यसरी बन्यो उजाड वन हराभरा

कैलाली–मोहन्याल गाउँपालिका वडा नम्बर ४ मा पर्ने कठिउर कैलालीको एक दुर्गम गाउँ हो । यो गाउँमा समस्यासँगै अवसर र सम्भावना पनि प्रशस्तै छन् । यसको उदाहरण हो, यहाँका स्थानीयले गरेको वन संरक्षण ।

आजभन्दा ५ वर्षअघि अर्थात २०७१ सालमा मात्र मोहन्याल सामुदायिक वन समुदायमा हस्तान्तरण भएको थियो । त्यसपछि स्थानीय वन संरक्षणमा अग्रसर बने । वन संरक्षणको नेतृत्व वन उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर बमले गरेपछि उजाड वन अहिले हराभरा भएको छ ।

‘पहिला नियम केही थिएन, खुल्ला थियो । वनपाले आउँथे । वनपाले हुन्जेल चोरी सिकारी गर्नेहरू लुक्थे, गएपछि फेरि काट्थे,’ मोहन्याल सामुदायिक वन उपभोक्ता समिति पूर्व अध्यक्ष खिमबहादुर बमले भने, ‘जङ्गल विनाश हुन्थ्यो । दर्ता प्रक्रियामा गएपछि वनको अधिकार हामीले पायौँ । हामीले नै यो वन संरक्षण गर्ने चाहना गरेर स्थानीयको मनोबल बढाउने काम ग¥यौ ।’

पहिला काठ, दाउरा र घाँस ल्याउन धेरै टाढा जानुपर्ने बाध्यता अहिले अन्त्य भएको पूर्व अध्यक्ष बलले बताए । वन संरक्षण हुँदा आफूहरूलाई हुने फाइदाबारे राम्ररी बुझ्दा वन संरक्षण सम्भव भएको मोहन्याल सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष गणेश बम बताउँछन् ।

‘राष्ट्रिय वनलाई एकैचोटि समुदायमा लान उपभोक्ता सहमत नभएसम्म हुँदैन् किनभने उहाँहरूलाई हामीले बुझाउनै पर्छ । यो वनलाई हामीले दर्ता ग¥यौँ भने भोलि यसबाट धेरै सेवा सुविधाहरू पाउँन सक्छौँ, जस्तै यसबाट आयमूलक कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ, बेरोजगारी युवाहरूलाई रोजगारी दिने कार्यक्रमहरू ल्याउन सनिन्छ, भन्ने कुरा उपभोक्तालाई बुझाउन सक्नु पर्छ र त्यो हामीले ग¥यौँ अनि स्थानीयसँग राय सल्लाह लियौँ,’ अध्यक्ष बमले भने ।

तर, उजाड वनलाई हराभरा बनाउन सोचेको जस्तो सहज र सजिलो भने पक्कै भएन । ‘पहिला हामीमा चेतना थिएन । घाँस दाउरा काट्न पाउँदैनाँै भन्ने थियो । वन जङ्गल भावी सन्ततिलाई पुग्ने गरी लैजानुपर्छ भन्ने कुरा बुझ्यौँ र बुझायौँ यी र यिनै कुराले अहिलेको अवस्थामा पुगेका हौँ,’अध्यक्ष बमले भने ।

बिगतमा वन जोगाउने विषयमा सबैको ऐक्यद्धता नभए पनि अहिले स्थानीय एकजुट छन् । बिगतमा वन उडाज हुँदा दुःख पाएका स्थानीयले संरक्षणले फाइदा पुग्छ भन्ने कुरा बुझिसकेका छन् । स्थानीयको सामूहिक प्रयासले नै यो वन हराभरा भएको हो ।

‘वन जङ्गल जोगायौँ भने मान्छेको मात्र होइन सबै प्राणीको संरक्षण हुन्छ,’ मोहन्याल सामुदायिक वन उपभोक्ता समितिका सहसचिव भकेन्द्र नेपालीले भने । ‘वन फडानी भयो भने वन विनाश हुन्छ । अहिले वन संरक्षणपछि फाइदा भएको छ । घाँस, दाउरा र बाख्रा पाल्न सजिलो भएको छ,’वडा नं.४ कठिउरका तेजबहादुर ताडीले भने । वनबाट दाउरा, स्याउला सस्तोमा पाइने भएकाले आफूहरूलाई सहज भएको वडा नम्बर ४, कठिउरकी भागादेवी बोहोराले बताइन् ।

‘सामुदायिक वनबाट घाँस, दाउरा र स्याउला सस्तोमा पाइन्छ , घाँस, दाउरा गर्न नजिकै हुन्छ, ’उनले भनिन्, ‘ घाँस, दाउराका लागि ५ रुपैयाँको पुर्जी काटिन्छ ।’ वनको दिगो संरक्षणमा स्थानीय र अध्यक्ष बम सक्रिय भएर लागेका छन् ।

‘वृक्षारोपण र झाडी सफाइसँगै विभिन्न योजना बनाइरहका छौँ । जुन हामीले कार्ययोजना तयार गर्दै छौँ, त्यो अनुसार नै अगाडि बढेमा दिगो संरक्षण सम्भव छ, ’अध्यक्ष बमले भने ।

प्रक्रिया पु¥याएर सबैको सहभागितामा काम गर्दा सहजै सफल हुन्छ । यस्तो सफलता मिलेपछि नेतृत्व लिनेहरूमा उत्साह बढ्छ । उपभोक्ता समितिले वनहेरालु पनि राखेको छ । हेरालुले आगलागी, छाडा गाईवस्तुहरू वनमा पसे धपाउने काम गर्छ ।

वनको आम्दानीको मुख्य श्रोत खोटो सङ्कलन हो । खोटो सङ्कलन गर्ने काममा पनि सबै एकजुट हुन्छन् । मिलीजुली काम गर्छन् । यसरी सङ्कलन गरेको खोटोबाट वनले राम्रै फाइदा लिएको छ ।

वनको वार्षिक आम्दानी ६ लाखसम्म हुन्छ । त्यो पैसा वृक्षारोपण, अग्नि नियन्त्रण र विद्यालयको सिपमूलक कार्यक्रममा लगाउने गरेको अध्यक्ष बमले बताए ।

वन जोगाउँदा पानीका स्रोतहरू पनि संरक्षण भएको छ । यसले जैविक विविधता कायम राख्न पनि मद्दत पुगेको छ । मूलको पानी घरसम्मै पुगेपछि स्थानीयलाई सजिलो भएको छ । संरक्षणको कामलाई निरन्तरता दिन स्थानीय तह पनि जिम्मेवार वनेको छ ।

वनलाई संरक्षण गर्नका निम्ति फडानी, डढेलो, वन विनाश रोक्नु पर्छ । प्राकृतिक श्रोतसाधनको संरक्षण गर्दा फाइदा हुन्छ र यसको संरक्षणमा लाग्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको मोहन्याल गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष टेकबहादुर बोगटीले बताए ।

वनमा चरिचरन क्षेत्र पनि छुट्टाइएको छ । यसले गर्दा संरक्षित वन अझै फस्टाउन सकेको छ । घाँसपात ल्याउनका लागि पनि वनक्षेत्र छुट्ट्याउने काम भएको छ । जुन वन व्यवस्थापनका लागि महत्वपूर्ण काम हो । कठिउरका स्थानीयले संरक्षणका लागि लगाएको जाँगर प्रशंसा योग्य छ । यही जाँगरका कारण नै स्थानीयले वनबाट फाइदा लिन सकेका छन् ।

Facebook Comments