राष्ट्रियसभामा बाढीपहिरोबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ– राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ।

बाढी, पहिरो र डुवानको प्रभावत र उद्दार तथा राहतबारे छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो।

आज बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले उक्त प्रस्ताव दर्ता गरेको जनाइएको छ। उक्त प्रस्तावमा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डेले समर्थन गरेका छन्।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ भने भौतिक क्षतिहरू पनि भएका छन्। बाढी, पहिरो र डुबानमा परीमृत्यु भएको, घाइते र वेपत्ता भएका, सर्वसाधारणको घरवास, खेतबारी बगाई हजारौं विस्थापित भएका, धेरै राजमार्ग अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालय क्षतिग्रस्त भएका, स्वास्थ्य उपचार, उद्धार तथा राहतको काम कारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने प्रस्तावमा उल्लेख छ।

बाढी पहिरोमा परेका १७ हजार ४ सय ३० जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी पहिरोमा परी ३५ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ। साथै ४१ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments