कैलालीका नदीमा देखिन थाले डल्फिन

काठमाडौँ– जलस्तर बढेसँगै कैलालीको मोहना,पथरैया र काँडा नदीमा डल्फिन देखिन थालेका छन्।

डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार यो वर्ष तीन वटा डल्फिन देखिएका छन्।
उनका अनुसार शनिवार र आइतबार मोहना,पथरैया र काँडा नदीको दोभानमा दुई वटा वयस्क र एउटा बच्चा डल्फिन देखिएका थिए।

उनका अनुसार प्रत्येक वर्ष बर्खायाममा कर्णाली, मोहना, काँडा, कान्द्रा र पथरैया नदीमा ग्याँगेटिक प्रजातिका डल्फिन देखिन्छन्।

यो डल्फिन कर्णाली नदी र भारतको घाँघरा नदीका हुन्। सुख्खायाममा भने जलस्तर ज्यादै नै न्यून हुने भएकाले त्यतै फर्केर जाने गरेको श्रेष्ठ बताउँछन्।

‘डल्फिनका लागि अझै पनि नदीमा पानी कम छ’, सचिव श्रेष्ठले भने,‘अब जलस्तर बढ्दै जान थालेपछि नदीमा डल्फिनको सङ्ख्या बढ्दै जान्छ।’

नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने यी ग्याँगेटिक प्रजातिका डल्फिन स्वच्छ जलमा बस्न रुचाउँछन्।

उनका अनुसार नदीमा पानी नघटे असोज महिनासम्म डल्फिन देख्न सकिन्छ।

त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा.मुकेशकुमार चालिसेसहितको टोलीले २०७२ मा डल्फिनको गणना गर्दा मोहना, काँडा, कान्द्रा र पथरैयाका विभिन्न स्थानमा ६२ देखि ८० वटा डल्फिन देखिएका थिए। त्यस्तै सन् २०१८ को गणनामा ३७ वटा डल्फिन देखिएका थिए।

डल्फिन पृथ्वीमा रहेका केही धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। डल्फिनलाई नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीको अनुसूचीमा समावेश गरेको छ।

Facebook Comments