पुल भत्किएका ठाउँमा बेलिब्रिज बनाइने, घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ– बाढी पहिरो र डुबानले घाइते भएका सबैको उपचार सरकारले गर्ने भएको छ।

आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेहरूको उपचारको खर्च सरकारले व्यहोर्ने भएको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको छ। त्यसैगरी बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा भत्किएका पुल तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको बाँस्कोटाले जानकारी दिए।

पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारको छ। साथै बाढी पहिरोको जोखिम कम नभइसकेकाले सबै सुरक्षा निकाय र सरकारी निकायलाई विपद् व्यवस्थापनका लागि तयार रहन समेत निर्देशन दिएको छ।

त्यसैगरी, संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरूको पुनर्बासको तत्काल व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ भने वेपत्ता नागरिकहरुको खोजी तीब्र पार्न पनि सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गरेकी छन् । उद्दार तथा राहतमा जुट्न र प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन समेत उनले सबैलाई आह्वान गरेकी छन् ।

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार साढे ४ बजे सम्म ६० जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी पहिरोमा परी २६  जना वेपत्ता भएका छन्। साथै ३८ जना घाइते भएका छन्।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ।

Facebook Comments