मुहानको पानी गाउँमा पुग्दा स्थानीय खुशी

डोटी–‘पहिलेका पानीका दिन सम्झिँदा त दुःख लाग्छ। गाह्रो थियो। धेरै–धेरै टाढाबाट पानी ल्याउनु पथ्र्याे। अहिले त सब ठिक छ। पहिलाको दुःख अहिले सुखमा परिवर्तन भयो। पेटमा बच्चा हुन्थे। पानी बोकेर आफूलाई र गाईभैँसीलाई पनि खुवाउथ्याैँ। पहिलाको पीडा सम्झिँदा गाह्रो हुन्छ। अहिले त धेरै सुख छ,’ बडिकेदार गाउँपालिका –५, रन्तोलाकी दिपादेवी मल्लले विगत सम्झिँदै भनिन्।

विगतको दुःखले सबैलाई रूवाउँछ। हिजो र आजको फरकले नै बडिकेदार गाउँपालिका वडा नम्बर ५ रन्तोलाकी दिपादेवी मल्ललाई भावुक बनाएको हो।

पहिला पानीका लागि आफ्ना पुर्खाले धेरै दुःख गरेको सुनाउँछन् रन्तोलाकै जित बहादुर बोहोरा।

‘पहिला हाम्रा बुबा बाजेका पालामा धेरै दुःख थियो। बाटो पनि अप्ठेरो। छोरानातीका पालामा धेरै राम्रो भएको छ। उनले भने, ‘अहिले त हाँसीहाँसी जीवन बिताइराखेको छु। पहिलाका दुःख सम्झिँदा भने ,अहिले पनि दुःख लाग्छ। अब त धेरै खुसी भएका छौँ। अहिले सबै सुखी छन्।’

पहिले पानी लिन जान एक दुई घण्टा लाग्ने गरेको टेकबहादुर कठायतले बताए। ‘धेरै टाढाबाट पानी ल्याउनु पर्ने, एक घण्टा, डेढ घण्टा लाग्थ्यो। त्योभन्दा अहिले त हामलाई धेरै स्वर्ग छ,’ कठायतले भने।

पहिला यहाँ खानेपानीका साना—साना योजनाहरू मात्र सञ्चालनमा थिए। त्यतिबेला स्थानीयको पानीमा सहज पहुँच थिएन। २०७३ सालमा यहाँ खानेपानीको बृहत योजना सम्पन्न भयो। अनि स्थानीयको खानेपानीमा सहज पहुँच बढ्यो। आज हामी यहाँ यो योजना कसरी सम्पन्न भयो र यसले कस्तो सुविधा पुग्यो भन्ने बारे चर्चा गर्नेछौँ।

यहाँका अधिकांश स्थानीयहरू कृषिमा निर्भर छन्। यहाँ मिश्रित समुदायको बसोबास छ। हिजो यहाँको बस्ती पातलिँदै गएको थियो। पानीको सुविधा पुगेपछि बस्ती बाक्लिएको छ। यहाँ अहिले खानेपानी प्रयोग गर्ने उपभोक्ताहरू १२ सय ७५ छन्। २०७० सालमा खानेपानीको बृहत योजनासहित क्षेत्रीय खानेपानी योजना कार्यालय डोटी आइपुगेपछि खानेपानीको समस्या समाधान भएको हो।

यो योजनालाई बडिकेदार खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर २ भनेर नाम दिइएको छ। यो योजना सफल बनाउन कार्यालयको सहयोग र जनश्रमदान सहित १ करोड रूपैयाँ खर्च भएको छ।

७ किलोमिटर टाढाका गाउँसम्म पानी पुर्‍याइएको छ। यसका लागि ५ वटा ट्याङ्की बनाइएको छ। ८ वटा इन्टेक बनाइएको छ।

वीरबहादुर पाल खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन्। उनले खानेपानी व्यवस्थापनको क्षेत्रमा सक्रिय भएर काम गर्न लागेको ८ वर्ष भयो।

‘बस्तीअनुसार पानी दिएका छौँ। त्यसकारण विवाद आउँदैन। आवश्यकता अनुसारको व्यवस्था मिलाइएकाले समस्या परेन,’अध्यक्ष पालले भने।

उनी घर—घरमा गएर सबैलाई सम्झाई बुझाई गर्छन्। आफ्नो गाउँ ठाउँको विकासमा आफैँ लाग्नुपर्छ भन्ने कुरा बुझाउँछन्। गाउँमा आएका समस्याहरूको सामना गर्छन्।

योजनाको नियमित अनुगमन गर्छन्। हेरविचार गर्छन्। यो सबै नेतृत्वले गर्नुपर्ने काम हो। यही प्रयास आज सफल बन्यो र बस्तीमा पानीको पहुँच बढ्यो। नाउला र कुवाको पानी खानुपर्ने बाध्यता टर्‍यो। पानी कै लागि घण्टौँ हिड्दा लाग्ने समयको बचत भयो।

स्थानीय भक्तबहादुर बोहोरा पहिला रोजगारीका लागि विदेश जान्थे। पानीको सुविधा भएपछि उनी गाउँमै कुखुरा व्यवसायमा लागेका छन्। यसका लागि उनी दैनिक १ हजार लिटरभन्दा बढी पानी प्रयोग गर्छन्। मुहानको पानी बस्तीसम्म नआएको भए उनी आज अर्काको देशमा पसिना बगाइरहेका हुन्थे सायद।

‘पहिला चाहिँ इन्डिया गइन्थ्यो। टाढाबाट पानी ल्याइन्थ्यो। त्यति व्यवस्था थिएन यहाँ। अहिले यहाँ पानी आइसकेपछि कुखरा पालन सुरु भयो। नुहाइ धुवाइ गर्न हामीलाई सहज भएको छ,’ बोहोराले भने।

कृषकहरूले बारीमा तरकारी पनि फलाएका छन्। मुहानको पानीबाटै सिँचाई सुविधा पुगेको छ। सुख्खा मौसममा पनि बारीमा हरीयाली छाएको छ। ताजा तरकारी आफ्नै बारीमा खान पाएकाले स्थानीय उत्साहित छन्। यही तरकारीबाट जीविकोपार्जनमा पनि सहयोग पुगेको छ।

बडिकेदार गाउँपालिका ५, रन्तोलाका जितबहादुर बोहोराले पनि तरकारी खेती गरेका छन्। ‘सिँचाइबाट हामीलाई धेरै फाइदा पुगेको छ। तरकारी खेती बैगन, खुर्सानी फलाउँछौँ । नभएको चिज केही छैन सब सुविधा पुगेको छ,’उनले भने।

गाउँमा आएको यो परिवर्तनबाट मुहानको पानी व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका बिरूबहादुर पाल सन्तुष्ट छन्। उनमा अझ धेरै जाँगर पलाएको छ। उनी चुनौतीहरूसँग डराएको भए न त उनी सफल हुन्थे न त गाउँमा मुहानको पानी नै आउँथ्यो।

‘जनताले स्वच्छ खानेपानी पाए। किनभने पहिला कुवा, खोल्टा, नाउला आदिकोे पानी खान्थे। फोहोर पानी खान्थे भने अहिले शुद्ध पानी पिउँन थालेको मलाई महसुस हुन थाल्यो यसकारण मलाई आफैँलाई गौरव लागिराखेको छ, अध्यक्ष पालले भने।

वीरबहादुर पाल खानेपानीको समस्या समाधान गर्न नियमित छलफलमा जुट्छन्। उपभोक्ताहरूको भेटघाट र कुराकानीलाई निरन्तरता दिन्छन्। यो अभ्यास सुशासन र पारदर्शिताका लागि आवश्यक छ। उनी अरूका कुरा सुन्ने र आफना कुरा राख्ने काममा कहिल्लै पछि पर्देनन्।

‘चौबिस घण्टा चलाउने सिस्टम छ। एक घरलाई ४५ लिटर दिने लक्ष्य हो। आफ्ना धारा कन्टोल गर्नुहोला। पानीबिना केही हुँदैन जसै पनि पानीलाई जोगाउनु होला,’उनले भने।

वीरबहादुर पालले बेलाबेलामा गर्ने अनुगमन र छलफलले पानीको दिगो व्यवस्थापनको काममा सहयोग पुगेको छ। पानीको व्यवस्थापनसँगै मुहान जोगाउँन पनि उनी उत्तिकै अग्रसर हुन्छन्। वनमा रहेका पानीका श्रोतहरूलाई बचाइराख्न पनि उक्तिकै भूमिका खेल्छन्। यसरी काम गर्दा उपभोक्ताहरू पानीको श्रोतलाई जोगाउनपर्छ भन्ने कुरामा सचेत हुन्छन् र भएका छन्।

‘योजना भनेको २० वर्षको लागि हुन्छ। तैपनि यो बिस वर्ष नभइनकन ५० वर्ष चलोस् भन्ने हिसाबले हाम्रो ५० वर्षसम्म कुनै अवरोध हुँदैन भनेर मैले विश्वास लिएको पनि छु,’अध्यक्ष पालले भने, ‘नेपाल सरकारले पनि लगानी कति लगाउने, यसलाई दीर्घकालीन बनायो भने त त्यो स्रोतबाट अर्को चिजहरू बन्न सक्छ। यसकारण हामीले कुनै पनि काम गर्दा ठोस् योजनाहरू गर्नुपर्छ। दीर्घकालीन योजना हो। यो भयो भने राज्यको लगानी कम लाग्छ।’

रन्तोला जस्ता धेरै विकट क्षेत्रहरू छन्। जहाँ पानीका श्रोत र सम्भावनहरू पनि छन्। तर, पनि समुदायमा चेतना छैन। यहाँ आएको परिवर्तनको अनुसरण गर्ने हो भने पानीको मुहान व्यवस्थापनसँगै स्थानीयको जीविकोपार्जनमा पनि सुधार गर्न सकिन्छ।

Facebook Comments