बाढीबाट बच्न जैविक तटबन्ध

कञ्चनपुर – कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकाले बाढी, डुबान र कटान रोक्न विभिन्न वडामा जैविक तटबन्ध निर्माण गरेको छ ।

बाढीको उच्च जोखिममा रहेको महाकाली नगरपालिकाको अति प्रभावित क्षेत्र वडा नम्बर १० को कुतियाकभर, वडा नम्बर अठार र वडा नम्बर ८ को सुन्दर बस्तीलगायतका क्षेत्रमा जैविक तटबन्ध गरिएको हो ।

स्थानीय स्रोत साधन प्रयोग गरेर बनाइने जैविक तटबन्धले प्रकृतिलाई पनि नबिगार्ने र कम खर्चमा दिगो हुने भएकाले जैविक तटबन्धमा बढी जोड दिइएको महाकाली नगरपालिकाको भनाई छ । कुतियाकभरमा रेडक्रस सोसाइटी र निड्स नामक गैरसरकारी संस्थाको सहकार्यमा नगरपालिकाले जोगबुडा नदीमा जैविक तटबन्ध बनाएको छ ।

महाकाली र जोगबुडा नदीको पानीका कारण हरेक वर्ष महाकालीका स्थानीयले बाढी, डुबान र कटानको समस्या भोग्दै आइरहेका छन् । भारतले आफूलाई आवश्यक नहुँदा सारदा ब्यारेजको पानी जुन सुकै समयमा पनि खोलिदिँदा महाकाली वडा नम्बर १० कुतियाकभरका स्थानीय बाह्रैमास डुबान र बाढीको मार झेल्दै आएका छन् ।

‘हामी खाना खान बसिरहेकै बेला बाढी आउँछ, कतातिर भागौँ भन्ने हुन्छ,’ महाकाली नगरपालिका वडा नम्बर १० कुतियाकभरकी ५३ वर्षिया माया सुनारले भनिन्, ‘हामीलाई बर्खामा मात्रै होइन हिउँदमा पनि बाढीकै त्रास छ ।’

‘अहिले केही गैरसरकारी संस्था, रेडक्रस र नगरपालिकाले बाँस गाडेर, बोरामा माटो भरेर जैविक बाँध बनाइदिएका छन्, त्यसले केही राहत भएको छ,’ सुनारले भनिन्, ‘कुनदिन ठूलो बाढी आउँछ र त्यहि बाँध पनि बगाएर लैजाने हो । ’

यहाँ विगतमा झण्डै सय घरधुरी रहेकोमा अहिले जम्मा ३६ घरधुरी मात्रै बाँकी रहेको उनले बताइन् । बाढी आउँदा भागेर जाने ठाउँ नभएको भन्दै कुतियाकभर बस्तीका लागि सुरक्षित आवासको आवश्यकता रहेकाले उक्त आवास बनाइदिनका लागि स्थानीय जनप्रतिनिधिसँग उनले माग समेत गरिन् ।

नेपाल वातावरण पत्रकार समूह नेफेजले दोस्रो पटक बाढी, डुबान र कटानको मारमा परेका महाकालीका नागरिकलाई कसरी बचाउन सकिन्छ ? त्यसका लागि कस्ता पहल अपनाउन सकिन्छ ? भन्ने विषयमा आयोजना गरेको पानी छलफल मा बोल्दै सुनारले उक्त माग गरेकी हुन् ।

पहिले पनि नेफेजले यहि विषयमा पानी छलफल गरेको थियो । उक्त छलफलमा जनप्रतिनिधिले ६ बुँदे प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धतामा रहेर गरिएको पानी छलफलमा सहभागी स्थानीयले विगतमा भन्दा अहिले नगरपालिकाले धेरै काम गरेको र केही काम गर्न अझै बाँकी रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर १० कुतियाकभरकै बसन्ती सुनारले आफूहरूको समस्या बाढी र डुबान सँगसँगै गत वर्षदेखि कटानको पनि रहेको बताइन् । ‘हाम्रो प्रमुख समस्या भनेको बाढी र डुबान नै हो तर गत वर्षदेखि कटानको मारमा पनि हामी परिरहेका छौँ ।’ उनले भनिन्, ‘नगरपालिका रेडक्रस र निड्स नामक संस्थाले जैविक तटबन्ध बनाएपश्चात जोखिम केही कम भएको छ ।’

विगतमा हाम्रो गाउँमा कुनै कार्यक्रम नआए पनि यसपटक भने बाढी पूर्वसूचना प्रणालीका बारेमा आफूहरू जानकार भएको, बाढी आएपछि कसरी उद्धार गर्ने र बच्ने भन्ने विषयमा तालिमसमेत पाएको उल्लेख गरिन् । पानी छलफलमा अघिल्लो पानी छलफलले आफूहरूलाई धेरै सहयोग गरेको सुनारको भनाइ थियो ।

त्यस्तै बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका वडा नम्बर ८ सुन्दरबस्तीका स्थानीय हरिशङ्कर रोकायाले कुतियाकबरमा जस्तो पूर्व सूचना प्रणालीका विषयमा आफूहरूलाई पनि जानकारी दिन माग गरे । ‘हामीलाई पनि बाढी आउँदा कसरी बच्ने भन्ने विषमा तालिम दिदाँ हामी आफै बच्न सक्थेम कि भन्ने लाग्छ, ’उनले भने, ‘मेरो गाउँको नाम सुन्दर नगर हो तर बाढीको कटान र डुबानले कुरूप नगर भएको छ । गत वर्ष ३ पटक बाढी पस्यो । प्रहरी र जनप्रतिनिधिले हामीलाई बचाउनुभएको हो । ’ अहिले जोगबुडाको छेउमा तटबन्धको काम भइरहेको बताउँदै उनले त्यत्ति तटबन्धले मात्रै नपुग्ने उल्लेख गरे ।

कार्यक्रममा बाढी, डुबान र कटानबाट पीडित क्षेत्रका स्थानीयको सहभागीता रहेको थियो । पानी छलफलमा बोल्दै वडा नम्बर ७ की कृष्णाकुमारी बुढाथोकीले आफ्नो वडाको कञ्चनभोज र टाउकेटोलमा कटानको समस्या रहेको बताइन् ।

उनले भनिन्, ‘पुटपुटे घारमा पनि कटान भइरहेको छ । पहिलेभन्दा अहिले तटबन्धको काम भइरहेको छ । जसले हामीलाई केही मात्रामा राहत महसुस भएको छ ।’ उनले नदी छेउका सामुदायिक वनहरूमा नियमित रूपमा वृक्षारोपण गर्दा कटानको समस्या केही मात्रामा रोकिएको बताइन् । पानी छलफलमा स्थानीयरूले उठाएका सवालको महाकाली नगरपालिकाका नगरप्रमुख , उपप्रमुख तथा वडाध्यक्षहरूले जवाफ दिएका थिए ।

कार्यक्रममा बोल्दै महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार भौगोलिक रूपमा अत्यन्तै पीडित क्षेत्र महाकाली नगरपालिका बताउँदै आफूहरूको प्रदेश र केन्द्रसँगको पहिलो माग नै बाढी नियन्त्रण रहने बताए । उनले भने, ‘हामी महाकाली र जोडबुढा नदीबाट बढी पीडित छौँ ।’ तथापि त्यसको रोकथामका लागि केही कामहरू पनि भइरहेको बताए ।

राष्टपति चुरे संरक्षणले विभिन्न क्षेत्रहरूमा तटबन्धको काम भइरहेको, कुतियाकभरमा त्यहाँ जैविक तटबन्ध लगाएर कटान रोक्ने काम भइरहेको बताए । जाइकाले लगाएको महाकालीको बाँध जिर्ण हुँदै गएको र जतिबेला पनि टुट्न सक्ने भएकाले तटबन्धका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको उनको भनाइ छ ।

जोगबुढाको क्षति न्यूनीकरणका लागि वडा नम्बर १ देखि १० सम्म तटबन्ध गर्ने योजना रहेका बताउँदै नगरप्रमुख सुनारले नगरपालिकाको बजेटले मात्रै नपुग्ने भएकाले माथिल्लो निकायमा पहल भैरहेको उल्लेख गरे ।

त्यस्तै नगरपालिकाका उप प्रमुख चिनी गिरीले अघिल्लो पटक पानी छलफलमा भएको प्रतिबद्धताअनुसार कुतियाकभरमा रकम अभावका कारण सुरक्षित आवास निर्माण गर्न नसकिएको बताइन् । तर अन्य कामहरू भइरहेको उनको भनाइ छ । उनका अनुसार वडा नम्बर ८ को जोगबुडा पारी नगरकै बजेट वडामा गइ २० लाखको तटबन्ध भएको छ । मलेरियानालामा जोखिमपूर्ण स्थानहरूमा तटबन्ध गरिएको ,वडा नम्बर १० कुतियाकभरमा बिजुली बत्ती लगिएको ,स्थानीय संघसंस्थाको सहकार्यमा वडा नम्बर ४ मा रहेको दाराताल संरक्षणका र जैविक तटबन्ध गरिएको छ ।

वडा नम्बर १० को कुतियाकभरमा तटबन्धका लागि प्रदेशबाट आएको ३५ लाख रुपैयाँ जोगबुडा नदी बढेकै कारण गाडी लान नसकेपछि उक्त रकमले वडा नम्बर २ को मलेरियानालाको तटबन्ध लगाइएको जानकारी दिइन् । उनले केन्द्र सरकारबाट राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तरगत आएको ६ करोड ८५ लाख रुपैयाँले जोखिमपूर्ण क्षेत्रमा तटबन्ध गरिएको बताइन् ।

नगरपालिकाले वृक्षारोपणको कार्यक्रमसमेत गरिरहेको जानकारी दिइन् । टनेल खेतीमार्फत तरकारी खेती गर्ने जस्ता जीवीकोपार्जनका लागि कामहरू भइरहेको छ । कार्यक्रममा सरोकारवालाहरूको तर्फबाट बोल्दै नेपाल रेडक्रस सोसाइटी चाँदनी उपशाखाका सभापति जितबहादुर जि.सी.ले नगरपालिकासँगको सहकार्यमा स्याउली बजारदेखि कुतियाकभरसम्मका स्थानीयलाई समूह बनाइ पूर्व सूचना प्रणाली दिने, विपत् व्यवस्थापन सम्बन्धी तालिम र उद्धार सामग्री दिने काम गरेको जानकारी दिए । नगरपालिकाको सहकार्यमा कुतियाकबरमा जैविक तटबन्ध बनाइएको बताए ।

बाढी, डुबान तथा कटान नियन्त्रणका विषयमा भएको कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि नगरपालिका र स्थानीयसँग सहकार्य र समन्वय गरेर काम गरिरहेका छन् । पानी छलफलमा बोल्दै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक टंक कुँवरले आफूहरूले नगरपालिकासँगको समन्वयमा काम गरिरहेको बताए ।

विशेष गरी नेपाल भारत सीमा रहेका स्थानमा तटबन्ध गर्दा भारतीय प्रहरीले गर्ने रोकावटलाई पन्छाउने र काम भइरहेको स्थानको सुरक्षा दिने, जनश्रमदान गर्ने र कुटनीतिक पहल गर्ने, बाढीमा उद्धार गर्ने लगायतका कार्यहरू भइरहेको बताए । त्यससँगै विपत व्यवस्थापनका विषयमा जनचेतना जगाउने उद्देश्यले महाकालीका ३ सय ४२ जना विद्यार्थी माझ कक्षा सञ्चालन गरिएको बताउँदै आफूहरूको मुख्य चुनौती भनेको विपतका विषयमा दिगो योजना नहुनु र स्रोत साधनको कमी हुनु रहेको उल्लेख गरे ।

त्यस्तै ईलाका प्रहरी कार्यालय दोधारा महाकाली नपा प्रहरी निरीक्षक चेतराज पनेरुले बाढीमा नागरिकको जीउ र धन बचाउन महाकाली नगरपालिकामा उद्धार सामग्रीको अभाव भएकाले कम्तीमा दुई ओटा प्लाष्टिकको डुङ्गा भएमा सहजता आउने बताए ।

कार्यक्रमम वडा नम्बर १० का वडाध्यक्ष नरबहादुर सुनार, वडानम्बर १ का अध्यक्ष अर्जुनदत्त भट्ट ,वडानम्बर ७ का अध्यक्ष ज्ञानेन्द्रबहादुर बहेक वडा नम्बर ९ का अध्यक्ष ऋषिराम क्षेत्री, सामुदायिक वन, रेडक्रस, पत्रकार स्थानीय लगायतको सहभागीता रहेको थियो ।

नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष सविन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पानी परियोजनाका तल्लो महाकाली नदी व्यवस्थापन विशेषज्ञ जगदीश भट्टले पानी परियोजनाका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा पुनः चार बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिबद्धताहरू

१. महाकाली नगरपालिका वडा नम्बर १० कुतियाकभरमा सुरक्षित आवास निर्माण गरिनेछ ।

२. महाकाली नगरपालिका वडा नम्बर ८ सुन्दरबस्तीका जोखिम स्थानहरूमा तटबन्ध गरिनेछ । साथै त्यस स्थानमा पूर्व     सूचना प्रणालीलाई प्रभावकारी बनाइनेछ ।

३. प्रत्येक वडामा बाढीबाट बच्न पूर्व सूचना प्रणालीलाई लागू गरी नागरिकलाई जागरुक बनाइने छ ।

४. यस अघि गरिएका प्रतिबद्धतालाई निरन्तरता दिइनेछ ।

Facebook Comments