात निरीक्षकको नियुक्ति’ उल्लेख गरिएको छ, जसमा सम्बन्धित ऐन , नियमको अधीनमा रही सार्वजनिक यातायातहरूले सवारी साधन चलाएको वा नचलाएको अथवा सर्तहरू पुरा गरे नगरेको जाँच गर्न सरकारले यातायात निरीक्षक नियुक्त गर्न सक्ने व्यवस्था छ । सार्वजनिक यातायातमा देखिएका समस्याहरूलाई समााधान गर्न भन्दै सरकारले डेढ वर्षअगाडि सिन्डिकेटको अन्त गर्ने घोषणा गरेको थियो । सोअन्तर्गत केही समितिहरू कम्पनीमा परिणत भए पनि सार्वजनिक यातायातको क्षेत्रमा भने कुनै पनि किसिमको सुधार देखिएको छैन ।

व्यवसायीको दवावमा सार्वजनिक यातायातको भाडा बढाउन तम्तयार सरकारले यि विषयमा चाहिं किन अनुगमन गरेर दोषीलाई कार्वाही गदैन् । विहिवार नै व्यवसायीको दवावमा सरकारले गाडी भाडा वृद्धि गरेको थियो तर प्रधानमन्त्री कार्यालयको दवावमा त्यसलाई तत्काल नै फिर्ता लियो । यातायात क्षेत्रमा रहेका यति धेरै समस्या सुधार गर्ने दायित्व पक्कै पनि सरकारी निकायको हो । यातायात व्यवसायीले एक पटक गाडी किनेर दशकौसम्म त्यसलाई मर्मत नगरी कुदाएर करोडौ रुपयाँ खर्च गर्ने तर यात्रुको सुविधाको लागि पनि खर्च नगर्ने यो परिपाटीको अन्त कहिले होला ?

Facebook Comments