विकराल बन्दैछ मरुभूमिकरण र खडेरीको जोखिम

प्रत्येक वर्ष जुन १७ लाई मरुभूमिकरण र खडेरीका विरुद्ध संघर्ष गर्ने दिनका रुपमा विश्वभर नै मनाइन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९४ मा भएको महासभाले यो दिवस मनाउने निर्णय गरी सन् १९९५ देखि नियमित रुपमा मनाउन सुरु गरिएको हो।

लेखक : रामचन्द्र अधिकारी

यस पटक रजत वर्षका रुपमा यो दिवस संसारभर मनाइँदैछ। टर्कीमा यस विषयमा विश्वव्यापी औपचारिक कार्यक्रम हुँदैछ। मरुभूमिकरण,जलवायु परिवर्तन र जैविक विविधताको क्षति। यी तीन विषयहरू दीगो विकासका ठूला चुनौती भएको भन्दै सन् १९९२ को पृथ्वी शिखर सम्मेलनमा यस विषयमा जोडदार आवाज उठेको थियो।

आजसम्म आइपुग्दा वास्तवमै यी तीन वटै विषयले विश्व समुदायलाई ठूलै चुनौती दिइरहेका छन्। संयुक्त राष्ट्रसंघले १९९४ मा यस विषयलाई वास्तवमै गम्भीर रुपमा लिएर यसलाई हेर्ने गरी एउटा विभाग नै स्थापना गर्‍यो जसलाई युएनसीसीडी भनिन्छ। यसले मरुभूमिकरण न्यूनिकरणका लागि पाँच वटा मूल धारणा अघि सारेको थियो। ती हुन्– वनजंगलको पुनःस्थापना, पानीका स्रोत संरक्षण,माटोको सुरक्षा,माटोको उर्वराशक्तिको उन्नयन र किसानमैत्री प्राकृतिक पुनर्निर्माण।

प्रयास त्यसवेलादेखि नै सुरु भएपनि स्थितिमा अहिलेसम्म उल्लेखनीय सुधार आएको छैन्। यी र यस्ता प्रयासले मरुभूमि बन्ने र खडेरी लाग्ने क्रम रोकिएको छैन र कम गर्न पनि सकिएको छैन। आज यस पृथ्वीको कुल जमिनको एक तिहाइ भाग मरुभूमिले ओगटेको छ । खास जो पहिल्यै मरुभूमि थिए,ती भूभाग देखी गुनासो होइन, तर पछि मरुभूमि बन्ने क्रम तिव्र गतिमा आयो यो चाहिँ आजको चुनौतीपूर्ण सवाल हो । मरुभूमि मुलतः पाँच वटा कारणले बनिरहेको छ। गरिबी, राजनीतिक अस्थिरता,अवैज्ञानिक सिँचाइ प्रवृति, औधि चरिचरण र अवैज्ञानिक खेती प्रणाली पाँच कारण हुन् । छैटौँ कारण जलवायु परिवर्तनलाई लिन सकिन्छ । नेपालमा भने सातौँ कारण पनि जल्दोबल्दो रुपमा आएको छ । त्यो हो–हिउँ पग्लिनु । हिउँ पग्लिएर नेपालको धेरै भूभाग मरुभूमिमा रुपान्तरण हुँदैछ । यसरी बनेको मरुभूमिको अर्को फरक विशेषता छ – चिसो । मरुभूमि भन्नाले गर्मी हुने ठाउँ बुझिन्छ तर नेपालमा भने जाडो हुने वा चिसा मरुभूमि बन्दैछन्। डोल्पा,मनाङ र मुस्ताङमा मात्र दशक अघि नै १० हजार वर्गकिलोमिटर क्षेत्रफल भएका चिसा मरुभूमिहरुको पहिचान भइसकेको छन्।

उल्लेखित कारणले मरुभूमि बन्ने र खडेरी पनि लाग्ने स्थिति सिर्जना भइरहँदा सन् २०२५ सम्ममा करिब एक अर्ब ८० करोड लाख मानिस पानीको प्रत्यक्ष अभावको शिकार बन्ने विभिन्न अध्ययनले देखाएका छन् । संसारको कुल जनसंख्याको करिब एक तिहाइले पानीको अभाव महसुस गरिरहेको छ। एक अध्ययनका अनुसार सन् २०४५ सम्ममा १३ करोड ५० लाख मानिसले मरुभूमिकरणका कारण अहिले उपभोग गरिरहेको थातथलोबाट विस्थापित हुनुपर्नेछ । यस वर्ष मनाइरहिएको यो दिवसको नारा ‘सबै मिली असल भविष्य तयार गरौँ’ भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघले निर्माण गरेको मरुभूमिकरण तथा खडेरीसँग लड्ने एजेन्डाको पक्षमा एक सय ९७ राष्ट्रहरु उभिएका छन् । नेपालले पनि यो एजेन्डामा हस्ताक्षर गरिसकेको छ।

नेपालको सवालमा चिसो मरुभूमि बन्ने क्रम त तिव्र गतिमा चलिरहेको छ किनकि जलवायु परिवर्तन र भूउष्णिकरणको शिकार हिमाल भएका छन्। हिमालको हिउँ पग्लिँदै जाँदा चट्टानी मरुभूमिहरु बनेका हुन्। अर्कातिर भूक्षयले मरुभूमि बनाउँदै छ। जस्तै कि प्रत्येक साल नेपालबाट २४ करोड क्युबिक मिटर उर्बर माटो बगेर भारततिर गइरहेको छ। मरुभूमिकरणको यो ज्वलन्त प्रमाण हो । साथै, पहाडमा क्षयीकरण भएर तराईका नदीहरुको पीँध उक्सिने क्रम उत्तिकै बढिरहेको छ। एक अध्ययनले भनेको छ– प्रत्येक वर्ष १० देखि ३० सेन्टीमिटरका दरले तराईका खहरे नदीको पीँध माथितिर आइरहेको छ। यसले गर्दा नदीको बाढी जमिनमा फैलिएर त्यसलाई पनि बगर वा मरुभूमि बनाउँछ । यति धेरै माटो नष्ट हुनु राम्रो संकेत होइन्। किनकि अढाइ सेन्टीमिटर माटो बन्नका लागि पाँच सय वर्ष लाग्छ । माटोमा भएको उर्वराशक्तिलाई जोगाउन नसक्नु पनि मरुभूमिकरणको एउटा सहायक कारण रहेको छ। नेपालको सन्दर्भमा १८ लाख मेट्रिक टन माटोमा रहेको उर्वर तत्व प्रत्येक साल नाश भएर गइरहेको छ।

रेउटर्स भन्ने संस्थाले भनेको छ – एक अर्ब २० करोड जनसंख्या आज पनि मरुभूमिकरणको जोखिममा जीवनयापन गरिरहेको छ । सुमेरियन र बेब्लोलियनलगायतले त आज होइन उहिलेदेखि खडेरी र मरुभूमिको पीडा सहँदै आएका हुन्। १९६८ भन्दा अगाडिको कुरा हो– पश्चिमी अफ्रिकामा छ वर्षदेखि निरन्तर खडेरी लागेर दुई लाख ५० हजार मानिसले ज्यान गुमाएका थिए । सो खडेरीका कारण मर्ने पशुको लेखाजोखा छैन्।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम(युएनइपी)का अनुसार अफ्रिकाको दुई तिहाइ, संयुक्त राज्य अमेरिकाको एक तिहाइ,ल्याटिन अमेरिकाको एक चौथाइ र स्पेनक्षेत्रको एक पचांश भाग मरुभूमिकरण र खडेरीको जोखिम र प्रभावमा छ। संसारको १० देखि २० प्रतिशत खेतीयोग्य जमिन बँझिएको अवस्थामा छ। यो पनि मरुभूमिकरणको सामान्य लक्षण हो।

मरुभूमिकरणको पूर्वसंकेतको रुपमा रहेको जमिन क्षयीकरणले अनिकालको संकेत दिइरहेको छ। होला खानेकुरा त यताको उता या उताको यता गरेर खान जोहो गर्लान सरोकारवाला संस्थाहरुले तर क्षयीकरणका कारण स्थानीय पोषणतत्वयुक्त कृषिउत्पादनमा ठूलो ह्रास आउने देखिएको छ। प्रत्येक वर्ष अविकसित देशहरुमा स्थानीय खाद्यन्न उत्पादनमा आठ प्रतिशतले ह्रास आइरहेको तथ्यांक छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्सले यस दिवसको सन्दर्भमा वक्तव्य जारी गर्दै भनेका छन्–‘आज पनि दुई अर्ब जनसंख्या सुख्खाग्रस्त क्षेत्रमा बसोबास गर्छ जसको ९० प्रतिशत चाहिँ विकासशील देशहरुमा पर्छ।’ उनले भनेका छन्– ‘मरुभूमिकरण र खडेरीले दिगो विकास लक्ष्यलाई प्रभाव पार्दछन् । तसर्थ सबैले यस कुराको सामना गर्नुपर्नेछ।’

बढ्दो पहिरो र बाढी, खर्कहरुको दोहन, चिसा मरुभूमिको जन्म, चुरेको विनाश, तराईका नदीको छाडापन, ती नदीको पीँधको उक्सावट आदि नेपालका मरुभूमिकरणका प्रारम्भिक चरणहरु हुन् । खडेरीको प्रकोप पनि यसले नखेपेको होइन । सन् २०१६ फेब्रुअरीको नेचुरल हाजर्ड भन्ने विज्ञान पत्रिकामा पियुष दाहाल र निक्की श्रेष्ठलगायतले लेखेको एक लेखमा भनिएको छ – सन् २००४,२००५,२००६ र २००९ मा वर्षा हुनुपर्ने(मनसुनको) समयमा लामो खडेरी लागेको थियो । त्यसै गरी २००६,२००८,२००९मा भने हिउँदमा लामो खडेरी थियो। उनीहरुले विगत ३२ वर्षदेखिको वर्षा,घाम,गर्मीजस्ता अवयवहरुको विश्लेषण गरी यस्तो प्रतिवेदन तयार गरेका थिए।

विश्व इतिहासमा हेर्दा पृथ्वीमा जीवहरुको वितरण हुने कुरालाई पनि यस्तै खडेरीहरुले ठूलो प्रभाव पारेको देखिन्छ। कुनै स्थानमा लागेको लामो र भयानक खडेरीका कारण त्यहाँका जीवहरु अन्यत्र सरी गएका प्रमाण पाइएका छन्। उष्ण अफ्रिका, पुरानो इजिप्टमा चलेका सयौँ वर्ष लामा खडेरीले ठूलो प्रभाव जमाएको देखिन्छ।

त्यसैगरी मेसोअमेरिका र डस्टबोल खडेरी पनि विश्वविख्यात छन्। सन् १९४१ देखि ४२ सम्म चीनमा लागेको खडेरीले ३० लाख जना मानिसको ज्यान गएको थियो । त्यसैगरी १९८७ को उत्तरी ग्रेट प्लेन्समा मानवीय क्षति कम भए पनि ठूलो आर्थिक क्षति हुने गरी खडेरी लागेको थियो । पछिल्लो चरणमा सिरियामा (सन् २००६ देखि २०१० सम्म) खडेरी लागेको थियो। विनाशकारी मध्येको यो एउटा विश्वमा नाम कमाएको खडेरीका कारण १५ लाख सिरियनहरु गाउँ छोडेर, खेतीपाती र मरेका वस्तुभाउ छोडेर शहर पसेका थिए । त्यहाँ सो समयमा धेरै मानिस पनि मरेका थिए।

एक प्रकारको प्राकृतिक विपत भनौ या नियम भनौ या विधिको विडम्वना, मरुभूमिकरण र खडेरीले आजको विश्वसमुदायलाई चुनौति दिएको छ। जलवायु परिवर्तनको नाटकीय स्वरुपको एउटा उपज पनि मरुभूमिकरण र खडेरी। यसबाट हुने मानवीय तथा अन्य आर्थिक एवम् भौतिक क्षति अतुलनीय र अपुरणीय हुनेछ। तसर्थ यस्ता प्राकृतिक प्रकोप आउन नदिन र आएमा सावधानी अपनाउन आम धराबासीलाई सचेत गराउने उद्देश्य राखेर यो दिवस मनाइएको हो। कम्तीमा यससम्बन्धी सामान्य जानकारीसम्म लिन र बाँड्न सक्नु नै दिवसको सार्थकता मानिने छ।

Facebook Comments