उपकरण नै बिग्रेपछि कसरी थाहा पाउने वायु प्रदूषणको अवस्था ?

काठमाडौँ– केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले एक सार्वजनिक कार्यक्रममा भने, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंको आधा जनसंख्याले मास्क लगाउने गरेका थिए, अहिले मास्क लगाउनुपर्ने अवस्था छैन। त्यसलगत्तै मिडिया, संसद र सामाजिक संजालमा प्रधानमन्त्रीको विरोध भयो। केही सांसदले प्रधानमन्त्रीलाई आफ्नो स्कुटरमा बसेर केही स्थानको भ्रमण गर्न चुनौती समेत दिए।

पछि फेरि प्रधानमन्त्रीले भने, ‘केही व्यक्तिले मेरो विरोध गर्नकै लागि पनि मास्क लगाइरहेका छन्। वास्तवमा काठमाडौँमा प्रदूषणको अवस्था के छ ? घटेकै हो त ? उच्च सरकारी अधिकारीहरू हिजोआज यी विषयमा खासै बोल्न मान्दैनन्। बोल्दा प्रधानमन्त्रीको भनाईको खण्डन भएर अप्ठेरोमा परिने हो कि भन्ने चिन्ता उनीहरूलाई छ।

उसो त काठमाडौँको वायु प्रदूषणलाई मापन गर्न भन्दै केही वर्ष पहिले निकै तामझामका साथ वायु प्रदूषण मापन केन्द्र स्थापना गरिएको थियो। यदि ति उपकरणलाई सरकारी निकायले हाम्रो हेरचाह गरेको भए यकीनका साथ काठमाडौैका प्रदूषणको वैज्ञानिक अवस्था पत्ता लाग्ने थियो। तर, बिडम्बना अधिकांश वायु प्रदूषण मापन यन्त्रहरूले काम गरिरहेका छैनन्।  जसले गर्दा प्रदूषणको विषयमा सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म अनुमान मात्र गरिरहेका छन्।

काठमाडौँको वायु प्रदूषण घटेको सरकारले दाबी गरिरहेका बेला वायु प्रदूषण मापन गर्न राखिएका आधा भन्दा बढी मेशिन बिग्रिएको अवस्थामा छन्।

रूपन्देहीको लूम्बिनी, ललितपुरको भैँसेपाटी, सुनसरीको झुम्का, काभ्रेको धुलिखेल, पोखराको जिबिएस र सिमराका मेसिनहरू बिग्रिएको लामो समय भइसकेको भएपनि विभागको तर्फबाट त्यसको मर्मतको लागि कुनै पहल भएको छैन्।

हाल भक्तपुरको विरेन्द्र स्कूल, काठमाडौँको शंखपार्क, नेपालगञ्ज, पोखराको पोखरा विश्व विद्यालय, पोखराको डिएचएम, ललितपुरको पुल्चोक, काठमाडौँको रत्नपार्क, दाङ र चितवनको सौरहामा रहेका मेसिनहरूले वायु प्रदूषण मापन गरिरहेका छन्।

त्यसैगरी अमेरिकी सरकारको पहलमा फोरा दरबार काठमाडौँ र अमेरिकी राजदूतावास बाहिर रहेका मेसिनहरूले हरेक घण्टा वायु प्रदूषण मापन गर्ने गरेका छन्।

वायु प्रदूषण मापन गर्न देशभर १७ वटा वायु प्रदूषण गुणस्तर नाप्ने उपकरण जडान गरिएको छ । जसमध्ये ११ ओटा चालू अवस्थामा छन्।

वातावरण विभागले सार्वजनिक गरेको २०१७ को विश्लेषणात्मक प्रतिवेदनमा लुम्बिनीमा प्रदूषण उच्च छ। तर, त्यस क्षेत्रमा बिग्रिएको मेसिनको मर्मत भने हुन सकेको छैन्।

वातावरण विभागका सूचना अधिकारी शंकर प्रसाद पौडेले बिग्रिएका मेसिनहरूको मर्मत गर्न दुई साता लाग्ने बताएका छन्।
‘लुम्बिनीमा रहेको वायु प्रदूषण मापन उपकरण विभागको मातहतका पर्दैन् बाँकी सबै हाम्रो नै हुन्,’ उनले भने, ‘त्यसको मर्मत हुन अझै दुई साता लाग्छ होला।’

बर्खाको समय भएकाले पनि बिग्रिएका मेसिनहरूको मर्मत तत्कालै गर्न असम्भव रहेको पौडेलको भनाई छ। पछिल्लो २४ घण्टामा रत्नपार्कको पीएम २.५ मात्रा १.८२७ मिलिग्राम प्रतिघनमिटर थियो। त्यसैगरी पुल्चोकको ७.०४४ मिलिग्राम प्रतिघनमिटर थियो।

हाल काठमाडौँमा रहेको मेसिनहरूले पीएम २.५को मात्रा १०.१९ मिलिग्राम प्रतिघनमिटर मापन गरिरहेका छन्।

Facebook Comments