विकास भर्सेस् वातावरण

प्रस्तावित निजगढ विमानस्थल निर्माण र स्थानीय तहको डोजरे विकासको प्रसङ्गले केही समयअघि मुलुकमा चर्किएको बहस हो विकास भर्सेस् वातावरण। अहिले फेरि लुम्बिनी आसपासका उद्योगका विषयमा गत आइतबार सर्वाेच्च अदालतले जारी गरेको आदेशले यो बहस बल्झिएको छ। यद्यपि यो बहस मुलुकमा नौलो भने होइन। गोदावरी मार्बल उद्योग र हिमाल सिमेन्ट उद्योगको अन्त्य यसै बहसको उपज थियो। काठमाडौँबाट बिक्रम टेम्पोको बहिर्गमन यसै बहसको परिणाम थियो। वातावरण संरक्षण ऐन २०५३ यसै बहसको उपलब्धी थियो भने संविधानको धारा ३० यसै बहसको प्राप्ति हो।

यतिबेला विकासको नाममा वातावरण सिध्याउने खेल भइरहेको आरोप वातावरणवादीले लगाइरहँदा वातावरण संरक्षणको नाममा विकासमा भाँजो हालिएको गुनासो विकासवादीहरूको छ। त्यसो भए विकास र वातावरण यी दुईमा प्राथमिकता कसलाई दिनु पर्छ त ? त्यस बारे चर्चा गरौँ।

लेखक विष्णु पाण्डे।

सन् १७६० मा बेलायतवाट सुरु भएको औद्योगिक क्रान्तिले विकासलाई यति प्राथमिकता दियो कि यसले विकासबिना मानव सभ्यता अघि बढ्न नसक्ने मान्यतालाई स्थापित गरिदियो। तर वातावरणलाई नै बेवास्ता गरेर गरिएको अन्धाधुन्धा विकासले अन्ततः विनाश निम्त्याउने चेतावनीहरू क्रमशः एकपछि अर्को गर्दै प्रकृतिमा देखिन थाले। सन् १९५२/५६ मा बेलायतको वायु मण्डलमा उद्योगबाट निस्केको धुवाँबाट सिर्जित खैरो बाक्लो तुवाँलोले हजारौँको ज्यान लियो र लाखौँलाई ओछ्यानमा सुताइ दियो। सन् १९६२ मा जापानको मिनामाता गाउँमा उद्योगबाट निस्केको फोहर पानीले अर्को भयानक दुर्घटना निम्त्यायो। मिथाएल मर्करी नामक प्राणघातक रसायनयुक्त उक्त पानी प्रशोधनबिना नै खोलामा मिसाउने गरिन्थ्यो जुन माछा हुँदै मानवको शरीरमा जम्मा हुँदै जाँदा हजारौँ मान्छे र अन्य प्राणीको ज्यान गयो। सन् १९८० सम्ममा अम्ल वर्षाले स्विडेनका २०,००० भन्दा बढी ताल तलैयाहरू मृत अवस्थामा पुर्‍यायो । विश्वलाई नै अब विकास मात्रले प्राणीको हित नहुने ठूलो पाठ सिकाएर गएका यी प्रतिनिधि घटनाहरूले विकास भर्सेस वातावरणको बहसको बीजारोपण गरिदियो।

विकास भर्सेज वातावरणको बहस चल्दै गर्दा सन् १९६२ मा अमेरिकन जीवविज्ञ तथा संरक्षणविद रिचल कार्सनद्वारा लिखित पुस्तक ‘साइलेन्ट स्प्रिङ्ग’ ले विश्वमा यस्तो तरङ्ग ल्याइदियो कि त्यसले वातावरणलाई सम्बोधन नगरी गरिएको विकासको जनस्थरबाटै अवज्ञा हुन थाल्यो जसको फलस्वरूप सन् १९७२ मा कृषिमा निर्विवाद प्रयोग हुँदै आएका विषादीहरूमा प्रतिबन्द लाग्यो । रासायनिक विषादीहरूको वातावरणीय प्रभावमा केन्द्रित उक्त पुस्तकले अन्ततः राष्ट्रिय विषादी नीतिलाई नै परिवर्तन गरिदियो । त्यसै वर्ष स्टकहोम गोष्ठी मार्फत विकास भर्सेज वातावरणको बहसले अन्तराष्ट्रिय मञ्चमा प्रवेश पायो। सन् १९८३ मा गठन भएको ‘ब्रण्टल्याण्ड कमिशन’ ले सन् १९८७ मा ‘हामी सबैको भविष्य’ प्रतिवेदनमार्फत दीगो विकासको अवधारणालाई अघि सा¥यो। सन् १९९२ मा ब्राजिलमा विकास र वातावरण सम्मेलन/रियो सम्मेलन/पृथ्वी सम्मेलन भयो। यो एक यस्तो महासम्मेलन थियो जसले आर्थिक/सामाजिक विकास र वातावरणलाई अलग–अलग राखेर हेर्न नहुने निष्कर्ष निकाल्यो । उक्त महासम्मेलनको महत्वपूर्ण सम्झौता/दस्तावेजको रूपामा आएको विकास र वातावरण सम्बन्धी रियो घोषणा पत्रले २७ वटा सिद्धान्तमार्फत विकास र वातावरणलाई सम्बोधन गरेको थियो भने एजेन्डा २१ ले दिगो विकास हासिल गर्न विश्वलाई दिशानिर्देश गरेको थियो।

कुनै स्थानमा एउटा उद्योगको स्थापना हुन्छ, उद्योग स्थापनसँगै रोजगारका अवसरहरू सिर्जना हुँदै जान्छन्, बस्ती बिस्तार हुँदै जान्छन्, व्यापार व्यवसाय फस्टाउँदै जान्छ र यसरी विकासको जग तय हुन्छ । यसको नक्कल अन्यत्र हुँदै जान्छ र यसरी विकासको लहर फैलिँदै जान्छ । तर वातावरणीय प्रभावलाई नै बेवास्ता गरेर लादिएको विकासले अन्तत पीडा दिने र द्वन्द सृजना हुने दृष्टान्तहरू हामीले देखेका भोगेका छौँ। हुनत विकसित राष्ट्रहरूको इतिहास हर्ने हो भने सामान्यतया उनीहरूले प्राकृतिक स्रोत साधनको अधिकतम दोहनद्वारा तीब्र आर्थिक विकास हासिल गरेपछि मात्र वातावरण सुधार्न लगानी गरेको देखिन्छ । त्यसैले पहिले विकासलाई प्राथमिकतामा राखी प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोगद्वारा तीब्र आर्थिक विकास हासिल गरौँ अनि मात्र वातावरण सुधारमा लगानी गरौँ भन्ने धारणा पनि रहेको पाइन्छ । तर अब आएर यसो गर्दा वातावरण सुधार निकै महँगो पर्न जाने, भावी पुस्ताका लागि प्राकृतिक स्रोत साधनको कमी हुन गइ द्वन्द्व सृजना हुने र विकास निर्माणका क्रियाकलापबाट उत्सर्जित प्रदूषण र जलवायु परिवर्तनको असरले हाम्रो अपुरणीय क्षति हुने वातावरण क्षेत्रका जानकारहरूको बुझाइ छ।

यद्यपि वातावरण संरक्षण पनि वैज्ञानिक तबरबाट हुन नसके यो विकासको बाटोमा तगारो बन्ने र प्राकृतिक स्रोतको सदुपयोग एवं वैज्ञानिक व्यवस्थापन हुन नसके त्यसलाई वातावरण संरक्षण भन्न नमिल्ने वातावरणविदहरूको निष्कर्ष छ। उदाहरणका लागि देशको ४४.७४५ क्षेत्रफल ओगटेको आफ्नै वन क्षेत्रमा ठूलो परिमाणमा काठहरू कुहिएर माटोमा विलय भैरहेका छन् जसले नेपाली बजारमा काठको कृतिम अभाव सिर्जना भइ वर्षेनी औसत ६ अर्ब रुपैयाँको काठ मलेसिया, इन्डोनेसिया, बर्मा, भियतनामलगाएतका मुलुकबाट आयात गर्न हामी बाध्य छौँ। यसरी हामीसँग उपलब्ध अथाहा प्राकृतिक स्रोतको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अनावश्यक संरक्षणमा हाम्रो मेहेनत खेर गैरहेको त छैन? अर्थात विकास र वातावरणको सन्तुलन कायम राख्नमा हामी चुकेका त छैनौँ ?

हामी कहाँ वातावरण संरक्षणको नाममा कयौँ आयोजनारूले स्वीकृति पाएका छैनन्, कयौँ आयोजनाहरू अलपत्रमा परेका छन् त कयौँ अस्तित्व विहीन हुन पुगेका छन्। वातावरण संरक्षणका ११० कानुन हामी कहाँ छन् र ती कानुनका प्रावधानले कतै न कतै विकासलाई भाँजोे हाल्ने गरेको गुनासा नभएका होइनन्। तर मनन गर्ने हो भने ती कानुन विकासकै पक्षधर भएको संरक्षणविदहरूको बुझाइ छ। यी कानुनहरू दिगो विकासको मार्गदर्शक भएको, विकासलाई विनाशको बाटोमा हिड्न नदिन सचेत गराएको र वर्तमान सन्ततिको आवश्यकतालाई पूर्ति गर्दै भावी सन्ततिको आवश्यकतामा सम्झौता गर्न नदिने कडीका रूपमा उभिएको उनीहरूको तर्क छ। यद्यपि विकास निर्माणलाई गति प्रदान गर्न यी कानुनका केही झन्झटिला प्रक्रियालाई हटाउनु पर्ने वा छोट्याउनु पर्ने वा विकेन्द्रीकरण गर्नु पर्ने र समय सापेक्ष्य यसका प्रावधानहरूलाई संशोधन गर्दै लानुपर्ने उनीहरूको सुझाब छ।

विकासको मूल फुटाउने सपना बोकेर डोजरले पहाड फुटाउँदै गर्दा पानीका मूलहरू पुरिँदै वा सुक्तै त छैनन्? विकासको आवरणमा व्यक्ति मोटाउने तर प्रदूषणबाट जनता रोगाउँदै जाने अवस्था त सिर्जना भएको छैन? यसबारे वातावरण निरीक्षकहरूले बारम्बार सचेत गराएका छन् र त्यस कारण कुनै पनि विकास आयोजनाले वातावरणमा उल्लेखनीय असर नपर्ने सुनिश्चितता गर्न आयोजना निर्माण पूर्व अनिवार्य आयोजनाको प्रारम्भिक वातावरणीय मूल्याङ्कन/वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गराएर मात्र आयोजनाअघि बढाउनु पर्ने अडान उनीहरूको छ।

त्यसैले विकासलाई प्राथमिकतामा राख्ने कि वातावरणलाई, भन्दा पनि पहिले आम नागरिकको हितलाई विशेष गरी स्थानीयको हितलाई प्राथमिकतामा राख्नु जरुरी हुन आउँछ। विकास आयोजनाबाट देश र जनताले प्राप्त गर्ने लाभ ठूलो कि वातावरणीय ह्रास/प्रदूषणबाट हुने जोखिमको परिमाण ठूलो? यी कुराहरूको लेखा जोखा नभए विकासले द्वन्द्व निम्त्याउन सक्छ।
लेखक वातावरण विभागका वातावरण निरीक्षक हुन्

Facebook Comments