च्याङ्ग्रा जति हिउँ चितुवाका आहार, कृषकलाई छैन क्षतिपूर्ति

फोक्सुन्डो (डोल्पा)– २८ सय मिटर उचाईमा रहेको शे फोक्सुन्डो गाँउपालिका– ८ र्याचीका भिमप्रसाद गुरुङ्गले च्याङ्ग्रा पाल्न थालेको दश वर्ष बितिसकेको छ। शुरुमा ३५ वटा च्याङ्ग्राबाट शुरु गरेका उनीसँग अहिलेपनि त्यत्ति नै संख्यामा च्याङ्ग्रा छन्।

कारण एउटै छ, हरेक वर्ष स–परिवार एक महिनाका लागि च्याङ्ग्रालाई पाटनमा छोडेर यार्सागुम्बा टिप्न लेकतर्फ लाग्नु। तर, पाटनमा छाडिएका सबै च्याङ्ग्रा मध्ये केही मात्र फिर्ता आउँछन्। त्यहाँ छाडिएका च्याङ्ग्रा मध्ये एक चौथाइ त हिउँ चितुवाको शिकार बन्छन्। तरपनि उनले च्याङग्रा पाल्न छाडेका छैनन्।

तस्वीर : सन्जोग राई/डब्लुडब्लुएफ

उनी त एक प्रतिनिधि पात्र हुन। यहाँका हरेक स्थानीयको समस्या यही छ । ‘च्याङग्रा पालन हाम्रा लागि भन्दा पनि हिउँ चितुवाका लागि भइरहेको छ। हरेक वर्ष यार्सागुम्बाको सिजनमा हामीले हाम्रा पशु हिउँ चितुवाका लागि आहारा बनाउँछौ, गुरुङ्गले हाकाहाकीसँग भने।

त्यसो त अहिले पनि यार्सागुम्बा संकलन गर्ने सिजन शुरु भइसकेको छ । यहाँका स्थानीय लेकमा यार्सागुम्बा खोस्रिन पुगेका छन्। झण्डै असारको २० गतेसम्म उनीहरू माथि नै हुन्छन्। यिनीहरूका पशु चौपाया सबै अहिले पाटनमा छन्। हाकाहाकी संवाददाताले यार्सागुम्बा संकलन खुला हुनु भन्दा अघि यहाँका स्थानियसँग भेटेका थिए।

उनले विगत १० वर्षमा करिब १ सय च्याङ्ग्रा हिउँ चितुवाले खाएको जानकारी दिए । त्यसो त ०७४ मा ५ वटा र ०७५ मा १३ वटा च्याङ्ग्रा हिउँ चितुवाले मारेको गुरुङ्गले जानकारी दिए । ‘हिउँ चितुवा जोगाउन हामीले ठूलो योगदान दिइरहेका छौँ, त्यस वापतको क्षतिपूर्ति भने हामीले अहिलेसम्म पाएका छैनौं’, उनी गुनासो गर्छन्।

त्यही गाँउमै बसोबास गर्दै आएका उनका कान्छा बुवा सत्तल गुरुङ्गले हरेक वर्ष एक सय भन्दा बढी च्याङ्ग्रा पाटन लगेर छाड्छन। फिर्ता ल्याउने बेलामा कहिले ७५ त कहिले ८० को संख्यामा मात्र आउँछन्। बाँकी सबै हिउँ चितुवाले खाइदिन्छ। उनीहरूले आफ्ना पशु चौपाया फोक्सुन्डोको दक्षिण पूर्वमा रहेको भिमसेन गुफा भन्दा माथीको पाटनमा छाड्दै आएका छन्।

गुरुङ्गका अनुसार यार्सागुम्बा टिप्ने झण्डै दुई महिनाको सिजनमा गोठाला बिना ती पशुचौपाया त्यही पाटनमा चर्छन। त्यहीको गोठमा बस्छन्। यसबीचमा परिवारका एक जना सदस्य ती चौपायालाई नुन दिन मात्र त्यहाँ पुग्छन। र, फेरि यार्सा संकलनका लागि फर्किन्छन्। ‘त्यसैले च्याङग्रा पालनबाट हामीलाई केही फाइदा छैन, त्यही पनि यो नशा जस्तै भइसकेको छ’, गुरुङ्गले भने। सरकारको क्षतिपूर्ति लिने व्यवस्था निकै झन्झटिलो र प्राविधिक भएकाले स्थानीयले त्यो व्यवस्थाबाट कुनैपनि सुविधा लिन पाएका छैनन। उनीहरूको गुनासो पनि यही छ।

सुन्ड्वास्थित सम्झना होटलकी मालिक लक्ष्मी गुरुङ्ग रोकायाका अघिल्लो वर्ष १३ वटा च्याङग्रा हिउँ चितुवाले खाइदियो। उनले आफ्ना चौपायालाई चार हजार मिटर उचाईमा रहेको पुदुवाचौर पाटनमा छोडदै आएकी छिन्। हरेक वर्ष यसैगरी चितुवाले आफ्ना च्याङग्रा खाने गरेको उनी सुनाउँछिन्।

‘निकुञ्जसँग क्षतिपूर्ति माग्दा मरेको च्याङग्राको फोटो चाहियो । मुचुल्का चाहियो भन्यो । यो सबै प्रक्रिया गर्नु भन्दा हिउँ चितुवाले खाएकै राम्रो भन्यौं, क्षतिपूर्ति माग्न गएनौं’, रोकायाले भनिन्, ‘पाटन गएर हेर्दा रौं, सिंङ्गको टुप्पो र खुट्टाको खुर मात्र भेटिन्छ । अनि कसरी मुचुल्का गर्ने, कसलाई पाटनमा लैजाने । यस्तो व्यवस्थाले गर्दा हामीले वर्षेनि क्षति व्यहोर्नु परेको छ।’

रोकायाका अनुसार दुई महिनासम्म पाटनमा चौपाया रेखदेख गर्ने कोही हुँदैन। तिनीहरूलाई नुन दिन पन्ध्र दिनमा एक पटक त्यहाँ जान्छन र फर्किन्छन। अनि निकुञ्जले मुचुल्का, फोटो सबै माग्छ। गाविसको सिफारिस सबै माग्छ । उनको अनुभवमा बच्चा जन्माएको चितुवाले सबैभन्दा बढी क्षति पुर्याउँछ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका दोस्रो संशोधन २०७४ ले क्षतिपूर्ति लिनका लागि विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था गरेको छ । एउटा पशुचौपाया बराबर बढीमा १० हजार रुपैयाँ दिने व्यवस्था छ। तर, यसका लागि पीडित पक्षले निकुञ्ज प्रशासनमा निवेदन दिनुपर्छ।

निवेदनसँगै मारिएका पशुको तस्वीर, घटनास्थलको सर्जिमिन मुचुल्का, मध्यवर्ती उपभोक्ता समिति वा संरक्षण क्षेत्र व्यवस्थापन उपभोक्ता समिति वा परिषद वा सामुदायिक वन उपभोक्ता समितिको सिफारिस, गाँउ वा नगरपालिकाको सिफारिस र पशु वा कृषि सेवा प्राविधिकको मूल्याङ्कन प्रतिवेदन बुझाउनुपर्छ। यी सबै कागजपत्र र सिफारिस तयार गर्नुभन्दा क्षति व्यहोर्नु ठिक होे भन्छन, यहाँका स्थानीयहरू।

सम्झना होटलका मालिक सेम्दुक रोकायाले क्षतिपूर्ति लिने प्रक्रिया निकै झन्झटिलो भएको गूनासो गरे । ‘त्यसैले यहाँका कसैले पनि क्षतिपूर्तिका लागि निवेदन दिदैनन्’, उनले भने, ‘यसलाई सजिलो बनाउनुपर्छ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आर्थिक बर्ष ०७५÷७६ मा वन्यजन्तुबाट हुने क्षति राहतका नाममा ६ करोड १० लाख ८३ हजार ४२४ रुपैया वितरण गरेको छ । यसमध्येबाट शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले यस बर्ष २ लाख रुपैया मात्र वितरण गरेको छ । सबैभन्दा बढि राहत वितरण चितवन राष्ट्रिय निकुञ्जले गरेको छ । चितवनले यस अवधिमा १ करोड ९७ लाख ४५ हजार ७१ रुपैया वितरण गरेको देखिन्छ ।

यो पनि पढ्नुहोस
फोक्सुन्डो पदयात्रा : हिमपहिरो बढेपछि डाेल्पालीलाई सास्ती (भिडियाेसहित)

फोक्सुन्डो पुग्ने हुटहुटी (भिडियो सहित)

Facebook Comments