पहाडी क्षेत्रमा पानीका मुहान सुक्दैः अध्ययन

काठमाडौँ–पहाडी क्षेत्रमा रहेका पानीका मुहान सुक्दै जान थालेको एक अध्ययनले देखाएको छ।
अमेरिकी सहयोग नियोग युएसआइडीको पानी परियोजनाले सन् २०१८ जुनदेखि सन् २०१९ जुनसम्म गरेको अध्ययन हालै सार्वजनिक गरिएको छ।

परियोजनाले ‘मध्य र सुदूरपश्चिमका पाँच जलाधार क्षेत्रमा रहेका मुहान प्रदूषण मापन तथा आँकलन’ सम्बन्धी अध्ययन गरेको थियो। सो अध्ययनले पानीका मुहान सुक्दै जान थालेको देखाएको छ।

परियोजनाले पाँच जलाधार क्षेत्रमा रहेका ४ हजार २ सय २२ मुहानको अध्ययन गरिएको थियो। जसमा झुम्रुकका ४९३ वटा मुहान, मध्य कर्णालीका १ हजार ९६० मुहान, बोटान तल्लो कर्णालीका २१३ मुहान, ठुलीगाढका ४३४ मुहान र रगुंनका १ हजार १२२ मुहान रहेका थिए।

अध्ययन गरिएका मध्य बोगटान तल्लो कर्णालीका मुहानमा पानीको सतह घट्दै गएको तथ्यांकले देखिएको छ। बोगटान तल्लो कर्णालीमा ९८ दशमलव ७८ प्रतिशत मुहानमा पानी घटेको छ। झुम्रुकमा ८४ दशमलव ८६ प्रतिशत मुहानमा पानी घटेको छ। मध्यकर्णालीमा ७१ दशमलव ६७, ठूलीगाडमा ६६ दशमलव २२ र रगुंनमा ७२ दशमलव ५९ प्रतिशत मुहानमा पानी घटेको छ।

त्यस्तै झुम्रुकका ३ दशमलव ७८ प्रतिशत मुहान सुकेका छन्। भने, मध्य कर्णालीमा शून्य दशमलव ६५ प्रतिशत र रगुंनमा २ दशमलव शून्य ७ प्रतिशत मुहान अध्ययनले जनाएको छ।

अध्ययनले मुहान सुक्नु र पानी घट्दै जानुमा विभिन्न कारण पत्ता लगाएको छ। ‘मुहानमा पानी रिजार्च हुन नपाउनु,पानीका तालहरू नहुनु, कक्रिट ट्याङ्की बनाउनु, जथाभावी नयाँ संरचना बनाउनु जस्ता कारणले मुहानमा पानी सुक्दै गएको छ,’अध्ययनमा भनिएको छ।

अध्ययनका अनुसार ५६ प्रतिशत पानीका मुहान खुल्ला रहेका छन्। भने १५ प्रतिशत मुहानमा ट्यांकी बनाएको छ। १५ प्रतिशत पोखरी, १३ प्रतिशत ढुंगाबीचबाट निस्कने मुहानको पानी र १ प्रतिशत इनार रहेको छ।

मुहानको पानी सबैभन्दा बढी सिँचाइका लागि प्रयोग गरिने अध्ययनले बताएको छ। ‘४७ दशमलव ८ प्रतिशत मुहानको पानी सिँचाइका लागि प्रयोग गरिन्छ। ३० दशमलव ६ प्रतिशत मुहानको पानी तरकारी खेती प्रयोग गरिन्छ,’ अध्ययन भन्छ, ‘१६ दशमलव ४ प्रतिशत मुहानको पानी खेर गइरहेको छ।’

४ दशमलव ७ प्रतिशत मुहान नदी तथा नालाका किराना छेउमा रहेको अध्ययनले देखाएको छ। ‘स्थानीयका अनुसार २० वर्ष पहिला २० लिटरको भाँडो भरिन पाँच सेकेन्ड लाग्ने गरेको थियो भने १० वर्ष अगाडि ७ दशमलव ६७ सेकेन्ड लाग्छ भने हाल १० दशमलव ४३ सेकेन्ड लाग्ने गरेको छ,’अध्ययनले भनेको छ।

Facebook Comments