राप्तीमा पानीको बहाव बढ्दो, सर्तक रहन आग्रह

राँझा– राप्ती नदीमा पानी बहावको सतहले ‘खतराको विन्दु’ पार गरेपछि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

पहाडी क्षेत्रमा लगातारको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै गएको हो । शनिबार दिउँसो ३ः३० बजे नदीको सतहले ‘खतराको विन्दु’ पार गरेको हो । राप्ती नदीको कुुसुमस्थित मापन केन्द्रका अनुसार, पाँच मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’ मानिन्छ । राप्ती नदीले अहिले त्यो तह पार गरिसकेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका अनुसार रातभरिको वर्षाले नदीको सतह बढ्ने क्रम जारी रहेकाले राप्ती तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको हो।

राप्ती नदीमा पानीको सतह बढेसँगै फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, र नरैनापुरका केही भाग डुबानमा परेका छन् ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुबानमा पर्दै आएका छन् ।

त्यसैगरी, राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो ।

Facebook Comments