नौबहिनीमा पहिरो नियन्त्रण गर्न जैविक तटबन्ध

बाहाने, प्यूठान– प्यूठान जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुर्गम स्थान नौबहिनी गाउँपालिकाले पहिरो नियन्त्रणका लागि जैविक तटबन्ध अपनाएको छ। स्थानीय सरकार आएसँगै स्थानीयको पहिलो माग सडक भएकाले सडक निर्माणमा लागिपरेको नौबहिनी गाउँपालिका आज तिनै ग्रामीण सडकले निम्याएको क्षति न्यूनीकरण गर्न वातावरणमैत्री प्रयासमा जुटेको छ।

पहिरोको जोखिम रहेका स्थानमा जैविक तटबन्ध निर्माण गर्ने र सडक निर्माण पश्चात अनिवार्य रूपमा वृक्षरोपण गरिने नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताए। विगतमा वातावरणीय क्षतिका बारेमा कुनै आँकलन नगरी जनताको इच्छाअनुसार सडक निर्माण गरियो तर नेफेजले गरेको पानी छलफलपश्चात भने दिगो विकासलाई पच्छाउनुपर्ने रहेछ भन्ने चेतना भयो। अहिले बनेका सडकलाई कसरी दीगो र वातावरणमैत्री बनाउने भन्नेतर्फ अग्रसर भएको अध्यक्ष रिजालले बताए।

नेपाल वातावरण पत्रकार समूह नेफेजले प्यूठानको नौबहिनी गाउँपालिकामा २०७४ साल चैत्र ५ गते गरेको पानी छलफलको फलोअप कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले उक्त कुरा बताएका हुन्। उनले भने, ‘हामीले अघिल्लो पटक गरेका प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौँ । नेफेजेले पुन गरेको कार्यक्रमले हामीलाई अझै बढी काम गर्ने हौसला प्रदान गरेको छ ।’ यो गाउँपालिका अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने भएकाले बाटोले पु¥याउने क्षतिभन्दा पनि सुरुमा बाटो निर्माण कार्य अगाडि बढाइएको तर त्यसबाट क्षति हुने देखिएपछि दिगो र वातावरणमैत्री बाटो निर्माणका लागि अहिले बाटो बनाउनु अगाडि सर्वे गरेर, रुखहरू बढी नकाटिने र पहिरो नजाने गरी डिपिआर बनाएर मात्रै बाटो निर्माण गरिरहेको जानकारी दिए।

पहिरो गएका स्थान र जान सक्ने जोखिमयुक्त क्षेत्रहरूमा स्थानीय संघसंस्थाको सहयोगमा बायो इन्जिनियरिङ अर्थात जैविक तटबन्धको सुरुवात भइसकेको र यसलाई नयाँ आर्थिक वर्षमा अझ धेरै गर्ने योजना रहेको उल्लेख गरे।

विगतमा बाटो निर्माण उपभोक्ता समितिलाई क्षति न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा कुनै तालिम नदिएरै बाटो निर्माणको जिम्मा दिँदा क्षति बढेपछि अहिले हरेक उपभोक्ता समितिलाई पहिले तालिम दिएर मात्रै बाटो बनाउन दिने गरेको उनले बताए।

अहिले स्थलगत रूपमा प्राविधिक समूहहरूले अध्ययन गरेर मात्रै विकास निर्माणका कार्य गरिरहेको उनले उल्लेख गरे । बनेका सडकमा नाली निर्माणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट गाउँपालिकाका ४ सय तालिम अप्राप्त र १६ जना तालिम प्राप्त जनशक्तिलाई काममा लगाउने योजना रहेको उनले बताए।

उनले भने, ‘यिनै जनशक्तिमार्फत जैविक तटबन्ध, वृक्षरोपण, रिचार्ज पोखरी निर्माण गर्ने लगायतका कार्यहरू गराउने योजनामा छौँ ।’

उनले पहिरो पीडित र जमिन नभएका स्थानीयका लागि एकीकृत नमूना बस्ती निर्माण गर्ने कार्यमा गाउँपासलका लागिपरेकाले अहिले घर र आवास नहुनेहरूको तथ्याङ्क सङ्कलन कार्यअगाडि बढाइको बताए।

यसअघि पहिरो पीडित र घरबार विहीनहरूका लागि वैकल्पिक व्यवस्था गर्ने विषयमा गाउँपालिकाले प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार गाउँपालिकाका वडाहरूमा नमूना बस्ती निर्माणको कार्य थालिएको छ।

हाल वडा नम्बर ५ को डाम्रीको गाभे भन्ने स्थानमा नमूना बस्ती निर्माण सुरु भइ २२ ओटा घर बनिरहेका छन्।
नेपाल वातावरण पत्रकार समूहले यसअघि अव्यवस्थित ग्रामीण बाटो निर्माणलाई रोक्दै वातावरणमैत्री सडक निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा पानी छलफल गरेको थियो।

उक्त कार्यक्रममा भएका प्रतिबद्धता अनुरूपका कार्य भइरहेको जनप्रतिनिधिहरूको भनाइ छ। पानी छलफलमा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष माधवसिह केसीले अघिल्लो पानी छलफलले आफूहरुलाई सचेत पारेको बताउँदै वातावरणमैत्री विकास निर्माणमा अग्रसर बनाएको उल्लेख गरे । उनले भने, ‘मेरो वडामै २, ३ स्थानमा जैविक तटबन्ध बनाएका छौँ। नयाँ आर्थिक वर्षमा प्रत्येक निर्वाचन केन्द्रमा ग्रिन जोनका कार्यक्रम गर्ने निर्णय गरिएका छौँ।’

बाहाने लुङ तुसारे सडक खण्डमा पर्ने प्रत्येक घरले ५ ओटा कागती र सुन्तला जातका विरुवा अनिवार्य रोप्नुपर्ने, साबिकको वडा नम्बर ६ र ७ लाई फलफूलको पकेट क्षेत्र बनाउन प्रत्येक घरघुरीले २० ओटा फलफूलका विरुवा लगाउने र सयभन्दा बढी लगाउनका लागि वडामा सहयोग माग्न आएमा दिने निर्णय गरेको जानकारी दिए।

गाउँपालिकाले पहिलो पटक प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कन आइईई गरेको गाउँपालिकाका उपाध्यक्ष घनबहादुर बुढाले बताए। उनले भने, ‘हामीले नदीजन्य पदार्थ उत्खनन्का लागि लुङखोलामा आइईई गरेका छौँ । बाटाहरूमा डिपिआर तयार गरेका छौँ।’

सडक निर्माण गर्दा पनि आइईई पनि गर्नुपर्छ भन्ने विषयमा आफूहरूलाई ज्ञानको अभाव भएकाले उक्त कार्य गर्न नसकिएको बताए।

‘हामीलाई वातावरणमैत्री सडक निर्माणका लागि के के गर्नुपर्छ भन्ने विषयमा जानकारी छैन, त्यस विषयमा तालिम पाए अझै बढी गर्न सकिन्थ्यो, उनले भने, ‘यस विषयमा हामीलाई प्रदेश वा केन्द्र सरकार कसैले पनि तालिम दिएका छैनन्, हामीलाई यसको आवश्यकता छ ।’

सोही कार्यक्रममा बोल्दै नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले गाउँपालिकामा वातावरणमैत्री विकास निमार्णको सुरुवात भएको जानकारी दिए। उनले भने,‘योजना छनोट गरिसकेपछि प्राविधिकको समूहले वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य रूपमा गर्नुपर्ने हो। तर, बजेटको न्यूनता र योजनाको चापका कारण नौबहिनीमा प्रत्येक सडकमा आइईई गर्न सकिएको छैन।’

प्राविधिकहरूको कमी, कम बजेट तर योजना बढी हुने र जनप्रतिनिधिहरूमा प्राविधिक ज्ञान नहुँदा समस्या भएको उनले बताए। तर पछिल्लो समय बायो इन्जिनियरिङ, वृक्षारोपण, रुख नकाटिने र कम जोखिम रहेका स्थानबाट मात्रै सडक खन्ने कार्य हुनु सकरात्मक कुरा भएको बताए।

पहिरोको अत्याधिक जोखिम रहेको नौबहिनीका सामुदायिक वनमा समेत जैविक तटबन्ध गरिएको छ। खुला खानेपानी सामुदायिक वनले पहिरो जाने स्थानमा स्थानीय संघसंस्थाको सहयोगमा जैविक तटबन्ध गरेको छ।

प्रत्येक वनमा आगलागी हुँदा वनजङ्लको विनाश भइरहेको र वनडडेलोका कारण पहिरोको जोखिम बढिरहेकाले जैविक तटबन्धले अहिले पहिरो नियन्त्रणको काम गरिरहेको कुलाखोला सामुदायिक वनकी उपाध्यक्ष पुतला केसीले बताइन्।

जैविक तटबन्धले वातावरण नबिगार्ने र गाउँघरमै पाइने बाँसले सहजै बनाउन सकिने भएकाले यसको महत्व बढेको गाउँपालिका सदस्यसमेत रहेकी सरस्वता भुषालले बताइन्।

पानी छलफलमा सडक निर्माण गर्दा पानीका मुहानलाई असर नहुने गरी निर्माण गरिएको स्थानीयले बताए । खानेपानी सिमसार उपभोक्ता समितिका अध्यक्ष गिरिराज रिजालले बाटो बनाउँदा पानीका मुहान संरक्षण हुने गरि बनाइएको जानकारी दिए । उनले भने,‘स्थानीय सरकार आएपछि पानीका मुहान भत्किने, पुरिने वा सुक्ने गरी बनाएको पाइएको छैन । तारबार गरेर पानीका मुहानको संरक्षण भइरहेको छ।’

गाउँपालिकाका अध्यक्ष रिजालले वडा नम्बर ६ मा बाटोमै पानीको मुहान परेपछि आफूहरूले मुहानभन्दा तलबाट बाटो लगी मुहान संरक्षण गरेको जानकारी दिए । साथै उनले मूल संरक्षण गर्ने काम गाउँपालिका र वडाबाट भइरहेको पनि जानकारी दिए । वन विनाससँगै पानीका मुहान सुक्न नदिन र भूक्षय नियन्त्रणका लागि वडा नम्बर ४ ले वृक्षारोपणका लागि नर्सरी निर्माण गरी विरुवा उत्पादन गरिरहेको वडाध्यक्ष पहलसिंह घर्तीले बताए।

कार्यक्रममा लुङखोलामा फालिने फोहोरको व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो। जथाभावी रूपमा फालिने फोहोरले पानीको स्वस्छतामा असर पार्ने भएकाले पनि फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाहानेका सभापति देवीप्रसाद रिजालले बाटो निर्माण गर्दा डोजर प्रयोग गर्नुभन्दा बेरोजगार युवाहरूलाई नै बाटो बनाउन दिनुपर्ने सुझावसमेत दिएका थिए।

कार्यक्रममा नौबहिनी गाउँपालिकाका वडा नम्बर ८ बाहेकका सबै वडाका वडाध्यक्ष, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सामुदायिक वन, पत्रकार, पहिरो पीडित, स्थानीयलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विगतका प्रतिबद्धताको निरन्तरता सहित थप ५ बुँदे प्रतिबद्धता गरिएको छ।

प्रतिबद्धताहरू
मिति २०७४ साल चैत्र ५ गते गरिएका प्रतिबद्धताहरूलाई निरन्तरता दिइनेछ।
सडक निर्माण गर्दा दीगो हुने गरी वातावरणमैत्री सडक निर्माण गरिनेछ।
ग्रामीण सडक निर्माणसँगै सामुदायिक वन र वन कार्यालयसँग समन्वय गरी वृक्षरोपण गरिनेछ।
प्रत्येक वडामा खुला चरिचरण रोकिने र ग्रामीण सडक निर्माण सम्पन्न भएपश्चात अनिवार्य रूपमा वृक्षारोपण गरिनेछ।
पहिरो नियन्त्रण गर्न जोखिमयुक्त क्षेत्रहरूमा जैविक तटबन्ध र तारजाली लगाइ तटबन्ध गरिनेछ।

Facebook Comments