जलवायु परिवर्तनबारे अन्तरसरकारी प्यानलको सम्मेलन काठमाडौँमा शुरू

काठमाडौँ– जलवायु परिवर्तनबारे अन्तरसरकारी प्यानल कार्य समूह–२ को सम्मेलन आज सोमबारदेखि काठमाडौँमा शुरू भएको छ ।

जलवायु परिवर्तनका असर र त्यसका जोखिम बारेमा अनुकुलन कार्य गर्न बनेको उक्त प्यानलले सम्मेलनमा छैठौँ आँकलन प्रतिवेदन पेश यस सम्मेलनमा गर्नेछ।

वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित सो सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तका असर र चुनौतीको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरलाई सम्बोधन गर्न तयार रहनेबाहेक अरु उपाय नभएको बताए।

साथै उनले नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेकाले यसको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दृढता व्यक्त गरे।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सम्मेलन समूह–२ की सहअध्यक्ष डेब्र्रा रोबर्टस्ल मानिस र प्राकृतिक संरचनाबीचको अन्र्तसम्बन्धको आभास गर्नुको साथै जलवायु परिपवर्तनले पारेको जोखिमको बारेमा स्मरण गराउने भएकोले काठमाडौँमा सम्मेलनको आयोजना गरेको बताइन्।

त्यसैगरी अर्का सहअध्यक्ष हान्स अट्टो पोओर्टनरले आन्तरिक मस्यौदा र यसको विज्ञहरूद्धारा गरिएका गहन विष्लेषणले आँकलनको दिशा निर्धारण गर्ने स्पष्ट पारे।

सरकारलाई पर्यावरण तथा मानवीय संरचनाहरूमा जलवायू परिवर्तनको प्रभाव र त्यसबाट उब्जिने जोखिमबारे अद्यावधिक वैज्ञानिक ठम्याइको आँकलन गराउनुको साथै प्रभावित संरचनाहरुको अनुकुलन गर्न सक्ने क्षमता, तिनको सिमितता, जलवायू सम्बन्धि जोखिम घटाउन र दिगो भविष्य निर्माण गर्न चाहिने विष्लेषण प्यानलले गर्ने गर्दछ।

जलवायु परिवर्तनबारे अन्तरसरकारी प्यानल तीन कार्यसमूह तथा एक कार्यदलमा विभाजित छ। कार्य समूह–१ ले जलवायु परिवर्तनको भौतिक विज्ञानका आधारमा काम गर्छ। कार्यसमूह–२ ले जलवायु परिवर्तनका असर, अनुकुलन तथा जोखिमबारे काम गर्छ भने कार्यसमूह–३ ले जलवायु परिवर्तन व्यवस्थापनमा काम गर्छ ।

राष्ट्रिय ग्रीनहाउस ग्यास पहलबारे कार्यदलको प्रमुख उद्देश्य राष्ट्रियस्तरमा हुने ग्रीनहाउस ग्यास उत्सर्जन तथा विस्थापनबारे गणना र प्रतिवेदन लेखन प्रक्रिया विकास तथा सुधार गर्नु रहेको छ।

विज्ञ विश्लेषणको लागि प्रथम चरण मस्यौदा २०७६ साल कार्तिक १ देखि मङ्सिर २७ गतेसम्म उपलब्ध हुनेछ। सरकार तथा विज्ञद्वारा विश्लेषणका लागि दोस्रो चरणको मस्यौदा तथा नीतिनिर्माताका लागि संक्षेप २०७७ साल साउन २३ देखि असोज १३ गतेसम्म उपलब्ध हुनेछ। २०७८ साल असोज १८ देखि २२ गतेसम्म जलवायु परिवर्तनबारे अन्तरसरकारी प्यानलले कार्य समूह–२ का योगदानबारे विचार विमर्श गर्ने योजना छ।

२०७९ सालमा तीनै कार्य समूहका योगदान तथा विशेष प्रतिवेदनहरूलाई एकीकृत गर्ने समन्वयकारी प्रतिवेदनसहित छैठौँ आँकलन चक्र समाप्त हुने विज्ञप्तिमा उल्लेख छ।

विश्वका राष्ट्र पेरिस सम्झौताको मर्म अनुसार विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कम राख्ने र सकेसम्म १ दशमलब ५ डिग्री सेल्सियसमै सीमित गर्ने प्रतिबद्धता भइरहेको छ। उक्त प्रगतिको लेखाजोखा गर्न २०८० सालमा आयोजना हुने संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनबारे संरचना निर्माण सम्मेलनको विश्वव्यापी विश्लेषणलाई सहयोग हुनेगरी प्रकाशन गरिनेछ।

जलवायु परिवर्तनबारे अन्तरसरकारी प्यानल संयुक्त राष्ट्र संघ वा विश्व मौसमविज्ञान संघका सदस्य राष्ट्रहरूको संस्था हो। यसमा हाल १ सय ९५ सदस्य छन्। यसको काममा विश्वभरिका हजारौँ व्यक्तिको योगदान रहेको विज्ञप्तिमा उल्लेखित छ।

असार ३० देखि साउन ३ सम्म चल्ने उक्त कार्यक्रमको दोस्रो सभामा ६० भन्दाबढी देशका २ सय ६० लेखक तथा जलवायु परिवर्तनबारे अन्तरसरकारी प्यानलका सदस्यहरूको सहभागिता रहने जनाइएको छ।

Facebook Comments