भयावह बन्दै डढेलो : तीन महिनामा सुदूरपश्चिमा ८६ हजार हेक्टरमा क्षति

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा डढेलोले करिब ८६ हजार हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ।

चैतदेखि जेठ अन्तिमसम्म लागेको डढेलोबाट ८६ हजार १ सय १ हेक्टर वन क्षेत्र प्रभावित भएको हो। ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको ८ जिल्लाका वन क्षेत्रमा डढेलो लागेको प्रदेश वन निर्देशनालय, सुदूरपश्चिमका निर्देशक हेमराज विष्टले जानकारी दिए।

डढेलोले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको वन क्षेत्र बढी प्रभावित भएको उलने बताए। उनका अनुसार कैलालीमा ८० हजार हेक्टर, कञ्चनपुरमा १ हजार ४ सय हेक्टर, डडेल्धुरामा २ हजार हेक्टर र बझाङमा १ हजार ३ सय हेक्टर वन क्षेत्रमा डढेलो लगेको थियो।

त्यस्तै बैतडीमा १ हजार हेक्टर, डोटीमा १ सय ५० हेक्टर, बाजुरामा १ सय २५ हेक्टर र अछाममा ७६ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पुर्‍याएको छ। ‘यस वर्ष दार्चुलामा समय समयमा पानी परेकाले आगलागी भएन,’ उनले भने,‘अहिले सबै जिल्लाका वनमा लागेको डढेलो निन्त्रणमा छ ।’ कैलालीमा वैशाख अन्तिम सातादेखि सुरु भएको आगलागीले ४५ प्रतिशत वन क्षेत्रमा क्षति पुगेको कैलालीका वन डिभिजन अधिकृत रामचन्द्र कँडेल बताउँछन्। ‘चुरे क्षेत्रमा डढेलो बढी लाग्यो, भिरालाे वन क्षेत्रमा आगलागी भएकोले समयमा आगो नियन्त्रणमा लिन सकिएन्, त्यसैले बढी क्षति पुग्यो,’ उनले भने, ‘ वन जङ्गलभित्र घाँस दाउरालगायत विभिन्न कामका लागि जाने व्यक्तिहरूले वनमा आगो सल्काउने गरेको पाइयो, चेतनाको अभाव देखियो।’ चेतनाको अभावमा लाग्ने डडेलो रोक्न जनचेतनाका कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्दै आएको उनले बताए। उनले भने,‘जनचेतनामूलक कार्यक्रम प्रत्येक वर्ष गर्दै आएकाछौँ, घाँस पलाउँछ भन्दै जानीजानी वनमा आगो लगाउने गरेका छन् ।’

कञ्चनपुरमा चैतदेखि सुरु भएको वन डढेलोले गत वर्षको तुलनामा बढी क्षति गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका रेन्जर शिवराज अवस्थीले जनाए। ‘गत वर्षको तुलनामा यस वर्ष २ सय हेक्टर बढी वन क्षेत्रमा डढेलो लाग्यो, चुरे क्षेत्र, ब्रह्मदेव र लालझाडी मोहना संरक्षित क्षेत्रमा आगलागीले बढी क्षति पुग्यो, समयमा पानी नर्पनाले बढी आगलागी भयो,’ उनले भने।

सामुदायिक वन र अन्य सरोकारवालाको सक्रियतामा चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा ल्याएको उनले बताए। ‘चुरे क्षेत्रमा हुने आगलागी नियन्त्रण गर्न समस्या हुन्छ, निरन्तरको सिकाइले यस वर्ष चुरे क्षेत्रमा लागेको आगो समयमा नियन्त्रण गर्न सफल भयौँ,’ रेन्जर अवस्थीले भने। डिभिजन वन कार्यालय कञ्चनपुरले डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष समुदायलाई औजार तथा लुगा कपडा वितरण गर्ने गरेको छ। गत वर्षको तुलनामा बैतडी जिल्लाका वन क्षेत्रमा डढेलोले कम क्षति भएको डिभिवन वन अधिकृत केशव पराजुलीले बताए।

‘गत वर्ष १५ सय हेक्टरमा क्षति भएको थियो, यो वर्ष प्रकृतिले साथ दियो, १ हजार वन क्षेत्रमा मात्र क्षति पुग्यो,’ उनले भने,‘ वनमा हुने आगलागी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।’ बाजुरा जिल्लाका वनमा ३/४ वर्षपछि डढेलो लगेको बाजुराका वन डिभिजन अधिकृत भीमप्रसाद कँडेलकाे भनाइ छ ।  ‘लामो सयमपछि वन क्षेत्रमा आगलागी भएको हो, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र सामुदायिक वनका कर्मचारीको सहयोगमा समयमै डढेलो नियन्त्रणमा लियौँ, धेरै क्षति हुन पाएन,’ उनले भने, ‘वनमा घास काट्नेहरूले आगो लगाउने गरेका छन् ।’ डडेल्धुरामा गत वर्षको तुलनामा डढेलोले वन क्षेत्रमा बढी नोक्सानी गरेको डडेल्धुराका डिभिजन वन अधिकृत विष्णुप्रसाद आर्चायले बताए । उनका अन्ुसार गत वर्ष डढेलोबाट डडेल्धुरामा करिब १५ सय हेक्टरमा क्षति पुगेको थियो । ‘वन डढेलोको मुख्य कारण समयमा पानी नर्पनु हो, चुरे क्षेत्रमा बाख्रा पालन गर्ने व्यक्तिहरूले घास पलाउने आसमा आगो लगाउने गरेका छन्,’ उनले भने, ‘यस वर्ष चुरे क्षेत्रमा बढी डढेलो लागेको थियो, भिरोलो जग्गा भएकाले समयमा आगो नियन्त्रणमा लिन सकिएन, त्यसैले बढी क्षति भयो ।’

अछाम जिल्लामा वन डढेलोबाट गत वर्षको भन्दा कम क्षति भएको डिभिजन वन कार्यालय अछामका रेन्जर विमल चन्दले बताए । उनका अनुसार गत वर्ष करिब १ सय हेक्टर बनमा डढेलोबाट क्षति पुगेको थियो । ‘समय समयमा पानी पर्नाले धेरै डढेलो लगेन, ७७ हेक्टर वन क्षेत्रमा मात्र डढेलो लागेको थियो,’ उनले भने ।

बझाङमा पनि गत वर्षको तुलनामा डढेलोबाट वन क्षेत्र कम प्रभावित भएको डिभिजन वन कार्यालय बझाङका साहायक वन अधिकृत कर्णबहादुर खातीले जानकारी दिए। ‘गत वर्ष १५ सय हेक्टर वनमा क्षति पुगेको थियो, यस वर्ष १३ सय हेक्टरमा डढेलोले क्षति गर्‍यो,’ उनले भने, ‘सडक सफा गर्ने व्यक्ति र बालबालिकाले खेल्ने क्रममा जङ्गलमा आगो लगाउने गरेका छन् ।’ दार्चुला जिल्लाका वनमा २०७३ सालदेखि डढेलो नलागेको डिभिजन वन कार्यालय दार्चुलाका रेन्जर रणेन्द्र सिंहले बताए । ‘यस वर्ष मौसमले साथ दियो, समय समयमा पानी पर्‍यो, वन जङ्गल सुख्खा हुन पाएन,’ उनले भने। डोटीमा डढेलोले १ सय ५० हेक्टर वनमा नोक्सानी पुगेको डिभिजन वन कार्यालय डोटीका रेन्जर सुरेश रोकाया बताउँछन्। उनका अनुसार गत वर्ष डढेलोबाट डोटीको करिब १ सय हेक्टर वनमा क्षति पुगेको थियो। ‘यस वर्ष समयमा पानी नर्पनाले अलि बढी क्षति भयो, सडक सफा गर्ने, खरबारीमा आगो लगाउने व्यक्तिका कारण वनमा डढेलो लाग्ने गरेको छ,’ उनले भने ‘वन डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ।’ वन क्षेत्रमा भएको आगलागीले साना ठूला रूखहरूसमेत जलेर नष्ट भएको प्रदेश वन निर्देशनालयले जनाएको छ। वन डढेलोले वन्यजन्तु र पक्षीहरूको बासस्थानसमेत असर गरेको छ।

Facebook Comments