काठमाडौँका विद्यार्थीको प्रमुख समस्या खानेपानी

काठमाडौँ – पछिल्लो समय काठमाडौँको प्रमुख समस्या मध्येको एक हो खानेपानीको अभाव। आफ्नो उज्ज्वल भविष्यको कामना गर्दै देशका विभिन्न भेगबाट उपत्यका भित्रिएका मानिसहरू अहिले खानेपानीको अभावमा सकसपूर्ण जीवन बिताइरहेका छन्।

तै पनि काठमाडौँमा विकराल रहेको खानेपानीको समस्यालाई नजर अन्दाज गर्दै उच्च शिक्षाको लागि विभिन्न जिल्लाहरूबाट विद्यार्थीहरू प्रवेश गरिरहेका छन्। शिक्षा तथा ज्ञान हासिल गर्ने कुरालाई एकातिर राखेर हेर्ने हो भने विद्यार्थीको दैनिक जीवन यापनमा आइपर्ने विभिन्न आवश्यकताहरूले अझै समस्या बढाइरहेको देखिन्छ।

उपत्यकामा रहेका कलेजहरूमा बिहानी, दिवा तथा बेलुकी गरेर विभिन्न समयमा विभिन्न तहको कक्षा सञ्चालन हुने गर्दछ। बिहान, दिउँसो तथा बेलुका गरी तिन चरणमा पढाई हुने काठमाडौँका कलेजको नियमानुसार नै विद्यार्थीहरु अध्ययन गर्न जान्छन् । अध्ययन गर्दागर्दै समय निकालेर कतिपय विद्यार्थीहरुले जागिर पनि गरिरहेका छन् त कतिपयले भने गरेका छैनन्।

उपत्यकामा सर्वसाधारणलाई सहज हुनेगरी सरकारले हप्तामा २ पटक खानेपानीको व्यवस्थापन गरिदिने गरेको छ । काठमाडौँमा रहेको खानेपानी समस्या तुलनात्मक रुपमा यहाँ बसोबास गर्दै आइरहेका सर्वसाधारणले भन्दापनि विद्यार्थीले बढी महसुस गर्ने गरेका छन् । कलेज तथा कार्यालय जानुपर्ने, बेलुका कोठामा आउँदा धारामा पानी नआउने समस्याले जीवनयापन नै कठिन भएको विद्यार्थीहरूको गुनासो छ।

विगत १ वर्षदेखि कीर्तिपुरमा बस्दै आइरहेकी बिष्णु खत्री काठमाडौँमा भएको पानीको समस्याको कारण आफ्नो बसाई व्यवस्थित बनाउन मुस्किल भइरहेको बताउँछिन् । ‘धारामा हप्तामा एकचोटी पानी आउने भनेपनि कहिलेकाहीँ त्यसले धोका दिन्छ, फोहोर भएर आएको त्यो पानी दुई दिन पनि पुग्दैन,’ उनले भनिन्, ‘ट्याङ्करको पानीलाई १ बाल्टीको २० रुपैयाँ पर्छ, किनेर सम्भव नै छैन ।’

ट्याङ्करको पानी किनेर खान, कपडा धुन, भाँडा माझ्न तथा सफा गर्न विद्यार्थीलाई खर्च बढी लाग्ने भएकोले सम्भव नै नभएको उनी बताउँछिन् । सरकारले ल्याउने भनेको मेलम्चीको पानी समयमा नआउँदा खानेपानीको समस्या बढ्दै गइरहेको भन्दै दुःख व्यक्त गरिन् ।

अध्ययनसँगै जागिर गर्नेहरूको पनि खानेपानीको छुट्टै पीडा छ । काठमाडौँको बसाईलाई व्यवस्थापन गर्ने उद्देश्यले रोजीरोटीको खोजी गर्न हिँडेका विद्यार्थीहरु थप तनावमा देखिन्छन् । विहानै कलेज, त्यसपछि अफिस, अफिसको काम सकेर घर पुग्दा पानी नहुँदा दैनिक जीवन यापन नै धरासायी बनेको भन्दै विद्यार्थीहरूले दुखेसो पोख्ने गरेका छन्।

धादिङ घर भई गोगंंबु बस्दै आइरहेकी आकृना खकुरेल पनि विद्यार्थी भएकै कारण खानेपानीको समस्याले सताएको बताउँछिन् । ‘आफूलाई फुर्सद भएको तथा आवश्यक परेको समयमा नुहाईधुवाई गर्न पानी हुँदैन, दुई हप्ता बिराएर कपडा धुनुपर्छ’ उनले भनिन्, ‘हप्तामा २ चोटी मात्र धारामा आउने खानेपानीलाई भाँडामा भरेर राख्नुपर्छ, त्यो पानी दुई दिन भन्दा बढीलाई पुग्दैन।’

काठमाडौँको यो समस्या अहिलेको मात्र होइन, दशकांै अघिदेखि काठमाडौँमा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीले यो समस्या भोग्दै आइरहेका छन् । आजभन्दा धेरै वर्ष अगाडिदेख नै काठमाडौँका बासिन्दालाई परेको खानेपानीको समस्यालाई हटाउने उद्देश्यले मेलम्ची आयोजनाको काम सुरुवात भएको थियो । उक्त मेलम्चीको काम अहिलेपनि विभिन्न कारणले रोकिँदै अगाडि बढ्दै गरिरहेको छ।

खानेपानीको समस्या हटाउन मेलम्चीः मन्त्रालय
खानेपानी मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले काठमाडौँमा रहेको खानेपानीको समस्यालाई हटाउने उद्देश्यले मेलम्ची खानेपानी आयोजनाको काम सुरु गरिएको बताए। हाकाहाकीसँग कुरा गर्दै मेलम्ची खानेपानी आयोजनाको काम ११ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

हिउँदको भन्दा वर्षातको समयमा पानीको समस्या केही हदसम्म कम हुने उनी बताउँछन् । ‘अहिले बर्खाको समय भएकोले आकासबाट आएको पानी सर्वसाधारणले जम्मा गरेर सरसफाईको लागि प्रयोग गर्छन् जसले अन्य पानीको खपत न्यून हुन्छ,’ उनले भने, ‘बर्खा लागेसी बाग्मतीको पानीलाई सुन्दरीजलमा भएको पानी प्रशोधन केन्द्रमा खसाल्ने र त्यसले पुग्ने जति क्षेत्रमा पानी पुर्याउने पहल गरिरहेका छौँ ।’

सुन्दरीजलमा भएको पानी प्रशोधन केन्द्र मेलम्ची आयोजना अन्र्तगत पर्छ। अघिल्लो वर्षपनि सोही ठाउँमा पानी प्रशोधन गरी असोज–कात्र्तिक सम्मको पानीको समस्यालाई केही हदसम्म कम गर्न सफल भएको उपाध्याय बताउँछन्। अघिल्लो वर्ष जस्तै यसवर्ष पनि त्यसरी नै प्रशोधन गर्नको लागि १÷२ चरणको छलफलको काम भइरहेको उनले बताए।

पछिल्लो समय काठमाडौँमा बढिरहेको जनसङ्ख्यालाई अनुमान गर्न नसकेपनि २०६८ सालको जनगणनालाई आधार मानेर हेर्दा करिब ३० वर्षसम्मलाई पहिलो, दोस्रो तथा तेस्रो चरणको पानीले पुग्ने अनुमान गरिएको उनको भनाइ छ।

पहिलो चरणमा मेलम्ची, दोस्रोमा याग्री र तेस्रो चरणमा लार्केबाट पानी थप गरिने उनले बताए । याग्री र लार्के मेलम्ची देखि केही माथि पर्छ । दोस्रो र तेस्रो चरणको लागि पनि सम्भाव्यता अध्ययनको काम भइरहेको उपाध्यायले जानकारी दिए।

काठमाडौँमा खानेपानी व्यवस्थापनको लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ट्याङ्करको पानी वितरण गर्ने गर्दछ।

Facebook Comments