बाक्लाे झरीकाे प्रतिक्षामा पातलियाे काठमाडाैँकाे राेपाइँ (फाेटो फिचर)

काठमाडौँ – असार १५ आउन दुई दिन मात्र बाँकी छ। सामान्यत असार १५ सम्ममा अधिकांश क्षेत्रमा रोपाइँ सकिसक्नुपर्ने हो। तर, काठमाडौँ उपत्यका आसपासमा भने अझै पनि रोपाइँ सुरू हुन बाँकी नै छ।

पानीको स्रोतहरू भएका केही स्थानमा रोपाइँ सुरू भएपनि आकाशे वर्षाको भर पर्ने अधिकांश स्थानमा भने अझै पनि रोपाइँ सुरू भएको छैन।

मनसुन भित्रिएको झण्डै दुई साता बितिसक्दा पनि उपत्यकामा पर्याप्त पानी परेको छैन्। जसका कारण कृषकहरू यतिबेला रोपाइँका लागि बाक्लो झरीको प्रतिक्षामा छन्।

काठमाडौँ उपत्यकामा रोपाइँको अवस्था थाहा पाउन हाकाहाकीकर्मी अमिष रेग्मी र दिपाञ्जली खड्काले गोदावरी र सुनाकोठीको भ्रमण गरेका थिए।

यसै क्रममा सुनाकोठीका १८ वर्षे जोनिश राई पानी नभएको कारण अहिले रोपाइँ नभएको बताउँछन् । ‘खोलाबाट पानी सार्न पनि पालो कुर्नु पर्छ,’ उनले भने, ‘रोपाइँको लागि त बिउ तयार छ । तर, के गर्नु न पानी पर्छ न खोलाबाट आफूले चाहे जस्तो पानी ल्याउन पाइन्छ। मौसम समस्या एकातिर र खेतमा काम गर्ने मान्छे पनि नभेटिदा रोपाइँमा ढिला भएको हो।’

उनी जस्तै सोही स्थानका ५० वर्षे टिका महर्जन पनि वर्षा नभएको कारण रोपाइँ सुरू गरेपनि नसकेको बताउँछन्। ‘असार लाग्दासम्म त सबै रोपेर सकिसक्नु पर्ने हो तर पानी छैन त्यसैले रोपाइँको काम आधा मात्र सकिएको छ,’ महर्जन भन्छन्। पानी पर्ने नपर्ने टुङ्गो नभएकाले बिउ पनि कम तयार गरेको उनले बताए।

बुङमतिकी ६० वर्षीया नानीदेवी तुलाधर पानीको अभाव भएपनि जसो तसो पानी जुटाएर रोपाइ गरेको बताउँछिन्। ‘गतवर्ष जेठ २५ सम्म रोपाइँको काम सकिसकेको थियो । तर, यस वर्ष असार लागि सक्दा पनि रोपाइँको काम हुँदैछ।’

Facebook Comments