कुन नदीको के महत्त्व छ भन्ने विषयमा अध्ययन हुँदै

काठमाडौँ – देशभर रहेका नदीहरूमा पानीको अवस्था, त्यसको विद्यमान प्रयोग, नदीमा रहेका जैविक विविधता र महत्त्वका विविध पक्षहरू खोजी गर्ने उद्देश्यले दुई छुट्टाछुट्टै वृहत अध्ययन हुने भएको छ।

जल तथा उर्जा आयोगको सचिवालयले यस सम्बन्धमा एक वर्ष अघिदेखि नै अध्ययन गरिरहेको छ। त्यसैगरी अमेरिकी सहयोग नियोग युएसआइडीको पानी परियोजनाले पनि विभिन्न नदीको महत्त्व र त्यसको प्रयोगका विविध आयामहरू समेटेर अध्ययनको तयारी गरिरहेको छ।

अहिलेसम्म नदी सम्बन्धी कुनै नीति नभएको र कुनै खास नदीको के महत्त्व छ भन्ने विषयमा अध्ययन नभएको पृष्ठभूमिमा हुन लागेका दुवै अध्ययनले आगामी दिनमा नीति निर्माण र ऐन बनाउन महत्त्वपूर्ण सहयोग गर्ने सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्।

पानी परियोजनाले गर्न लागेको अध्ययनका सम्बन्धमा विज्ञ र सरोकारवालाहरूसँग राय लिन विहीवार काठमाडौँमा आयोजित दुई दिने गोष्ठीमा बोल्दै जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव ऋषि शर्माले नदीका पानीको अवस्था, अहिले कसरी प्रयोग भइरहेको छ र कुन नदीमा अहिले के–के संरचना छन् भन्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए।

‘हाम्रो परियोजना सन् २०१८ मा शुरु भएको हो र आगामी दुई वर्षमा अध्ययन सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । यसको मुख्य उद्देश्य वातावरण संरक्षण गर्दै पानीको उच्चत्तम प्रयोग गर्नु हो। पानी परियोजनाले गर्ने अध्ययनले पनि नीति निर्माण गर्नका लागि ठूलो टेवा मिल्दछ,’ उनले भने । सो अध्ययनपछि नदी वेसिनलाई केन्द्रित गरेर एक छुट्टै निकाय बनाइने र त्यसले नदीको बारेमा समग्र जानकारी र ज्ञान राख्ने शर्माले जानकारी दिए।

‘प्रत्येक नदीको बारेमा पर्याप्त जानकारी भएपछि संघ, प्रदेश तथा स्थानीय सरकार कसैले नदीको उपयोगको कुनै विषय अगाडि बढाउँदा हामीले नदीको अवस्थाको वारेमा यकीन जानकारी दिनसक्छौ’, उनले भने।

२०७२ सालमा जारी भएको संविधानले संघ, प्रदेश र स्थानीय तिनै तहलाई नदीको उपयोगको बारेमा बरोबरी अधिकार प्रदान गरेको छ । नदीको विषय संविधानमा साझा अधिकारीको सूचीमा राखिएको छ। त्यसैले नदीको उपयोगका सम्बन्धमा तीन तहका सरकारहरूबीचमा द्वन्द्व समेत आउन सक्छ।

नेपालका नदीहरूको संरक्षणमा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको पानी परियोजनाले विभिन्न अन्तर्राष्ट्रिय संस्था, विज्ञ र विश्व विद्यालयहरूलाई समेत सहभागी गराएर कुन नदीको के महत्त्व छ भन्ने विषयमा वृहत अध्ययनको तयारी गरेको छ।

सो कार्यक्रममा अध्ययन गर्न लागिएको विषयमा बोल्दै विज्ञ जेफ ओपरम्यानले स्थानीय समुदायले कुन नदीको कुन पक्षलाई प्राथमिकता दिइरहेका छन् भन्ने विषयमा अध्ययन केन्द्रित हुने बताए। विशेषत नदीको .जैविक विविधता, पर्यावरण, जलविद्युत, सांस्कृति र पर्यटकिय लगायतका पक्षहरूलाई केन्द्रमा राखेर सो अध्ययन गरिने छ।

अध्ययनले अन्य देशमा भएका अध्ययनहरूलाई पनि सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने छ। विशेषतः जलविद्युतको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विज्ञहरू सो अध्ययनमा सहभागी हुने छन्।

अध्ययनले अहिलेको उर्जा प्रणालीको मूल्याङन, विभिन्न महत्त्वका नदीहरूको संरक्षण र कर्णाली लगायत अन्य नदी संरक्षणमा भइरहेका प्रयासहरूलाई अझ कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषय पनि समेट्ने छ। विशेषतः अहिले खोलाको प्रयोग जलविद्युत लगायत विभिन्न प्रयोजनाका लागि भइरहेको छ। तर, त्यसले खोलमा पारेको नकारात्मक असरका बारेमा कुनै अध्ययन भएको छैन्।

विभिन्न नदीमा जलविद्युत आयोजना निर्माणका लागि धमाधम लाइसेन्स दिने काम भइरहेको छ। तर, एउटा खोलाको लागि कति अनुमति दिने, कति क्षेत्रमा दिने लगायतका विषयमा भने अध्ययन भएको छैन्। जसले गर्दा एकातिर खोलमा रहेका जलचरहरूलाई असर गरिरहेको छ भने कतिपय सन्दर्भमा खोला नै सुक्ने समस्या समेत देखिएको छ।

स्थानीय तहमात्र होइन, कुन खोलाको महत्त्व के छ भन्ने विषयमा राष्ट्रिय तहमा समेत कुनै पनि अध्ययन भएको छैन्। यदि वृहत अध्ययन भएमा पानीसम्बन्धी कुन कुन पूर्वाधार बनाउने र संरक्षणका लागि के के गर्न सकिन्छ भन्ने विषयमा समेत स्पष्ट हुने विज्ञहरूको भनाई रहेको छ।

त्यसैगरी अहिले भइरहेका प्रयासहरूलाई कसरी स्तरोन्नति गर्ने भन्ने विषयमा समेत अध्ययन केन्द्रित हुने भएको छ। समग्रमा भन्नुपर्दा नदीहरूबाट सकेसम्म बढी कसरी लाभ लिने र नदीहरूको संरक्षण पनि कसरी गर्ने भन्ने विषय नै अध्ययनको मुख्य उद्देश्य हो । सबै नदीहरूको उपयोग र संरक्षणमा एकै किसिमको मोडलले काम गदैन्। प्रत्येक नदीको अध्ययन भएपछि त्यसको उपयोग र संरक्षणका लागि त्यही किसिमको संरक्षण नीति बनाउन सहयोग पुग्ने सरोकारवालाहरूको भनाई छ। निष्कर्षमा भन्दा पानीको गुणस्तर र मात्रा दुवैलाई कसरी कायम राख्ने भन्ने नै यि प्रयासहरूको उद्देश्य रहेको छ।

Facebook Comments