राप्ती नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ– निरन्तरको वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ ।

नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ। बाँकेमा नदीय तटीय क्षेत्रका झण्डै २४ हजार बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन्। बाँकेको नेपाल –भारत सीमा क्षेत्र नजीक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन्।

तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेको बताइएको छ।

गत वर्ष बाढी र डुबानमा परी बाँकेमा आठ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ।

यो वर्ष बाँकेमा बाढी र डुबानको जोखिम कम गर्न तथा तत्काल उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न लगाएको छ।

बाढी र डुबानको विपद् आएको समयमा नागरिकको उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेको छ । नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको छ।

आउँदो २४ घण्टासम्म पनि मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने मौसमविद्हरुको भनाइ छ । हाल देशभरको मौसम पूर्ण बदली रहेको र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

Facebook Comments