जंगलमा पूर्वाधार : सुनको गजुर मासेर गहना निर्माण

काठमाडौँ – पछिल्ला केही वर्षयता ठूला–ठूला पहाड र जंगललाई मासेर विभिन्न पूर्वाधारहरू निर्माण भइरहेका छन् । कतै केवलकार निर्माण गरिएका छन् त कतै होटल र रिसोर्टहरू। अनि कतै राजनीतिक दवाव र प्रभावका आधारमा विभिन्न धार्मिक संस्थाहरूले पनि जंगल ओगट्ने क्रम निकै बढेको छ।

विकास हुनु आफैँमा नकारात्मक कुरा होइन। तर, कस्तो विकास ? पछिल्लो दशकमा निर्माण भएका ठूला पूर्वाधार निर्माणको अवस्थालाई हेर्ने हो भने संरचना निर्माणले वातावरणमा पर्ने असरका सम्बन्धमा पर्याप्त अध्ययन नै नभई जथभावी निर्माण भइरहेको छ। यति मात्र होइन, वातावरणीय प्रभाव मूल्याङकनका प्रतिवेदनहरू समेत लत्याइएका छन्। पूर्वाधार निर्माण गर्नु हुन्न भन्ने होइन तर वातावरण र जैविक विविधतालाई एकदमै गम्भीर असर गर्ने क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागिएको छ भने अध्ययनपछि त्यसलाई अन्यत्र सार्नुपर्छ। अनि बनाउनु नै पर्ने भएपनि त्यसलाई वातावरणमैत्री बनाउन सकिन्छ।

तर, अहिलेसम्म त्यो अवस्था छैन, विकासलाई वातावरणले निर्देशित गरेको छैन्, कहाँ र कसरी निर्माण गर्ने भन्ने कुरा व्यवसायी र ठूला लगानीकर्ता आफैँले निक्यौल गरिरहेका छन्। तर, उक्त कुराको निक्र्यौल वातावरणीय दृष्टिकोणबाट हुनेपर्नेमा त्यसो भएको पाइदैँन।

पछिल्लो समय अर्काे एकदमै डिस्टर्विङ समाचार सार्वजनिक भएको छ। शिवपुरीको तीनतीर केवलकार निर्माणको लागि लगानीकर्ताले लविङ थालेका छन्। यो त पछिल्लो उदाहरण मात्र हो, पछिल्लो दशकमा हामीले यस्तो समाचार निकै पढ्यौ। काठमाडौँमा बनेको चन्द्रगिरी रिसोर्ट तथा भालेश्वर मन्दिर होस या भक्तपुरको पाइलटबाबा धाम यिनीहरू पनि वन क्षेत्र मै निर्मित संरचना हुन्।

यी बाहेक देशका विभिन्न स्थानमा रहेको वन मासेर रिसोर्ट वा अन्य संरचना बनिरहेका छन् । नेपाली सेना, व्यवसायी तथा विभिन्न लगानीकर्ताहरू यस्तै जंगल तथा वन क्षेत्रलाई नै आफ्नो थलो बनाएर बसिरहेका छन्।

यसरी विकासको नाममा वन मासेर विभिन्न संरचना बनाउँदा वातावरणमा दीर्घकालिन असर पर्ने वातावरणविद् बताउँछन् । वातावरणविद् प्रभु बुढाथोकी विकासका नाममा वन मासिनु भनेको मन्दिरको सुनको गजुर मासेर गहना बनाउनु जस्तै भएको धारणा राख्छन्।

वन क्षेत्रमा विभिन्न संरचना निर्माण हुँदा पानीका मुहान सुक्ने, पहिरो जाने, स्वच्छ हावामा कमी आउने जस्ता समस्या बढ्दै गएको उनको भनाइ छ।

वन मासेर विभिन्न संरचना बनाउँदा आर्थिक हिसावले केही राम्रो भए पनि दीर्घकालिन रुपमा भने त्यसको नकारात्मक असर पर्ने उनको बुझाइ छ। ‘पछिल्लो समय हामीले विकासको नाममा आर्थिक स्वार्थ पूरा गर्न वन मासिरहेका छौँ, यसले तत्काललाई फाइदा देखिएपनि दीर्घकालिन रुपमा भने समाजलाई ठूलो असर पारिरहेको छ,’उनले भने ।

त्यस्तै अर्का वातावरणविद् विनोद भट्ट पनि वन मासेर संरचना बनाउनु भनेको आफ्नै विनाशको संकेत रहेको बताउँछन्। विकास तथा विभिन्न संरचना निर्माणका नाममा वन मास्दै जानु भनेको वातावरण विनाश गर्नु रहेको उनको भनाइ छ। ‘हामी विकास निर्माणका नाममा रूख काटिरहेका छौँ, त्यसको सट्टामा अर्को विरुवा रोप्नु त परै जाओस त्यस स्थानमा कंक्रिटले भरिदिन्छौँ, यसले गर्दा कुन बेलामा कस्तो खाले प्रकोप निम्तिन्छ भन्न सकिँदैन्’, उनले भने, ‘देशको कूल भूभाग मध्ये ४५ प्रतिशत क्षेत्र वनले ढाकेको छ । हामी ‘हरियो वन नेपालको धन’ भन्दै हामी वन जोगाउने नारा लगाउँदै आइरहेका पनि छौँ। तर, सरकारी तथा गैरसरकारी तवरबाट विकासका नाममा भइरहेको वन विनाशतर्फ भने हामीले खासै चासो दिन सकेका छैनौँ ।’

के छ त यसको उपाय ?
विकासका नाममा भइरहेको वन विनाशलाई रोक्न सरकारले वन क्षेत्रमा भइरहेका विभिन्न निर्माण कार्यलाई रोक्नुपर्ने वातावरणविद् भट्टको सुझाव छ । यदि वनभित्रै वा वन क्षेत्रमा कुनै संरचना बनाउनु पर्ने आवश्यकता आएपनि वातावरणमैत्री बनाउन सकिने उनी बताउँछन् । वनमा कंक्रिटको प्रयोग गरेर संरचना निर्माण गर्नुभन्दा पनि ट्रिहाउसको अवधाराणलाई अवलम्बन गर्ने हो भने वन कम मासिने उनको भनाइ छ।

यसका साथै कुनै संरचना बनाउँदा वन क्षेत्रमा भन्दा पनि अन्य कुनै स्थानमा बनाएमा वातावरणीय क्षति कम हुने उनले जनाए।यसका साथै वनलाई व्यवस्थित तवरले संरक्षित गर्नुपर्ने तथा वन मास्नाले हुने क्षतिको विषयमा सोच्नुपर्ने उनको धारणा छ।

अर्का वातावरणविद् बुढाथोकी पनि विकासका काम गर्दा वन क्षेत्रलाई ताक्ने प्रवृति रोक्नुपर्ने बताउँछन्। शहरी क्षेत्र नजिकैका वनमा व्यापार तथा धर्मका नाममा भइरहेको विनाशलाई तत्काल रोक्नुपर्ने उनको सुझाव छ।

यसका साथै वन नमासी आर्थिक स्तर उकास्नका लागि कृषिलाई आधुनिकीकरण गरेर लैजानुपर्ने र वन जंगलभित्र विकासका नाममा भइरहेको रिसोर्ट, तथा अन्य संरचना निर्माणलाई रोक्नुपर्छ।

Facebook Comments