पानीका मुहान संरक्षणमा मानमतीकाे जागरूकता

डडेल्धुरा–डडेल्धुरा आलिताल गाउँपालिका वार्ड नं. ४ का स्थानीयहरू पानीको मुहान संरक्षणमा जुटेका छन्।

कुनै समय भरिभराउ रहने पानीका मुहान अहिले सुक्दै जान थालेपछि यहाँका स्थानीय संरक्षणमा जुटेका हुन्। जलवायु परिवर्तन, वनजङ्गलको विनाश, जथाभावी डोजरको प्रयोगलगायतका कारणले पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयहरूले जलाधार क्षेत्र छुट्याएर विगत एक वर्षदेखि पानीका मुहान संरक्षण गर्दै आएका छन्।

पानीको मुहान संरक्षणको नेतृत्व गरेकी छिन् मानमती बोहोराले। उनी कालारह खोला स्रोत व्यवस्थापन जालधर क्षेत्र–१ की अध्यक्ष पनि हुन् । यसमा ११ सदस्यीय समिति रहेको छ।

सुख्खायाममा मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि उनीहरूले आइब्रो (सानो पोखरी) निर्माण गर्न थालेका छन्।

‘पहिला पानीको अभाव थिएन। तर, केही वर्षदेखि पानीका मुहान सुक्न थालेपछि पानीको धेरै समस्या भएको हो,’ अध्यक्ष बोहोराले भनिन्।

क्षेत्र नं.१ मा २० भन्दा बढी पानीका मुहान छन्। तर, बर्खामा पानी आउने भए पनि सुख्खायाममा थोपा मात्र चुहिने उनी बताउँछिन्।

उनका अनुसार आठ वटा पानीका मुहानमाथि रिचार्ज पोखरी निर्माण गरिएको छ। पोखरी बनाएपछि पहिलाको तुलनामा पानी बढी आउने गरेको उनले बताइन्।

‘बर्खाको पानी यो पोखरीमा जम्मा हुन्छ। पानी सञ्चित भए भोलि मुहानमा पानी सुक्दैन,’ उनले भनिन्। उनीहरूले पानीका मुहान वरिपरि वृक्षारोपण र सरसफाई पनि गर्दै आएका छन्।

‘यहाँका पानीका मुहान धेरै सुकिसकेका छन्। यसलाई संरक्षण नगरे भोलिका सन्तानले पानीको चरम अभाव झेल्ने छन्, ’उनले भनिन्, ‘पानी लिन घण्टौँ जानुपर्ने समस्या पनि अहिले समाधान भएको छ।’

उनीहरू महिनाको एक पटक बैठक बस्छन्। यो बैठकमा मुहान संरक्षणबारे छलफल गर्ने गरेका छन् । साथै ११ जना सदस्यहरूले प्रतिव्यक्ति ५० रुपैयाँ जम्मासमेत गर्दै आएका छन्।

‘यो जम्मा भएको पैसाले सुकेका पानीका मुहान संरक्षण गर्न खर्च गर्ने योजना छ,’उनले भनिन्।

संरक्षित क्षेत्रमा पानी सहजै पाउन थालेपछि धेरैले तरकारी खेती पनि सुरु गरेका छन्। खेतीका लागि मुहानबाट खेर जाने पानीको सदुपयोग गरेका छन्। खेर गएको पानी खाल्टोमा जम्मा गरी तरकारी बारीमा हाल्ने गरेको अध्यक्ष बोहराले बताइन्।

लामो समय पानीको समस्या झेलेका स्थानीयले मुहानको संरक्षण र पानी व्यवस्थापन गरेकै कारण खानेपानीको समस्या समाधान भएको हो।

Facebook Comments