गर्मीले विहारमा ४३ जनाको मृत्यु

विहार– भारतको विहारमा ‘लू’का कारण ४३ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यम न्यूज अन एअरका अनुसार २४ घण्टामा ४३ जनाको मृत्यु भएको हो। ७० जना भन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गर्मीका कारण पटना र भागलपुर जिल्ला प्रशासनले सरकारी र निजी स्कूलहरू यो महिनाको १९ तारीख सम्म वन्द गर्न आदेश दिएको सो सञ्चार माध्यमा उल्लेख गरिएको छ। साथै विहानको समयमा मात्रै विद्यालय सञ्चालन गर्न आदेश जारी गरेको छ।

यसैबीच, मुख्यमन्त्री नीतीश कुमारले सम्बधित निकायहरूलाई ‘लू’ बाट प्रभावित भएका मानिसहरूलाई उपचारको लागि सबै सुविधा निशुल्क उपलब्ध गराउन निर्देशन दिएका छन्। साथै उनले मृतक परिवारलाई चारलाख रूपैयाँ दिने घोषणा गरेका छन्।

स्वास्थ्य विभागको क्षेत्रीय निर्देशकको नेतृत्वमा एक टोली प्रभावित क्षेत्रका विवरण संकलन गरिरहेको छ। मौसम विभागले अबको दुई दिनसम्म प्रचण्ड गर्मी नै रहने अनुमान गरेको छ।

भारतको आपद प्रबन्धन विभागले ‘लू’को स्थितिलाई मध्यनजर गर्दौ उक्त क्षेत्रको स्थानीयहरूलाई दिनको समयमा घरभित्रै बस्न आग्रह गरेको छ।

त्यसैगरी, उत्तर प्रदेशमा पनि ‘लू’ को प्रकोप जारी छ । राज्यको प्राय भागमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस रहेको जनाइएको छ। प्रयागराज प्रदेशमा शनिबार तापक्रम ४७.४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।

Facebook Comments