असार अन्तिम सातासम्म २३ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौँ – असारको अन्तिम साता लागिसक्दा पनि धान रोपाइँ भने पर्याप्त मात्रामा हुन सकेको छैन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार असार २२ गतेसम्म देशभर २३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

मन्त्रालयका सहायक प्रवक्ता प्रदिपचन्द्र भट्टराईले हाकाहाकीकर्मीसँग कुरा गर्दै रोपाइँ गर्ने समयमा पर्याप्त पानी नपरेको कारण अघिल्लो वर्षको तुलनामा यसवर्ष कम रोपाइँ भएको बताए।

“देशभर हालसम्म २३ दशमलव ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ,” उनले भने, गत वर्षको तुलनामा यसवर्ष रोपाइँ कम भएको हो ।”

मन्त्रालयका अनुसार गतवर्ष यतिबेला ५२ दशमलव ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । तर, यसवर्ष भने धान रोपाइँमा ३० प्रतिशतले कमी आएको छ।

कुन प्रदेशमा कति रोपाइँ ?
हालसम्म प्रदेश १ मा १८ दशमलव ४५ प्र्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश २ मा १०.२५ प्रतिशत रोपाइँ हुँदा प्रदेश ३ मा २०.९९, गण्डकी प्रदेशमा २८.५३, प्रदेश ५ मा २९.५१, कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४४.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयका सहायक प्रवक्ता भट्टराईले जानकारी दिए।

ढिला गरी नेपाल भित्रिएको मनसुन सक्रीय भएपनि पर्याप्त पानी नपर्दा यसवर्षको रोपाइँमा ढिलासुस्ती भएको हो। यसले गर्दा भौगोलिक रुपमा पनि धान रोपाइँमा गत वर्षको तुलनामा यसवर्ष कमी आएको छ ।

कृषि मन्त्रालयका अनुसार हालसम्म उच्च पहाडी भागमा ३४.६४ प्रतिशत, मध्यपहाडी भागमा ३१ .१५ प्रतिशत र तराई क्षेत्रमा २०.७१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष यो समयमा उच्च पहाडी क्षेत्रमा ६१.६५ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ५५.६१ र तराई क्षेत्रमा ५१.५८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

अघिल्लो वर्षको तुलनामा यसपाली ढिलो मनसुन सक्रिय भएकाले किसानहरू समयमा नै रोपाइँ गर्नबाट वञ्चित भएका हुन्। समयमा पानी नपाउँदा, धारा, कुलो, नगर तथा ट्युवेल प्रयोग गरी केही हदसम्म रोपाइँ गर्न सफल भएका छन् । तर, साउन लाग्नै लाग्दा ७० प्रतिशत भन्दा बढी रोपाइँ गर्न बाँकी भएको अवस्थामा गम्भीर किसिमका प्रश्नहरू उब्जन थालेका छन्।

समयमा नै रोपाइँ गर्न नपाउँदा धान नफल्ने हुँदा धान उत्पादनमा ह्रास आउने मन्त्रालय लगायत विभिन्न बाली विज्ञहरूले बताएका छन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा गिरावट आउने सम्भावना देखिन्छ ।अघिल्लो वर्ष ६५ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

मन्त्रालयका अनुसार देशभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टर जमिन धान रोपाइँ हुने क्षेत्रफल अन्तर्गत पर्दछ । जसमध्ये हालसम्म ३ लाख २५ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। गतवर्ष यही समयसम्म ७ लाख २६ हजार २ सय ९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको थियो।

धान उत्पादनमा गिरावट आउने सम्भावना देखिएसँगै अघिल्लो वर्षको तुलनामा चामल आयात बढ्ने अनुमान गरिएको छ। रोपाइँ ढिलो भइरहेको कारण देशको अर्थतन्त्रमा नै नोक्सान हुने सम्भावना पनि बढेको छ।

Facebook Comments