विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौँ– भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

यसको अर्थ अब विषादी परिक्षण नगरी तरकारी तथा फलफूल बाेकेका भारतीय ट्रकहरू कम्तीमा आइतबारसम्म नेपाल भित्रन पाउने छैनन्। साथै विषादीको परीक्षण गर्नु नपर्ने कारण, परीक्षणका लागि अहिलेसम्म भएका प्रगति र भावी कार्य योजना सहित आइतबार छलफलका लागि उपस्थित हुन पनि सर्वाेच्चले सरकारलार्इ आदेश दिएको छ । अल्पकालिन आदेशको अर्थ आइतबार छलफल हुने दिनसम्मको लागि सरकारको सो निर्णय कार्यान्वयन नगर्ने भन्ने हुन्छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा  नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो । गत १८ गतेको मन्त्री परिषद्को बैठकल भारतबाट भित्रने तरकारी तथा फलफूलको परीक्षण गर्ने निर्णय खारेज गरेको थियो।विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा नरहेको प्रश्न उठेको बताएको छ ।

विषादी परीक्षण गर्ने मेसिन नभएको बाहानामा विषादीयुक्त तरकारी तथा फलफूलहरू बेच्न खोज्नु नेपालको संविधानले सुरक्षित गरेको खाद्यको मौलिक हक विरुद्ध रहेको भन्दै निवेदकहरूले रिट दर्ता गराएका थिए। साथै मौलिक हकसँग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सूचनालाई सच्याउन नमिल्ने रिटमा उल्लेख छ।

सो मुद्दाको बुधबार भएको सुनवाईमा न्यायाधीश डा.आनन्द मोहन भट्टराईको एकल इजालसले सरकारलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो। विषादी परीक्षण बारे परेका सबै रिट उवर भट्टराईको इजालसमा एकैपटक सुनुवाई भएको हो।

Facebook Comments