सर्पदंश र सावधानी

  • नेपालमा चैत्रदेखि कार्तिकसम्म सर्पदंशका घटना बढी हुने गर्छन्। अन्य महिनामा यस्ता घटना केही कम मात्रामा हुन्छन्। सर्पदंशको शिकार नेपालमा प्रत्येक साल २० हजार जना हुन्छन्। यीमध्ये एक हजारले ज्यान गुमाउँछन् । यो अस्पतालमा आइपुगेको घटनाको रेकर्ड मात्र हो । यस क्षेत्रका अनुसन्धाताहरूको अनुमान छ कि घटना जो अहिले तथ्याङ्कमा छ, सो को दुई गुणा बेसी भएको हुनसक्छ। मृत्यु पनि त्यही अनुपातमा बढी नै छ किनकि धेरैजसोको सर्पदंशपछि उपचार केन्द्र नपुर्‍याउँदैमा ज्यान गइसक्छ। त्यस्ता घटनाहरू गणनामा आउँदैनन्। विश्व रेकर्डमा हेर्दा ५५ लाख मानिस सर्पदंशको शिकार बन्छन् जसमा एक लाख मर्छन् । एक लाखमध्ये भारतमा मात्र ४६ हजारको मृत्यु हुने गरेको छ।

सर्प कहाँ पाइन्छ ?
संसारका सबै ठाउँमा सर्प पाइए पनि केही अपवादहरू छन्। खासमा सर्प समुद्रको पिँधदेखि लिएर पाँच हजार मिटर उचाइसम्म पाइने हो । हिउँ पर्ने क्षेत्रमा हुँदैन । आयरल्याण्ड,आइसल्याण्ड,ग्रीनल्याण्ड र न्यूजिल्र्याण्डमा चाहिँ सर्प पाइएको छैन। अन्यत्र सबै ठाउँमा पाइन्छ।

नेपालको हावापानी उपयुक्त
सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ। भारत, नेपाल, अफ्रिका, मलेशिया आदि बढी सर्प प्रभावित भूभागहरू हुन्। नेपालको हावापानी बढी गर्मी र बढी जाडो पनि नहुने भएकोले सर्पलाई उपयुक्त हुने विज्ञहरूको भनाइ छ। सर्पले २३ डिग्रीदेखि ३७ डिग्री सेन्टीग्रेड तापक्रम मात्र सहन्छ जुन नेपालमा उपलब्ध छ । त्यसैगरी मनसुन हुनु वा गर्मी मौसममा पानी पर्नुले पनि सर्पलाई अनुकूल बनाइदिएको छ। अर्कातिर नेपालमा कृषि कर्म धेरै हुन्छ । खेत,बारी यसका लागि उपयुक्त बासस्थान हुन्। बाली खान आउने कीरा र मुसा , कीरा खान आउने छेपारा यिनका भोजन हुन् । त्यसैले नेपालमा सर्पदंशको शिकार हुने मध्ये जम्मा ४४ प्रतिशत किसानी व्यवसायका पाइएको विराट मेडिकल कलेज विराटनगरका चिकित्सक डा. सूर्य पराजुलीले बताए।

सर्प कति
संसारमा हालसम्मको अध्ययनअनुसार तीन हजार सात सय प्रजातिका सर्प छन् । तीमध्ये छ सय प्रजाति विषालु हुन् । तिनीहरूमध्ये अधिकांश पानीमा बस्छन् । जम्मा विषालुमध्ये २५० प्रजाति चाहिँ निकै विषालु छन्, कि एक पटकको डसाइले मानिसलाई मारिदिन्छ । नेपालको सन्दर्भमा हेर्दा ८० प्रजातिका सर्प पाइने सर्पविद् स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक कुलप्रसाद लिम्बूले बताए । तीमध्ये १८ प्रजाति विषालु छन् । तिनीहरू हुन्– गोमनका तीन प्रजाति, करेतका छ प्रजाति, कोरलको १, किलब्याक १, भाइपरका ६ र अन्य १ प्रजाति । संसारमा मानिसभन्दा सर्पको संख्या बेसी छ । अमेरिकामा गरिएको एक अन्वेषणलाई सामान्यीकरण गर्ने हो भने प्रति वर्ग माइल क्षेत्रफलमा १३ हजार सर्प पाइन्छन् । जब कि त्यति क्षेत्रफलमा मानिस ३८ जना मात्र छन् ।

सर्प कहाँ बस्ने
सर्पले आफ्नो घर बनाउँदैन । काठका चेपमा, दाउराको हारमा, परालको कुन्युमा, दूलोमा, कुनै पानीमा त कुनै रुखमा बस्ने पनि सर्प हुन्छन् । ढुङ्गाको चेपमा, घर, गोठ वरपर आदि स्थानमा सर्प बस्ने हुन्। सर्पले सुरक्षित बासस्थानको महसुस नगरिकन अण्डा पार्दैन। पारेका अण्डा पनि उपयुक्त बास व्यवस्था भएन भने बच्चा कोरल्दैन। अजिङ्गर र राजगोमनले आफ्ना अण्डालाई बेरेर शत्रुबाट जोगाइराख्छन् भने अरू सर्पले अण्डालाई अभिभावकत्व प्रदान गर्दैनन् र कुनै पनि सापले बच्चालाई हेरचाह चाहिँ गदै गर्दैनन् ।

सर्पको आनीबानी
हामीलाई लाग्छ सर्प धेरै आक्रामक जनावर हो। यसले मानिसलाई शत्रु ठान्छ र देख्ने बित्तिकै ठुँग्न आउँछ। यो बुझाइ गलत छ। सर्प अति नै लजालु र डरपोक प्राणी हो। भरसक मान्छेको नजरमा पर्न चाँहदैन, भाग्छ। उसलाई पुच्छरतिर कुल्चियो र समाइयो भने पनि भाग्न खोज्छ । तर दुख्ने गरी किचियो भने, टाउको आसपासमा दबाइयो भने यसले डस्छ ।

सर्प चिसो रगत भएको जनावर हो। यसको शारीरिक तापक्रम १८ देखि २३ डिग्री सेन्टिग्रेडसम्म हुन्छ। जाडोमा न्यानो ठाउँ खोज्दै लुक्छ । यस बानीलाई हाइबरनेशन भनिन्छ। गर्मीमा पनि उसलाई बाँच्न कठिन छ अनि त्यस्तो बेला पनि शितलताको खोजीमा र चिसो स्थानतर्फ गएर लुकी बस्छ। यो प्रक्रियालाई एष्टिभेशन भनिन्छ। सर्पको अर्को बानी हुन्छ कि अरूको नक्कल गर्ने। साधारणतया अविषालुले विषालुको नक्कल गर्छन्। जस्तैः गोमन सर्पको जस्तै फ्याङ्स फुलाउने नक्कल ढोडियाले पनि गरिरहेको हुन्छ। अर्को एउटा रातो रंगको अविषालु सर्प हुन्छ यसले त झन् गोमनको हुबहु चरित्र देखाइरहेको हुन्छ। त्यसैले सो सापको नाम नै नक्कली गोमन राखिएको छ। यसो गर्दा शत्रु डराउँछन् भनेर हो । यस्तो प्रक्रियालाई मिमिक्री भनिन्छ। यसबाहेक सर्पले शत्रुबाट जोगिन या शिकारलाई सहजै आक्रमण गर्न जिउको रङ्ग बासस्थानसँग ठ्याक्कै मिल्ने गरी निर्धारण गरेको हुन्छ । रङ्ग परिवर्तन इच्छाका आधारमा हर्मोनको गतिविधिले केही दिन वा हप्तामा पूरा हुन्छ । यस प्रक्रियालाई केमोफ्लेज भनिन्छ ।

सापको खानेकुरा
साप एक मांसाहारी जनावर हो। यसले आफैँ मारेर मात्र खान्छ । शिकार मार्नलाई विषालुसर्पको त विष हुने नै भयो । डसेर विष खन्याई शिकारलाई लट्याउँछ। अविषालुले टोकेर शिकार मार्ने हो भने अजिङ्गरहरूले बेरेर शिकारलाई हत्या गर्छन्। यति बलियो गरी बेर्छन् कि त्यो जीव मर्ने मात्र होइन हाडहरू पनि सबै खुँडिन्छन् अनि सर्लक्क निल्छ। खानामा प्रशस्त प्रोटिन हुने भएकाले गर्दा अडिलो हुन्छ। एक पटक खाएपछि केही महिना नै खान पर्दैन । ठूला सर्पले सानालाई मौका परे खाइदिन्छ।

सन्तान उत्पादन कसरी
सर्प आजभन्दा १२ करोड ८० लाख वर्ष पहिले उत्पति भएको जनावर हो। कुनै समयमा यो संसारको राज र शासन नै सर्पलगायतका ठूला सरिसृप डाइनोसरहरूले चलाएका थिए। तिनैको प्रजनन् कार्य निरन्तर चलिरहँदा आजका सर्प बनिएका हुन्। सन्तान उत्पादनका लागि आन्तरिक गर्भाधान हुन्छ चरा र स्तनधारी जनावरहरूको जस्तै। अरू बेला साथीहरूबाटै मारिने डरले एक्ला एक्लै हिँड्ने सर्प गर्भाधानको समयमा भने नारिएर बस्छन् । सयौँ सर्प एकै ठाउँमा गुँडुल्किएर बसेको पाइन्छ त्यस्तो बेला। पेटमा अण्डा बोक्ने अवधि बच्चा कोरल्न अनुकूल वातावरण भए छ महिना र प्रतिकूल भएमा दुई वर्षसम्म हुन्छ। एक बेतमा तीनदेखि ५० वटासम्म अण्डा पार्छन्। अण्डा साधारणतया तीन हप्तामा कोरलिन्छन्। जब अण्डा फुटेर बच्चा बनिन्छ त्यो नवजात शिशु सलल घिस्रिन्छ । ऊ स्वतन्त्र जीवन जिउन चारो खोजी खान सक्षम भइसकेको हुुन्छ ।

सापको आयु
सापको आयु हामीले सोचेभन्दा निकै धेरै छ । कुकुर/बिरालोको आयु २० वर्ष औसतमा हो । गाई भैँसीको पनि १८/२० वर्ष हो । तर, सर्पको औसत आयु २० देखि ४० वर्षसम्म भएको पाइएको छ ।

सर्प चाहिने जनावर हो त ?
हो, सर्प मानव जगतका लागि चाहिने जनावर हो । झट्ट सोच्दा किन चाहिन्छ र भने जस्तो लाग्ने, यो त शत्रु जीव हो भन्नु जस्तो हुने तर सर्प हाम्रो मित्र जीव हो । यसले बालीमा लाग्ने कीरा र मुसालाई नियन्त्रणमा राख्दछ । वातावरणीय सन्तुलन कायम गर्न यिनको ठूलो भूमिका रहेको हुन्छ । आनीबानी बुझ्न सकेमा यिनले धेरै किसिमका विपतको पूर्व सूचना दिइरहेका हुन्छन् । बाढी,पहिरो, वर्षा, भूकम्प, डुबान आदिको पूर्वसङ्गकेत दिइरहेका हुन्छन् । सो सङ्गकेत बुझेर सतर्कता अपनाएमा धनजन क्षति हुनबाट जोगिन्छ । यसो भनिरहँदा भन्नु पर्ने अर्को कुरा के भने सर्प देख्ने बित्तिकै मार्न अघि सर्नु हुन्न । उसलाई कुनै उपायले मार्का नपारी भगाउने हो । यदी धेरै सर्प रहेछन् अनि अझै नमार्ने हो भने त यिनको सङ्ख्याले झन् मानिसलाई अक्रान्त पार्ला कि ? पार्दैन । किनभने सर्पलाई सर्र्पले नै नियन्त्रण गर्दछ त्यसैले जनसङ्ख्या उछालिएर जाँदैन भन्ने विज्ञहरूको बुझाइ छ ।

सर्पबाट के फाइदा
सर्पबाट वातावरण सन्तुलन, बालीनालीकोे सुरक्षा, विषादीको विकल्प वा जैविक नियन्त्रक भूमिका त छँदैछ । थप भनेको के भने सर्पको डसाइको उपचारका लागि एन्टिस्नेक भेनम बनाउन पनि सर्प नै चाहिन्छ । साथै सर्पको विषबाट औषधी बनाइन्छ भन्ने विश्वास रहिआएको छ । सर्पको मासु खान मिल्छ । संसारका धेरै स्थानमा सर्पको मासुलाई उच्च मूल्यमा बिक्री गरेको पाइएको छ । सर्पको छाला अति बलियो हुन्छ । छालाबाट बाजा, झोला र यस्तै ढालकवचका समानहरू बनाइन्छ । सर्प पालेर पनि मानिसले आर्य आर्जन गरेका छन् दर्शकबाट रकम लिएर । नेपालमा पनि सर्प पाल्न पाउने नीति बनिसकेको छ र इच्छा हुनेहरूले यसको बजार तथा प्रयोजन बुझेर यो काम गर्न सकिन्छ । नेपालका पर्सा,बारा जिल्लातिरका कतिपय समुदायमा सर्प खेलाएर वा सर्पको नाच देखाएर पैसा सङ्कलन गर्ने परम्परा चलिआएको छ । साथै छोरीलाई दाइजोस्वरूप साप दिने चलनसमेत चलिआएको छ ।

विषालु सर्प मधेशमा मात्रै हो त ?
होइन, तराई मधेशमा मात्र विषालु सर्प पाइन्छ भन्ने धारणा गलत छ। भाइपरका धेरैजसो प्रजाति उच्च पहाडसम्म पाइन्छन् । जस्तैः अविषालु हिउँ बिराले सर्प (हिमालयन क्याटस्नेक) १५ सयभन्दा माथि तीन हजार ५० मिटरसम्म पाइन्छ । अविषालु धामन सर्प ताप्लेजुङ् जिल्लाको तीन हजार उचाइमा पाइएको भनेर प्रा.डा. कालुराम राईले नेपालका सरिसृप तथा उभयचरहरूको स्थलगत निर्देशिका भन्ने पुस्तकमा उल्लेख गरेका छन्। ठूलो कालो करेत सर्प एक हजार चार सय मिटरसम्म पनि प्रसस्तै पाइयो । कास्कीको नौडाँडा(१४५०मिटर)मा पनि यो सर्प रेकर्ड गरिएको थियो । एक थोप्ले गोमन(मोनोसिलेट कोब्रा) दुई हजार आठ सय मिटर उचाइ(सोलुखुम्बु जिल्लाको ताक्सिन्दु भन्ने ठाउँ)मा पाइयो । साथै चश्मे गोमन एक हजार तीन सय मिटर उचाइमा पाइयो भनेर उनै प्राडा राईले आफ्नो पुस्तकमा लेखेका छन्।

संखुवासभाको मादी नगरपालिकाको एक हजार दुई सय ८१ मिटरको उचाइमा गोमन सर्प पाइएको त्यहीँको विद्यालयका जीव विज्ञानका शिक्षक किशोर दाहालले जानकारी दिएका छन् । त्यस्तै राजगोमन पहाडको एक हजार पाँच सय ३० मिटर उचाइसम्म पनि पाइएको छ । उल्लेखित उचाइहरू मानव बसोबासका लागि रुचाइएका क्षेत्रहरू हुन् । यसर्थ पहाडका गाउँबस्तीमा पनि विषालु सर्प छन् भलै सङ्ख्या कम होला । भाइपर प्रजातिका सर्पहरू त तीन हजार पाँच सय मिटर उचाइमा पनि भेटिन्छन् । यो भनेको गुराँस र कोणधारी जङ्गल हुने क्षेत्र हो ।

विषालु सर्प कसरी चिन्ने
गोमन चिन्नलाई सजिलो छ। उसको टाउकाको पछाडिपट्टी कि एउटा थोप्लो हुन्छ कि अंग्रेजीको यु वा भी आकारको चश्माजस्तो चिन्ह हुन्छ। राज गोमन चाहिँ ठूलो लामो र जिउमा मसिना सेता वा पहेँला पाटाहरू हुन्छन् । करेत सर्प चिन्नलाई खास गाह्रो छैन । यिनीहरू निख्खर काला, आँखा पनि कालै र जिउमा सेता चुराजस्ता छिर्केमिर्के पाटा हुने करेत हुन्। अर्को ब्यान्डेड करेत(राजा साप)को जीउमा सेता काला वा पहेँला सेता पाटाहरू हुन्छन्। भाइपर प्रजातिमा पर्ने सर्पको टाउको त्रिभुजकार हुने, टाउको स्पष्ट रूपमा जीउबाट छुट्टिएको हुने, टाउकाका कत्लाहरू ठूला हुने हुन्छ। पिट भाइपरहरूमा टाउकामा साना साना खोपिल्टाहरू परेका हुन्छन् ।

घाउबाट कसरी चिन्ने
घाइतेको घाउका आधारमा विषालु वा अविषालु सर्पले डसेको थाहा लाग्न सक्छ। तर यो पूर्णतया विश्वसनीय हुन्न। साधारणतया विषालु सर्पले डसेको ठाउँमा गहिरा गहिरा दुई वटा दाँतका डोब हुन्छन् । डसेको घाउ वरिपरि निलो हुन्छ र घाउबाट धेरै रगत बगिरहन्छ। अविषालुको डसाइको डोब गहिरो हुँदैन । बोकरेको जस्तो लाग्छ । अर्को कुरा डसाइको तरिका कस्तो थियो सो आधारमा पनि अनुमान लगाउन सकिन्छ विषालु या अविषालु । डसेर पल्टियो भने सो करेत हुन सक्छ । किनभने यिनका विषदन्त अलि पछाडि हुन्छन् । डसेपछि गाडिएका दाँत झिक्न यसले पल्टिनुपर्ने हुन्छ । गोमनले चराले ठुँगेजस्तो ठुँग्छ । यो हत्तपत्त पल्टिदैन किनभने यसका विष दन्त अगाडि नै हुन्छन् ।

सर्पले डसेपछि कति समयमा विष लाग्छ ?
यसको उत्तर यकीन छैन । यो कुरा सर्पको मुखमा कति विष छ र कसरी टोक्यो भन्नेमा भर पर्छ । जस्तैः कुनै धेरै दिनदेखि भोको रहेको सर्प छ भने उसको मुखमा धेरै विष हुन्छ । घाइतेमा छिट्टै फैलिन्छ । तर भर्खरै अरू शिकार गरेर आएको रहेछ भने कम विष हुन्छ र विस्तारै लाग्छ । त्यसैले यति मिनेटमा विषका कारण मरिन्छ भन्ने हुँदैन । जोडले डस्यो भने धेरै विष परेर छिटो लाग्न सक्छ । हालसम्मको अध्ययनअनुसार गन्गुवाली वा लक्ष्मी सर्प वा राजा सर्पले डसेको १५ मिनेटमा, राजगोमनले टोकेको १० देखि १५ मिनेटमा,गोमनले टोकेको आधा घण्टा सेरोफेरोमा घाइतेको मृत्यु भएको पाइएको छ । तर, करेतले टोकेको लक्षण अलि ढिला देखिन्छ । आधा घण्टादेखि छ घण्टापछि पनि लक्षण देखिएर घाइते मरेको शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ । कति त उपचार केन्द्रबाट फर्केपछि पनि मरेका छन् । भाइपरहरूको विष लाग्ने समय पनि एक घण्टाकै वरपर हुन्छ ।

विष के हो ?
सर्पको विष खासमा हाम्रो मुखको थुक या र्याल जस्तै वस्तु हो । शिकारलाई मुर्छित  पार्नलाई उसको मुखमा विषग्रन्थीबाट विष निस्किन्छ। विषमा ९५ प्रतिशत प्रोटिन हुन्छ। जम्मा २० प्रकारका पदार्थहरू सर्पको विषमा भेटिएको शास्त्रहरूमा लेखिएको पाइन्छ। तिनीहरू कुनै दिमाग लट्याउने, कुनै पोलाउने, कुनै रगत बिगार्ने, कुनै रक्तनली फोड्ने, कुनै मासुुलाई लुल्याउने, कुनै मुटुको चाललाई रोक्ने प्रकृतिका हुन्छन्। विष जब हाम्रो रगतमा मिसिन्छ तब मात्र विष हुने हो। यतिकै कसैले विष पिउँछ भने त्यो पच्दैन, लाग्दैन । तर, यस्तो मूर्खता गर्नु हुन्न किनकि मुख र आन्द्रामा घाउ रहेछ भने त त्यहाँबाट रगतमा जान्छ ।

सर्पबाट सावधानी कसरी अपनाउने
सर्पबाट सुरक्षित रहनका लागि घर वरपर झारजङ्गल हटाउने । फूलबारीलाई पनि झाररहित सफा राख्ने । चाइनिज दूबो नलगाउने आँगन र फूलबारीमा । टायर र पाइपहरू जतासुकै बेवारिसे नछोड्ने । त्यसैगरी घरभित्र मुसा निर्मूल पार्ने । ओच्छ्याइका र थन्काइएका लुगाहरू पनि बेलाबेला खोल्दै गर्ने । अनिवार्य रूपमा पहाड, मधेश, काठमाडौँ जहाँ भए पनि झुल लगाएर मात्र सुत्ने । भुँइमा कहिल्यै नसुत्ने । घरभित्र भ्यागुता आउन नदिने, भेटिएमा तुरुन्तै बाहिर निकाल्ने । राति बाहिर निस्कँदा टर्चलाइट बाल्ने, जुत्ता र पूरा खुट्टा ढाक्ने गरीको सुरुवाल वा पेन्ट लगाउने, राति हिँड्दा लौरो बजार्दै हिँड्ने, सर्पदंश उपचार केन्द्र नजिकमा कहाँ छ र त्यसको सम्बन्धित व्यक्तिको नम्बर जानकारी राख्ने।

सर्पले डसेमा के गर्ने?
सर्पदंश केन्द्रमा लामो समय रहेर अनुसन्धान गर्नुभएका सामुदायिक चिकित्सक डा. सूर्य पराजुलीका अनुसार सर्पदंशको प्राथमिक उपचारका नाममा अहिले जे परम्परागत रूपमा चली आएको र सुनिएको छ कुनै पनि काम नगर्ने । उहाँ भन्नुहुन्छ– घाइतेलाई नहल्लिने गरी मोटरबाइकमा बीचमा चेपेर उपचार केन्द्रमा लैजाने । उहाँको भनाइमा –‘टोकेको घाउको माथिपटि डोरीले बाँध्नुपर्छ भन्ने कुरा गलत साबित भइसक्यो, विश्व स्वास्थ्य संगठनले पनि यसो नगर्नू भन्छ ।’ डा. पराजुली सल्लाह दिनुहुन्छ– ‘जुनसुकै सर्पले डसेको होस् सर्प खोज्न नथाल्ने, बाँध्ने हो भने हल्का किसिमले बाँध्ने, घाउ भएको भागलाई नहल्लिने किसिमले काठको काप्रोमा अड्याउने । यति गरिरहँदा मोटरबाइक सुरु गर्ने र कुदाउने । एक सेकेन्ड समय ढिलो नगर्ने । घाइतेलाई कुनै पनि खानेकुरा खान नदिने, केही पिउन नदिने । सकेसम्म कार या यस्तै चारपाङ्ग्रेमा नगुडाएको बेस । ट्रयाक्टरमा त कुनै हालतमा राखेर नकुदाउने । घाइतेलाई कुद्न, हिँड्न र सुत्न पनि दिनुहुन्न । घाउ भएको भागमा कुनै औँठी, चुरा या अन्य कुनै गहना र बुटी बाँधिएको भएमा तत्काल खोलिदिने ।’ उपचार केन्द्रमा पनि अब ठीक भयो भनेर प्राविधिकलाई मिचेर घरतिर नफर्किने । किनभने करेतले टोकेको लक्षण अझै ढिलो पनि देखिन्छ । यदि अविषालु सर्पले डसेको भए पनि वा यस्तै कुनै शङ्गका भयो भने पनि सर्पदंश उपचार केन्द्र गइहाल्ने । यो बुझौँ कि सर्पले डसेको प्राथमिक उपचार छैन । सबैभन्दा महत्वपूर्ण प्राथमिक उपचार भनेको आत्मबल र आत्मविश्वास हो । आत्तिनु हुँदैन । धेरै मानिस अविषालु सर्पले टोकेर पनि आत्तिएर मरेका पाइएका छन् । अरूले पनि घाइतेलाई सान्त्वना दिने हो । डर देखाउने र अत्याउने होइन । अविषालु सर्पले टोकेको रहेछ केही हुन्न भनेर ढाडस दिँदा बेस ।

गर्नै नहुने कुरा
सर्पदंशमा परियो भने गर्नै नहुने केही कुरा छन् । जस्तैः घाइतेलाई कुद्न दिनुहुन्न, पिउन खान दिनुहुन्न, घाउ काट्नु या निचोर्नु हुन्न, जोडले बाँध्नु हुन्न, मुख लगाएर विष निकाल्ने भनेर घाउ चुस्नु हुन्न, झारफुकतिर त लाग्ने कुरै आएन । घाउलाई धुने पखाल्ने गर्न नथाल्ने । खुर्सानी खान दिएर विष लागे नलागेको परीक्षण गर्न लाग्नु महामूर्खता हो । यतिबेर पर्खने होइन ।

सर्पबाट नागरिकलाई कसरी सुरक्षित राख्ने ?
सर्पबाट नागरिकलाई सुरक्षित राख्ने जिम्मा सरकारको हो । स्वयम् नागरिक सचेत भएर सावधानी अपनाएका भएमा ठीकै छ। तथापि ठूलो अभियानका रूपमा नागरिकलाई यसबारे सचेतना कार्यक्रम चलाउनु पर्छ । मानिस सचेत भएमा सर्पदंशका घटनामा त्यतिकै कमी आउने दाबी गर्नुहुन्छ विज्ञ कुलप्रसाद लिम्बू । उनले दुर्इ वर्षअघि सिन्धुली जिल्लामा सचेतना अभियान चलाएका थिए। सोको प्रभावस्वरूप घटनामा ह्वात्तै कमी आएको दाबी उनले गरे। अहिले प्रदेश सरकार प्रदेश १ विराटनगरले पाइलट परियोजनाको रूपमा चार स्थानमा सचेतना कार्यक्रम चलाएको छ। परिणाम विश्लेषण हुन बाँकी छ । सबैले सावधानी अपनाउने हो भने मानिस पनि सुरक्षित सर्प पनि सुरक्षित ।

Facebook Comments