‘वातावरण विधेयकले जलवायु परिवर्तनको विषय बाइपास गर्‍यो’

काठमाडौँ – सरकारले संसदमा दर्ता गराएकाे ‘वातावरण संरक्षण ऐन २०७५’मा समावेश विषयवस्तु वातावरण संरक्षणका लागि पर्याप्त नभएको यससँग सरोकारवालाहरूले जनाएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित ‘दीगो विकासका लागि वातावरण संरक्षण विधेयक’ विषयक बहस कार्यक्रममा बोल्दै वातावरणविद्, वातावरण कानूनविद् तथा यससँग सम्बन्धित विभिन्न व्यक्तिहरूले वातावरण संरक्षण ऐन संशोधन नगरी पारित गर्न नहुने धारणा राखेका छन्।

पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङको प्रमुख आतिथ्य तथा नेपाल वातावरण पत्रकार समूह, साउथ एशिया इन्टिच्युट अफ एडभान्स स्टडीज्, दीगो विकास इन्टिच्युट, युथ एलाइन्स फर इभारमेन्ट र क्लिन इनर्जी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा वातावरण विधेयक २०७५ मा समावेश गरिएको बुँदाहरू अपूर्ण भएको सहभागीले जनाए।

काम नै नगर्ने वातावरण संरक्षण परिषद् चाहिदैन : सांसद तामाङ
सांसद तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले वातावरण संरक्षण तथा जलवायु परिवर्तन परिषद्को आवश्यकता नरहेको बताएका छन्।

कार्यक्रममा बोल्दै सांसद तामाङले लामो समयदेखि बैठक समेत नबसेकोे उक्त परिषद्लाई खोपीको देउताको रुपमा राख्नु सट्टा छुट्टै अधिकार सम्पन्न संस्थाको आवश्यकता रहेको बताए।

कार्यक्रममा थप बोल्दै उनले भने, ‘वातावरणसँग सम्बन्धित विषय हरेक कानूनमा समावेश छ। वातावरण र विकासको विषयमा प्राय विवाद हुँदै आएको छ, तर यो विषयलाई नै कसैले बुझ्न सकेका छ्रैनन्।’ उनले भने, वातावरण संरक्षणकर्मी तथा यससँग सरोकारवालाले विकास नै नगरी बस त भनेको छैन् नि विकास गर्दा वातावरणलाई प्रभाव नपार्ने गरी गर्नुपर्छ। विदेशमा रुखको फेदमा पनि बाटो हुन्छ, बाटोको छेउमा राम्रोसँग दुबो उम्राउन सकिन्छ।’

यसका साथै वातावरण निरीक्षक नियुक्त गर्दा लोकसेवा परीक्षा पास गरेको योग्य व्यक्तिलाई मात्र चयन गर्नुपर्ने उनको धारणा छ। ‘पोलिटिकल साइन्स पढेकालाई वातावरण निरीक्षक तोक्दा कसरी हुन्छ वातावरण संरक्षण, यो सबै कुरालाई बुझ्न नसकेर अहिले धेरै कुरा बिग्रिरहेको छ,’ उनले भने।

जलवायु परिवर्तनको कारण हिमालमा हिउँ घट्दै गएको प्रसंग उठाउँदै उनले हिमाललाई जलवायु परिवर्तनले असर गर्यो भने हिमालको बेसमा बसेको सभ्यता नै नष्ट हुने बताए।

हाल संसदमा दर्ता भएको वातावरण विधेयक त्रुटीपूर्ण भएकाले संशोधन गर्नुपर्ने उनको भनाइ छ । वातावरण विधेयकमा समावेश गरिएका कतिपय विषयहरू अमुर्त छ त्यसलाई संशोधन गर्नुपर्छ । वातावरण विभागलाई अधिकार सम्पन्न निकायको रुपमा विधेयकले नै तोक्नुपर्छ, उनले भने।

विधेयकमा समावेश शब्दहरू अस्पष्ट छन् : वातावरणविद् उप्रेती
कार्यक्रममा बोल्दै वातावरणविद् बटुकृष्ण उप्रेतीले विधेयकमा समावेश गरिएको बुँदा तथा शब्दहरू आफैँमा अस्पष्ट भएको बताए । विधेयकमा रणनीतिक वातावरण विश्लेषण भन्ने शब्द किन राखियो, यसको मतलव के हो प्रष्ट भएको छैन्, उनले भने, वातावरणीय प्रभाव मूल्यांकनको अडिट गर्ने प्रस्तावक नै भनिएको छ, यसरी प्रस्तावक आफैँले अडिट गर्दा पारदर्शी होला त ?’

जलवायु परिवर्तनको विषय अपुग भयो : अधिवक्ता मैनाली
जलवायु परिवर्तन तथा वातावरण संरक्षण क्षेत्रमा काम गर्दै आएकी अधिवक्ता जोनी मैनालीले अहिलेको विधेयकमा समावेश गरिएको जलवायु परिवर्तनका परिभाषा तथा त्यसँग सम्बन्धित ऐन पर्याप्त नभएको बताइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, ‘जलवायु परिवर्तनको विषयलाई विधेयकमा केही समेटिएको छ । तर, यसमा धेरै कुरा समेटिनुपर्छ । छुट्टै कानून आउनु पर्छ भन्ने छैन्, तर जलवायु परिवर्तनको विषय विस्तृत रुपमा समावेश गरिनुपर्छ।’

प्रदूषण नियन्त्रणको विषयलाई अझै थप्नुपर्छ : पूर्व सचिव ज्ञवाली
नेपाल सरकारका पूर्व सचिव कृष्ण ज्ञवालीले कार्यक्रममा बोल्दै वातावरण संरक्षण विधेयकमा प्रदूषण नियन्त्रणको विषय थोरै मात्र समावेश गरिएको बताउँदै यसलाई विस्तुत रुपमा समेटिनुपर्ने धारणा राखे। यसका साथै वातावरण संरक्षण विधेयकमा जलवायु परिवर्तनको विषय समावेश गर्दा केही फरक नपर्ने तर त्यसलाई विस्तृत रुपमा समावेश गर्नुपर्ने उनको भनाइ छ।

जलवायु परिवर्तनलाई ६ वटा बुँदामा राखेर पुग्दैन : वातावरणविद् ढकाल
बहस कार्यक्रममा बोल्दै वातावरणविद् मञ्जित ढकालले वातावरण संरक्षण ऐनमा जलवायु परिवर्तनको विषय थोरै मात्र समावेश गरिएको बताए। अहिले बन्ने विधेयकले भावी पुस्तालाई मार्गदर्शन गर्नुपर्ने बताउँदै उनले भने, ‘ पृथ्वीको औसत तापक्रम एक डिग्रीले बढिरहेको छ। उत्सर्जन बढेको छ, सन् २०५५ सम्ममा पृथ्वीको ताफत्रम ११ प्रतिशतले बढ्छ, सुख्खाका दिन बढ्छ। हामीले वातावरण संरक्षण विधेयकमा ६ वटा बुँदा राखेर जलवायु परिवर्तनको विषयलाई न्याय गरेका छौँ त ? अहिले भएको समस्यालाई सुधार गर्नुपर्छ, जलवायु परिवर्तनको विषय वातावरणको विषय मात्र होइन। यसलाई विस्तृत रुपमा समेटिनुपर्छ ।’

वातावरण विधेयकमा जलवायु परिवर्तनको विषय बाइपास भयो : वातावरण कानूनविद् श्रेष्ठ
वातावरण संरक्षणमा लामो समयदेखि कार्यरत वातावरण कानूनविद् पदमबहादुर श्रेष्ठले वातावरण संरक्षण विधेयकमा समावेश जलवायु परिवर्तनको विषय अपूर्ण भएको बताए। ६ वटा दफामा मात्र सीमित बनाइएकोले जलवायु परिवर्तनको विषयलाई बाइपास गरिएको उनको धारणा छ।

Facebook Comments