विरूवा रोपेका छौँ भनेर मात्रै वातावरण जोगिदैन्

सम्पादकीय
काठमाडौँ – वातावरण संरक्षण कुनै एक सरकारी निकाय र व्यक्तिको जिम्मेवारी होइन । व्यक्ति, परिवार, समाज र समग्र राज्यको नै दायित्व हो । हामी आफू मात्रै रमाउने होइन, हामीले आगामी पुस्ताका लागि पनि बस्न योग्य पृथ्वी छोडेर जाने हो।

तर जब कुनै व्यक्ति र संस्थाले वातावरण संरक्षणमा चिन्ता व्यक्त गर्छन् , खबरदारी गछनर््, दवाव दिन्छन्, हाम्रा सरकारी निकायले त्यसलाई सकारात्मक रूपमा लिँदैनन् । वातावरण संरक्षणको प्रश्न गर्नासाथ उनीहरू उत्तेजनामा आउँछन् र भन्छन् , ‘हामीले लाखौँ रुख काट्यौँ भने त्यसको बदलामा करोडौँ रुख रोप्छौँ ।’ अनि वातावरण संरक्षणको पर्यावाची बनेको छ, वृक्षा रोपण । कसैले वातावरणको विषय उठाइहालेमा हामी भन्छाँै, ‘वनजङ्गलको क्षेत्र अझ बढेर गएको छ नेपालमा किन चिन्ता गर्नु भएको ?’ अहिले त वातावरण दिवसको दिन विरुवा रोप्ने फेसन नै भएको छ।

प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसम्म रुख रोपेको प्रचार प्रसार गर्छन् र आफूलाई वातावरणप्रति चिन्तित भएको देखाउँछन् । रुख रोप्न देखाइएको तदारुकता आफैँमा सकारात्मक हो र यसले निरन्तरता पाउनुपर्छ । तर, कति रुख रोपियो, कति हुर्किए त्यसको कुनै लेखाजोखा छैन्। अहिले मात्र होइन, धेरै पहिलादेखि नै रुख विरुवा रोप्ने कार्यमा अनियमितता समेत भएका धेरै उदाहरणहरु रहेका छन्।

तर यतिबेलाको सबाल रुख काट्नु र रोपनु मात्र होइन यद्यपी यो महत्वपूर्ण पाटो चाहि हो । वातावरणका अन्य धेरै सबाल छन्। त्यसलाई हामीले बिर्सेका छौँ र सबै समस्याको अचुक औषधि वृक्षारोपण मात्रै ठानेका छौँ। कुरा निजगढ विमानस्थलबाट नै सुरु गरौँ । त्यहाँ विमानस्थल निर्माण गर्दा कति रुख काटिन्छन् ? सङ्ख्याको विषय प्रधान होइन । मुख्य विषय भनेको यसले त्यहाँको जैविक विविधता र वन्यजन्तुमा कस्तो कसर गर्छ र त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने हो। तर, अन्य विषयलाई यसरी उपेक्षित गरिएको छ कि त्यसको सट्टामा अर्काे रुख रोपेपछि सबै समस्याको समाधान भइहाल्छ भन्ने लागेको छ।

दोस्रो, उदाहरणको रूपमा ग्रामीण भेगमा अहिले विकासको नाममा जथाभावी डोजर चलाइएको छ । यस्ता कार्यले त्यहाँको जैविक विविधतामा कस्तो असर गर्छ र त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा कसैको ध्यान पुगेको छैन । जथाभावी डोजर चलाउँदा ग्रामीण भेगमा पानीका मुहान कसरी सुकिरहेका छन् ? त्यो हामी सबैले देखे भोगेको विषय हो ।

यसले स्थानीय वन्युजन्तु र अन्य जनावारहरूलाई कस्तो असर गरिरहेको छ । बाघहरू किन अहिले मानव बस्तीतिर आइरहेका छन् ? हात्तीको आक्रमण किन बढेको छ ? यस्ता विषयमा कसैको पनि ध्यान पुगेको छैन । यति मात्र होइन, स्थानीय खोलाहरूमा जथाभावी करेन्ट र विषको प्रयोग गरेर माछा पार्ने प्रवृत्तिले जलचरलाई गम्भीर असर गरिरहेको छ । सहरको त कुरै छाडौँँ, ग्रामीण भेगका सफा र स्वच्छ पानी बग्ने खोला बिस्तारै ढलमा परिणत भएका छन् । यी र यस्ता विषयमा सरकार गम्भीर बनेको खोई ?

हालै समाचारमा आएको अर्काे विषयबारे चर्चा गरौँ । हिजोअस्ति मात्र एउटा समाचार प्रकाशित भएको छ, शिवपुरीको तिनतीर केवलकार चलाउनको लागि लगानीकर्ता र व्यवसायीले नेताहरूसँग लबिङ् गरिरहेका छन् । यदि समयमा नै यसमा दबाब नदिने हो भने काठमाडौँलाई जोगाउने यो डाँडाको विनाश हुनेछ । यसले काठमाडौँको दुषित हावालाई सोसेर स्वच्छ हावा उत्सर्जन गर्ने मात्र होइन, काठमाडौैँको जलभण्डार नै हो ।

एकातिर काठमाडौँमा भूमिगत पानीका मुहानहरू सुक्दै जानु अर्काेतिर जलभण्डार नै नष्ट गर्नु विनाशलाई आमन्त्रण गर्नु हो । यस अगाडि चन्द्रागिरी डाँडामा केवलकार र अन्य संरचना बनाउँदा त्यसले वातावरणलाई पारेको असरको बारेमा पर्याप्त जानकारी बाहिर आइसकेको छ । हामीले खुलामञ्चको अवस्था पनि देखिसकेका छौँ । रुख रोप्नु सकारात्मक हो तर प्रदूषणका अन्य विषयमा खोइ हाम्रो ध्यान पुगेको खोई ? हाम्रा प्रधानमन्त्री, वनमन्त्री र उपत्यकामा मेयहरूले धेरै पटक काठमाडौँलाई नो मास्क सिटी बनाउने घोषण गरे ।

तर, नतिजा उल्टो निस्कियो, मोर मास्क सिटी । सार्वजनिक यातायायतको अहिलेको अवस्था सुधार नगर्ने, सडकमा धुलो नियन्त्रणका लागि सामान्य कदम पनि नचाल्ने अनि मेसिनले बढारेर प्रदूषण नियन्त्रण गर्छु भन्ने सोचाइले कुनै पनि हालतमा समस्याको समाधान हुँदैन । अहिलेको अवस्था नै कायम रहने हो भने काठमाडौँमा प्रदूषण झन बढ्ने छ, कमी आउने छैन । यति मात्र कहाँ हो र हामीले सोचेभन्दा निकै तीब्र गतिमा हिमालहरू पग्लिरहेका छन् । यसले भोलि हाम्रो नदीको बहाव, सिँचाई र पानीको स्रोतमा कस्तो असर पार्ला ? यसमा अध्ययन गर्न ढिलो भइसकेको छ ।

त्यसैले अहिले देखिएको रुख रोप्न जाँगरलाई निरन्तरता दिँदै वातावरणका अन्य सबाललाई पनि त्यतिकै ध्यान दिन आवश्यक छ । नत्र हामीले कुनै पनि हालतमा वातावरण संरक्षण गर्न सक्दैनौँ । त्यसैले वातावरणका विषय उठान गर्नेहरूलाई विकास विरोधी भन्दै निरुत्साहित गर्नुभन्दा उनीहरूले बोलेका र लेखेका विषयहरू अध्ययन अनुषन्धन गर्दै समाजका हरेक निकायसँग सहकार्य गरेर अगाडि बढ्न ढिलो भइसकेको छ । वर्षको एक पटक दलबलसहित विरुवा रोपेर मिडियामा फोटो छपाएर वातावरण जोगिँदैन। यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयनमा जान ढिलो भइसकेको छ।

Facebook Comments