पत्रपत्रिकामा आजः डेढ अर्ब विपत् व्यवस्थापन कोषमाः बाढी–पहिरोपीडित बिचल्लीमा, भारतीय बाँधले नेपाली बस्ती डुबानमा

आइतवार, असार २९, २०७६

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा डेढ अर्ब विपत् व्यवस्थापन कोषमाः बाढी–पहिरोपीडित बिचल्लीमा भन्ने शिर्षकमा नवराज मैनालीको समाचार छापिएको छ। बर्सेनि बाढी–पहिरोमा परी दर्जनौँले ज्यान गुमाउँछन् । हजारौँ प्रभावितको महिनौँसम्म बिजोग हुन्छ । हरेक वर्ष विपत् आउँछ भन्ने थाहा छ, तर यससम्बन्धी पर्याप्त तयारी सरकारले कहिल्यै गर्दैन । व्यवस्थित र प्रभावकारी उद्धार तथा राहत हुँदैन । त्यसैले स्रोतसाधनको अभावका कारण नभई व्यवस्थापन क्षमताको कमीले सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।गृह मन्त्रालयको केन्द्रीय विपत् व्यवस्थापन कोषमा यसवेला डेढ अर्ब रुपैयाँ छ । तर, देशभर बाढीपहिरोले हजारौँको बिचल्ली हुँदा विपत्मा खर्च गर्न भनेर राखिएको रकम खर्च हुन सकेको छैन ।

-भत्केपाटी–नगरकोट सडक ६ वर्षदेखि अलपत्र भन्ने शिर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ। कमलविनायकको धत्केपाटीदेखि नगरकोट जोड्ने ९१५।६६ किमि० सडक विस्तार र कालोपत्रेको काम अलपत्र बनेको छ । दुई वर्षमा काम सक्ने जिम्मा लिएको निर्माण कम्पनीले ६ वर्षमा पनि काम पूरा गरेको छैन । सडक निर्माणमा सरकारले बेवास्ता गर्दै आएको छ । तीनपटक म्याद थप गर्दासमेत कम्पनीले काम नगरेपछि एक वर्षदेखि म्यादसमेत भएको छैन । निर्माण कम्पनीले सरकारले बजेट नदिएकाले काम गर्न नसकेको दाबी गर्दै आएको छ । कालोपत्रे गर्न ढिलाइ हुँदा पानी पर्नासाथ सडक हिलाम्मे हुन्छ । घाम लाग्नासाथ फेरि धुलाम्मे बन्छ । यात्रुले सधैँ सास्ती खेपिरहेका छन् ।

-बाढीले नौ राजमार्ग र तीन पुलमा क्षति भन्ने शिर्षकमा जीवन बस्नेतको समाचार छापिएको छ। बिहीबारदेखि परेको वर्षाले नेपालभरका विभिन्न सडक र पुलमा मात्र ४० करोड रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान छ । सडक विभागका अनुसार देशका मुख्य नौ वटा सडक र तीनवटा निर्माणाधीन पुलमा क्षति पुगेको छ । बर्दिबासनजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ भने हुलाकी सडकको सप्तरीस्थित निर्माणाधीन सडक पुल भत्किएको छ ।

गोरखापत्र
-आजको गोरखापत्रमा राहत र उद्धारमा एकद्वार भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। सरकारले बाढी, पहिरो र वर्षा पीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्देशनमा शनिबार सिंहदरबारमा बसेको बैठकले राहत, प्रतिकार्य र पुनःलाभका कार्यमा एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको हो । त्यसका लागि विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजकत्वमा विषयगत क्षेत्रको बैठक बसी विपद्ले पु¥याएको क्षति, खोज एवं उद्धार, राहत, प्रतिकार्य र पुनःलाभका लागि सरोकारवालालाई सक्रिय गराउने निर्णय गरिएको छ ।

-वर्षाले उद्योग बन्द भन्ने शिर्षकमा शशीधर पराजुलीको समाचार छापिएको छ। सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द भएका छन् । अविरल वर्षाका कारण पानी पसेपछि उद्योग बन्द भएका हुन् । करिडोर अन्तर्गतका अधिकांश उद्योग उत्तर दक्षिण कोसी राजमार्गको आसपासमा छन् । त्यसबाहेक विराटनगर–रङ्गेली सडक खण्ड र दुहवी–इनरुवा सडक खण्ड आसपासमा छन् । ती उद्योगमा अधिक पानी जमेका कारण उद्योग चलाउन सक्ने अवस्था छैन ।

-उडान नहुँदा पर्यटक अलपत्र भन्ने शिर्षकमा सन्तोष राउतको समाचार छापिएको छ। सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्ला विमानस्थलमा तीन दिनदेखि उडान नहुँदा पर्यटक अलपत्र परेका छन् । मनसुन सुरु भएसँगै लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका हुन् ।

राजधानी
-आजको राजधानीमा उपत्यका नै जोखिममा भन्ने शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीब्रता पाएको छ । जसका कारण काठमाडौं, ललितपुर र भक्तपुरका नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ ।

-पीडितको उद्धार तथा राहतमा जुटे राजनीतिक दलका नेता–कार्यकर्ता भन्ने शिर्षकमा सुभाष साहको समाचार छापिएको छ। बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा देशैभर राजनीतिक दल जुटेका छन् । बाढीपहिरोबाट देशैभर मानवीय तथा भौतिक क्षति भएको छ । अविरल वर्षासँगै पीडितको संख्या बढ्दै गइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)सहितका साना दलसमेत बाढी पहिरो पीडितको उद्धार र राहत कार्यमा जुटेका छन् ।

कान्तिपुर
-आजको कान्तिपुरमा भारतीय बाँधले नेपाली बस्ती डुबानमा भन्ने शिर्षकमा अवधेशकुमार झा, शिव पुरी, शंकर आचार्य, मधु शाहीको समाचार छापिएको छ। सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ । भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन् ।

Facebook Comments