भारतको चेन्नाईमा पानीको चरम अभाव, रेल्वे स्टेशनदेखि रेष्टुराँसम्म बन्द

चेन्नाई– भारतको दक्षिणी सहर चेन्नाईमा पानीको चरम अभाव उत्पन्न भएको छ।

पानी भण्डारण गरिएका चारवटा प्रमुख जलाशय क्षेत्र पूर्ण रूपमा सुकेपछि पानीको समस्या भएको बिबिसीले जनाएको छ।

अभाव बढ्दै गएपछि शहरमा तात्कालिक समाधानका लागि नयाँ ठाउँहरूमा जमिन खन्ने काम भइरहेको छ। साधै पहिले नै खनिएका जमिनहरूलाई पनि स्थानीयहरू गहिरोगरी खनिरहेका छन्।

अभावका कारण रेष्टुराँ बन्द भएका छन् भने सरकारले ट्याङ्करबाट बाँड्ने पानी लिन सर्वसाधारण घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको छ।

पानी जोगाउनका लागि रेल स्टेशनहरूलाई वातानुकूलित बनाउन बन्द गरिएको छ भने कार्यालयहरूले कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेका छन्।

चेन्नाईको खानेपानी विभागको अधिकारीले बिबिसीलाई भने, ‘हामी पानीको लागि अन्य बैकल्पिक श्रोतहरूको खोजी गरिरहेका छौं। अब वर्षाले मात्रै यो अवस्थाबाट बचाउन सक्छ।’

सन् २०११ को जनगणना अनुसार भारतको छैटौँ ठूलो शहर चेन्नाईले पछिल्ला केही हप्तादेखि पानीको चरम अभाव भोगिरहेको छ।

पानी अभावका कारण स्थानीयवासीबीच झडप भएको छ। प्रहरीले गत हप्ता एक जनालाई पानी बाँडफाँटको विषयमा झगडा परेपछि छिमेकीलाई छुरी प्रहार गरेको आरोपमा पक्राउ गरेको थियो।

चेन्नाईमा मात्र होइन् कावेरीको धरती तंजौरमा पनि पानीको लागि झगडा हुँदा एक जनाको मृत्यु भएको थियो।

अधिकारीहरू हाल पानीको वैकल्पिक स्रोत पत्ता लगाउने प्रयासरत रहेको बिबिसीमा उल्लेख गरिएको छ।

तस्बिरः बिबिसी हिन्दीबाट

Facebook Comments