मृतकका परिवारलाई २ लाख दिने प्रदेश १ सरकारको निर्णय

काठमाडौँ– बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप प्रदेश नं १ सरकारले रु दुई लाख उपलब्ध गराउने भएको छ ।

प्रदेश नं १ मन्त्रिपरिषद्को आज आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने तथा निजी अस्पतालमा गरिएको उपचारबापत रु ५० हजार दिने निर्णय भएको जनाइएको छ।

बैठकले उद्धार राहत पुनस्र्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको छ । यसैबीच प्रदेश सरकारले बाढी र डुबानका कारण अवरुद्ध सडक खुलाउन तथा प्रभावितको उद्धारका लागि तीन वटै सुरक्षा अङ्ग परिचालन गरिएको छ।

बाढीपहिरोबाट १९ जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रदेश नं १ मा १९ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहालका अनुसार भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, उदयपुर र झापामा दुई/दुई तथा सुनसरी, इलाम र पाँचथरमा एक/एक जनाको मृत्यु भएको छ । यसैगरी मोरङ र इलाममा तीन/तीन तथा झापा र सुनसरीमा एक/एक जना बेपत्ता छन् ।

Facebook Comments