यसरी गरिदैँछ कञ्चनपुरमा विपद्को पूर्व तयारी

महेन्द्रनगर– मुलुकभर अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले जनधनको क्षति भइरहेका बेला कञ्चनपुरमा विपद्को पूर्वसावधानीका लागि स्थानीय निकायहरू अग्रसर देखिएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले जिल्लाका सबै स्थानीय तहका गैरसरकारी संस्था तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।

कञ्चनपुरका स्थानीय तहले पनि बाढीबाट हुने क्षति कम गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन्। स्थानीय तहले सरोकारवाला निकायसँग छलफल गर्ने, विपद् व्यवस्थापन कोष बनाउने, सचेतनामुलक कार्यक्रम गरिरहेका छन्।

विभिन्न संघसंस्थाको सहयोगमा स्थानीय तहले विपद्बाट बच्ने नमुना अभ्यास गरिरहेका छन् भने जिल्ला रेडक्रस, एनएनएसडब्लुए, निड्स नेपाललगायतका संस्थाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने समाग्री उपलब्ध गराइरहेका छन्।

कहाँ हुन्छ डुबान ?
जिल्ला विपद् व्यवस्थापन समति कञ्चनपुरले जिल्लाका विभिन्न स्थानलाई बाढी डुबानको जोखिममा राखेको छ।

समितिले कञ्चनपुरको बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, माहाकाली नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई बाढी डुबानको अति उच्च जोखिममा राखेका हो।

भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकालाई उच्च जोखिम, कृष्णपुर नगरपालिकालाई मध्यम जोखिममा राखेको छ भने बेदकोट नगरपालिकालाई न्यून जोखिममा राखिएको छ।

समितिले माहाकाली नगरपालिकाको कुतियाकवर मायापुरी, जामुनघाडी, राप्ती टोल, गुरुग टोल, वादी टोल, जंगलाट, संसारीमाई टोल, ढकनाघाट र मोतीटोललाई डुबानको उच्च जोखिममा राखेको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए।

उनका अनुसार माहाकाली नगरपालिकाको पुरानो वस्ती, कंजभोज, दानुटोल, जरखा टोल, धामी टोल, सुन्दरनगर, टिपीन टोल, बासघाडी, खड्का टोल, आमभोज, सुर्खेती टोल र गिरी टोललाई आंशिक डुबानको जोखिममा राखिएको छ।

लालझाडी गाउँपालिकाको नन्द गाउँ, डुंगा, बल्मी, गौरी, होरीमोहना गाउँलाई पनि डुबान हुनसक्ने क्षेत्रमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विपद् व्यवस्थापन समितिको तथ्यांक अनुसार बेलडाँडी गाउँपालिकाको वैवाह, खैरीघाट, रतनपुर, ढकनीया, चवन्नी खल्ला, वाह्जाला, भुडा, कानपुर, विचपुरी, भट्टेघाट, गौडी, ईमिलिया र झिलमिला बाढी तथा डुबानको जोखिममा छ।

यस्तै शुक्लाफाँटा नगरपालिकाको गुलरपट्टी, वैशाखा शिविर, जोनापुर, ढकनीया, आसापुर, कालागौडी, जाईजाला, जाई बाढीको जोखिममा छ। कृष्णपुर नगरपालिकाको वेलकुण्डी, वाणी शिविर, दया अमरपुर, मौरीफाटा, रैकवार क्षेत्र पनि बाढी तथा डुबानको जोखिममा छ।

लालझाडी गाउँपालिकाको वडा नम्बर १ देखी ६ वडासम्म, बेलौरी नगरपालिकाको उदयपुर, सोभाता, रामनगर, सुर्दशनपुर, भकुण्डा, पुनर्वास नगरपालिकाका सबै वडाहरुमा बाढी तथा डुबानको जोखिम रहेको प्रमुख जिल्ला अधिकारी वैद्य बताउँछन्।

उनका अनुसार माहाकाली नगरपालिका महाकाली नदी र जोगबुढा नदीमा आउने बाढीको उच्च जोखिममा रहेको छ भने कञ्चनपुरको दक्षिण क्षेत्रमा दोदा र मछेली नदीले बढी नोक्सान गर्ने गरेको छ।

‘बाढी तथा डुबान प्रभावित क्षेत्रमा सुरक्षित स्थानका पहिचान गरेका छौं, सबैलाई सचेतना अपनाउन आग्रह गरेका छौं,’ उनले भने,‘सुरक्षा निकाय, स्थानीय तहलाई पनि पूर्व तयारी गर्न आग्रह गरेका छौं।’

बाढीबाट प्रभावित हुन सक्ने परिवार
कञ्चनपुरमा बाढीबाट ६५ हजार बढी घरपरिवार प्रभावित हुन सक्ने पूर्वअनुमान गरिएको छ । विभिन्न संघसंस्थाले संकलन गरेको तथ्यांक अनुसार बाढीबाट १८ हजार ३५ परिवार बाढी प्रभावित हुन सक्ने पूर्वअनुमान गरिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिए।

उनका अनुसार भीमदत्त नगरपालिकामा १८ हजार १३, बेदकोटमा ५ हजार ४ सय ४७, शुक्लाफाँटामा ७ हजार ७ सय १३ परिवार, कृष्णपुर नगरपालिकामा ९ हजार ९० परिवार बाढीबाट प्रभावित हुन सक्ने पूर्वअनुमान गरिएको छ।

त्यस्तै पर्नुवास नगरपालिकामा ३ हजार ९ सय २९, माहाकालीमा २ हजार ३ सय ३३, बेलौरी नगरपालिकामा ८ हजार १७, बेलडाँडी गाउँपालिकामा ६ हजार ३ सय र लालझाडी गाउँपालिकामा ४ हजार १ सय ९३ परिवार प्रभावित हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समतिले अनुमान गरिएको उनले बताए।

रेडक्रसको तयारी के छ ?
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले पनि विपद्को बेला हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै जिल्लाभरी रहेका उपशाखाहरुमार्फत पूर्व तयारीमा जुटेको छ।

विपद्को बेला हुनसक्ने मानवीय क्षतिलाई कम गर्न उपशाखाहरुले तयारी गरिरहेको रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेतीले जानकारी दिए।

उनका अनुसार तयारीका लागि रेडक्रसले विभिन्न कार्यदल तथा विपद् व्यवस्थापन समिति गठन गरेको छ। उपशाखा अन्तर्गत खोज तथा उद्धार कार्यदल, पूर्वसूचना कार्यदल र उपचार कार्यदल गठन गरिएको उनले बताए।

‘बाढी आउँदा बढी क्षति हुने क्षेत्रमा रेडक्रसका स्वयमसेवकलाई समूह बनाएर उद्धार तथा प्राथमिक उपचार तालिम पनि दिएका छौं,’ उनले भने, ‘कार्यदलका सदस्यहरुलाई पनि तालिम तथा आवश्यक समाग्री दिने गरेका छौं।’

उप्रेतीका अनुसार बाढी आएको समयमा बाढी प्रभावित क्षेत्रमा रेडक्रसका करिब २ हजार ४ सय स्वयमसेवक परिचालन गर्ने भएको छ।

‘जिल्लामा रेडक्रसका १५ उपशाखा छन्, विपद्को समयमा सबै शाखा र स्वयसेवक परिचालन हुन्छन्,’ उनले भने। रेडक्रसको जिल्ला शाखामा २ सय परिवार र क्षेत्रीय स्टोरमा चार हजार परिवारलाई पुग्ने गैरखाद्य राहत समाग्री भण्डारण गरिएको छ।

स्वचालित प्रणाली जडान
मानवीय क्षति न्यूनीकरणका लागि कञ्चनपुरको मछेली नदीमा सतह मापनका लागि स्वचालित प्रणाली जडान गरिएको छ । मछेली नदीमा आउने बाढीले वर्षेनी धनजनको क्षति गर्दै आएपछि न्यूनीकरण गर्नका लागि स्वचालित प्रणाली जडान गरिएको हो।

नदीको उद्गम स्थान गोदावरी नगरपालिका–१२ कोलमोडा चौकी क्षेत्रमा सतह मापनका लागि स्वचालित प्रणाली जडान गरिएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखा एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए।

उनका अनुसार रेडक्रसले जल तथा मौसम विभाग बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी स्वचालित प्रणाली जडान गरेको हो।

स्वचालित पूर्व सूचना प्रणालीको माध्यमबाट मछेली नदी प्रभावित कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिकाको तटीय क्षेत्रका समुदायको सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने भएको छ। स्वचालित प्रणालीबाट नदीको सतहबारे जानकारी जल तथा मौसम विज्ञान विभागको वेवपोर्टलमा पनि हेर्न सकिने संयोजक घिमिरे बताउँछन्।

‘नदीमा पानीको बहाब बढेको वा घटेको बारेमा सम्पूर्ण जानकारी जल तथा मौसम विज्ञान विभागको वेवपोर्टलबाट जानकारी पाउन सकिन्छ, यसले नदीबाट हुने क्षति कम हुन्छ,’ उनले भने।

रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाको ६ लाख ८३ हजार रुपैयाँमा स्वचालित प्रणाली जडान गरिएको छ।

कुन–कुन ठाउँ सुरक्षित ?
समितिले जिल्लाका बाढी प्रभावित हुनसक्ने क्षेत्रमा सुरक्षित ठाउँको पहिचान गरिएको वैद्यले बताए।

उनका अनुसार माहाकाली नगरपालिकामा राष्ट्रिय निमावि कञ्जभोज, लक्ष्मी उमावि बाबाथान, भानु क्याम्पस, कमलशा प्रावि, पुर्णागिरी प्रावि, जनज्योती निमावि, भैरब प्रावि, श्रृजना प्रावि, अम्बिका माध्यमिक विद्यालयलाई सुरक्षित ठाउँ तोकिएको छ।

यस्तै माहाकाकालीको अम्बिका मावि, नवयुग प्रावि, ओमकार प्रावि, जमुना प्रावि भवन, शंकर निमावि भवन, पशुुपति प्रावि भवन र मालिका प्रावि भवनलाई सुरक्षित स्थानको रुपमा राखिएको छ । पुर्नवास नगरपालिकामा अरनी प्रावि, मलिका प्रावि, एशवर्य प्रावि, रामवुद्ध मावि र सरस्वती प्रावि ढक्कालाई सुरक्षित ठाउँ भनिएको छ।

शुक्लाफाँटा नगरपालिकामा बैजनाथ मावि, भवानी प्रावि, कृष्ण निमावि, धर्म जनता मावि, असीग्राम मावि, कृष्ण उच्च मावि, त्रिमुर्ति प्रावि, जनभावना प्रावि र सरस्वती माध्यमिक विद्यालयलाई सुरक्षित स्थान (अश्रय स्थल)को रुपमा पहिचान गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले बेलडाँडी गाउँपालिकाको ग्रिनबेल्ट, बेल्डाडीको कालीकिच क्षेत्र र चौवन्नी बजारलाई सुरक्षित स्थान (आश्रय स्थल)मा राखेको छ। कृष्णपुर नगरपालिकाको नन्द मावि भवन र बैजनाथ निमावि डाङा जाईलाई सुरक्षित स्थान मानिएको छ।

यस्तै भीमदत्त नगरपालिकाको जनता प्रावि भुजेला, पुर्णा उमावि ऐरी, भागरथी प्रावि ओदाली, बिपि प्रावि, सिद्धनाथ मावि.बडैपुर, सिद्धनाथ उमावि जिमुवा, सरस्वती उमाबि उल्टाखाम, लक्ष्मी उमावि बागफाँटा, बजारक्षेत्र, पञ्चकृत प्रावि.बागफाँटा लगायतका क्षेत्रलाई सुरक्षित स्थान घोषणा गरिएको छ।

बेलौरी नगरपालिकामा भगवानपुर मावि भुडा, बागेश्वरी निमावि, कृष्ण निमावि रिछाह, गणेश निमावि गणेशपुर र दुर्गा प्रावि भुराकोटलाई सुरक्षित स्थान तोकिएको छ। यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिले पुर्नवासको दुर्गा प्रावि बिनापारी, नबोदय प्राबि, शारदा निमाबि, शारदा निमावि, अलंकार प्राविलाई सुरक्षित स्थल तोकेको छ।

लालझाडी गाउँपालिकाको लालझाडी जंगल किनार, जननमूना निमावि र श्रीपुर आसपासको जंगल क्षेत्रलाई सुरक्षित मानिएको छ। यस्तै बेदकोट नगरपालिकाको घटाल उमावि भवन, उदयदेव मावि भवन, नवदुर्गा निमावि भवन सुडा र साझा गोदाम घर सुडालाई सुरक्षित स्थानमा राखिएको छ।

Facebook Comments