किन मर्दैछन् चितवनका गैँडा ?

चितवन –चोरी सिकारलाई गैँडा संरक्षणको मुख्य समस्या ठानेर त्यही अनुसारको नीति तय गर्दा पछिल्ला वर्षहरूमा सिकारीले गैँडा मार्ने क्रम कम भएर गयो । तर दुखको कुरा, अन्य कारणले गैँडा मर्ने दर भने ह्वात्तै बढ्दा गैँडा संरक्षण अभियानमा कहाँ गल्ती कमजोरी वा लापरवाही भयो भनेर खोतल्नु पर्ने बेला आएको छ । चालु आर्थिक वर्षमा चोरी सिकारीका कारण गैँडा मरेका छैनन् । तर अन्य कारणले मरेका ४१ वटा गैँडा फेला परेपछि यसले धेरैलाई झस्क्याएको छ ।

वि.स २०६७ सालको पुस १९ पछि चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चोरी सिकारका कारण कुनै पनि गैँडा नमरेको भन्ने दावीका साथ ६८ सालको पुस २३ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन निकुञ्जको पूर्वी सेक्टर कार्यालय रहेको सौराहामा पहिलो ‘शून्य सिकार’ वर्षको भव्य कार्यक्रम ग¥यो । चोरी सिकार नियन्त्रणमा आए पनि ती वर्षहरूमा प्राकृतिक कारणबाट हुने गैँडाको मृत्यु भने बढ्दै थियो । शून्य सिकार मनाइरहँदा त्यही वर्ष प्राकृतिक कारणले मर्ने गैँडा १२ वटा थिए । अघिल्लो वर्ष १४ थिए ।

शून्य सिकारको भव्य कार्यक्रममा प्राकृतिक कारणले मर्ने गैँडाका विषयमा सामान्य मात्रै चर्चा भयो । पत्रकारहरूले सोधेपछि उत्तर दिनका लागि मात्रै अधिकारीहरूले गैँडाको प्राकृतिक मृत्युका बारेमा टिप्पणी गरेका थिए । त्यो बेला प्राकृतिक मृत्युलाई चुनौती ठानिएको थिएन । एक पटक शून्य सिकार वर्ष मनाएपछि पटक पटक शून्य सिकार वर्ष मनाउने चलन बस्यो । सुरक्षा पोष्ट बढाउने, गस्ती र अप्रेशन महाहन्ट जस्ता विशेष गस्ती बढाउने अभियान जोड तोडका साथ चल्यो ।

यस्ता अभियानले गैँडा सिकारलाई छिटपुट हुने घटनाका रूपमा सीमित गरायो । तर अन्य कारणले मर्ने गैँडाको ग्राफ भने निरन्तर उकालो लाग्यो । अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको संख्या २६ पुग्यो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ४१ वटा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपालबहादुर घिमिरेले जानकारी दिए । मरेका गैँडाका खाग र खुर फेला परेका छन्, त्यसैले चोरी सिकारीले नमारेको पक्का भयो । तर यति धेरै गैँडा एकै वर्षमा मरेपछि निकुञ्जमा तरङ्ग ल्यायो ।


सुनुवाई नभएको समस्या :

चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल चोरी सिकारबाहेकका मुद्दामा संवेदनशील नहुँदा अहिलेको अवस्था आएको बताउँछन् । ‘चोरी सिकारीले नमारे पनि अन्य कारणले गैँडा मर्दैछन् भनेर मैले पटक पटक आवाज उठाउँदै आएँ । तर बेलैमा यो कुरा कसैले सुनेनन्’ मल्लले भने । मल्लले गैँडाको बासस्थान व्यवस्थापनमा ध्यान दिन आवाज उठाउँदै आएका थिए । निकुञ्जभित्रका गैँडाले चर्ने घाँसे मैदान, पानी खाने पोखरी र आहाल खेल्ने घोलहरू घट्दै र सुक्दै थिए ।

‘पछिल्ला वर्षमा गैँडाको संख्या बढ्दै जाँदा घाँसे मैदान र घोलहरू घट्न थालेका थिए । यसमा पर्याप्त ध्यान दिन सक्नु पर्दथ्यो’ अध्यक्ष मल्ल भन्दछन् । निकुञ्जमा घाँस र पानीको अभाव हुँदा गैँडा निकुञ्जभन्दा बाहिर आउन थाले । जङ्गल मात्रै नभएर बस्तीमा नै गैँडाको ओहोर दोहोर हुन थाल्यो । गैँडाले स्थानीयको खेती नष्ट गर्न थाले । पछिल्ला वर्षहरूमा खेती जोगाउन स्थानीयले थापेको धरापमा परेर गैँडा मर्न थाले । निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष ०७२-७३ मा बाली जोगाउन स्थानीयले थापेको धरापमा परेर तीन गैँडा मरे ।

चोरी सिकार रोकिएको थियो तर धान बाली, मकै बाली केरा खेतीलगायतका बाली जोगाउन गैँडा आउने बाटोमा विजुलीको नाङ्गो तार राख्दा गैँडा मर्ने घटनाहरू हुन थाले । ‘जङ्गलमा राम्रो चरन नभएपछि गाउँको कलिलो मकै, गहुँ खान गैँडा आउने गरे’ मध्यवर्ती अध्यक्ष मल्लले भने । चरन र घोल अभाव भएपछि जङ्गलभित्र पनि जुधेर गैँडा मर्न थाले । शून्य सिकार अभियान चलाएर सुरक्षा व्यवस्था मजबुद बनाउँदै जाँदा गैँडा संरक्षणमा जोडिएको यो महत्वपूर्ण पाटोमा कमै ध्यान गएको देखिन्छ ।

मल्लले भने जस्तै, बेलैमा घाँसे मैदान व्यवस्थापन र घोलहरूको सुधारमा ध्यान दिएको भए गैँडा जोगिने थिए त ? गैँडाको मृत्यु विवरण हेर्दा मल्लको तर्क सत्य नजिक छ । चितवन निकुञ्जबाट प्राप्त विवरणअनुसार यो वर्ष मृत भेटिएका ४१ गैँडामध्ये ३२ वटा निकुञ्ज सीमाभित्रै मरेका थिए । मध्यवर्ती क्षेत्रमा सातवटा र २ वटा गैँडा जिल्ला वन क्षेत्रमा मृत भेटिएको सूचना अधिकारी गोपलबहादुर घिमिरेले बताए । घिमिरेका अनुसार बुढा भएर मरेका जम्मा ६ वटा गैँडा छन् । जुधेर मर्ने आठवटा थिए भने २१ वटा गैँडाको कङ्काल मात्रै भेटियो ।

गैँडाको मृत्यु भएपछि अध्ययन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको टोलीका सदस्य रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ अधिकारी नरेश सुवेदीका अनुसार कुनै रोगको महामारी आएर चितवनमा गैँडा ह्वात्तै मरेका भने हैनन् । मरेका दुईवटा गैँडामा मात्रै भित्री अङ्गमा सङ्क्रमण देखिएको छ । जुधेर मरेको भनेर पहिचान भएका आठवटा गैँडा भए पनि कङ्काल भेटिएका २१ मध्ये अधिकांश गैँडा जुधेर मरेको हुन सक्ने विज्ञहरूको भनाइ छ । घाँस र घोल कम हुँदा गैँडाहरू जुध्ने समस्या आउँछ । त्यसैले बासस्थान व्यवस्थापनमा कमजोरी हुँदा गैँडा मरेको हुन सक्ने धेरैलाई लाग्छ तर यस विषयमा गहिरो अध्ययन भने भएको छैन ।

बल्ल घोल र घाँसे मैदनमा ध्यान :

गैँडाको प्राकृतिक र अस्वभाविक मृत्यु ह्वात्तै बढेर चर्चा चुलिन थालेपछि निकुञ्ज प्रशासनले यो वर्ष घोल र घाँसे मैदान व्यवस्थापनमा बढी ध्यान दिएको छ । निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार यो वर्ष दुई सय हेक्टर घाँसे मैदान व्यवस्थापन हुँदै छ । त्यसै गरी ७० वटा घोल र पोखरीहरू निर्माण र सुधार हुने छन् । अघिल्लो वर्षसम्म १०-१५ वटा पोखरी मात्रै सुधार हुने गरेको उनले बताए । घिमिरेका अनुुसार यो वर्ष घाँसे मैदान र पोखरीका लागि डेढ कारोड रुपैयाँ बजेट खर्च हुने छ । अघिल्लो वर्ष १०-१५ लाखको हाराहारीमा खर्च हुने गर्दथ्यो । बजेट र क्षेत्र बढेको हुँदा बासस्थल सुधारमा केही प्रभावकारी काम हुने देखिन्छ ।

फरक कार्यक्रमका लागि चितवन आएका बेलामा वैशाख १६ मा सौराहामा भेटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ अधिकृत नरेश सुवेदीले अब गैँडा नमर्लान कि भन्ने आशा व्यक्त गरे । निकुञ्ज घुम्न जाँदा ठाउँ ठाउँमा तालहरू बनेको र त्यहाँ गैडाहरू मज्जाले आहाल खेलेको देखेको हुँदा जुध्ने र मर्ने क्रम रोकिने उनले बताए । गैँडाहरू जुधेमा घाउ हुने र घाउमा सङ्क्रमण भएर मृत्युसमेत हुन सक्छ । गैँडा जुधेर मात्रै मरेनन् कि भन्ने तर्क पनि नउठेको होइन ।

चितवन निकुञ्जमा अघिल्लो वर्ष आएको बाढीको असरले पनि गैँडा मरेको हुन सक्ने बताइन्छ । यसका साथै कंकाल मात्रै भेटिएका कारण अघिल्लो वर्षहरूमा नदेखिएका मृतक गैँडा योपटक फेला पर्दा मृत्यु संख्या अस्वभाविक लागेको अधिकारीहरूको तर्क छ । चितवनमा अहिले गैँडाको संख्या अत्याधिक छ । देशभर ६४५ गैँडा रहेकोमा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा मात्रै ६०५ गैँडा छन् । ५६ सालमा पनि २६ को हाराहारीमा गैँडा मरेको देखिन्छ । त्यो बेला गैँडाको संख्या अहिलेको भन्दा कम थियो । तर चोरी सिकार रोकिएको बेलामा बढेको अस्वभाविक मृत्युले धेरैलाई चिन्तित बनाएको छ ।

चोरी सिकार विरुद्ध निकुञ्ज प्रशासन निकै कडा रूपमा प्रस्तुत हुँदै गएको छ । निकुञ्जभित्र सुरक्षा पोष्ट र सुरक्षा गतिविधि बढेका छन् । गस्तीमा आधुनिक यन्त्र उपकरणहरूको प्रयोग बढेको छ । सिकारीहरू धमाधम समातिएका छन् । सजायँ पनि बढेको छ । पहिला एक लाख रुपैयाँसम्म जरिवाना हुने गरेकोमा अहिले १० लाख रुपैयाँ पुगेको छ । १५ वर्षसम्म कैद हुने गर्छ । निकुञ्जले फरार रहेका खुँखार सिकारीहरूलाई विदेशबाट समेत समाएर जेलमा पु¥याएको छ । तर बासस्थल व्यवस्थापनमा पर्याप्त ध्यान नपुग्दा गैँडाको मृत्यु भने रोकिएन ।

‘यो वर्ष वासस्थान व्यवस्थापनमा केही राम्रा कामहरू भएका छन् ।आशा गरौँ त्यसको प्रभाव पर्ला र आउँदो वर्ष गैँडाको अस्वभाविक मृत्यु कम हुने छ । तर अहिले भएको काम पनि पर्याप्त छैन । अलि बढी ध्यान दिनु पर्ला’ भन्ने मध्यवर्तीका अध्यक्ष मल्लको माग छ । एकसिँगे गैँडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । यो गैँडा प्राकृतिक बासस्थलमा हाल नेपाल र भारतमा मात्रै पाइन्छ । यसको संख्या तीन हजारको हाराहारीमा रहेको छ । तस्करहरूले गैँडाको नाकमाथि हुने सिङ्ग जस्तै वस्तु खागका लागि गैँडा मार्ने गर्दछन् । नेपालमा अहिले खागका लागि गैँडा मार्ने क्रम नियन्त्रणमा आएको छ । तर गैँडाको खाना र पानीको उचित व्यवस्थापन नहुँदा यो दुर्लभ वन्यजन्तु खतरामा छ ।

Facebook Comments