हामी रिटायर्ड भयौँ तर आनुवंशिक स्रोतको मुद्दा रिटायर्ड भएको छैन : वनस्पतिविद् श्रेष्ठ

आनुवंशिक स्रोत, यसबाट नेपालले लिनसक्ने फाइदा र अन्य विविध विषयमा सम्झना महजर्ननले वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठसँग कुराकानी गरेकी छन्। प्रस्तुत छ कुराकानीको सारांश:

आनुवंशिक स्रोत के हो ?

आनुवंशिक स्रोत भन्नाले प्राणी जीव, वनस्पति तथा सूक्ष्म जीवाणु हो। जस्तो जाँड, रक्सी र मर्चा बनाउने यी सबै जीवात्माको गुण, स्वभाव, प्रकृति कस्तो हुन्छ भनेर प्रस्फुटन गर्ने गराउने मूल तत्व भनेको तिनमा निहीत वंशाणुहरू हुन् जसलाई जीन भनिन्छ। तोरीको सानो गेडा रोप्यो भने दुई हात अग्लो बोट निस्कन्छ। यसैगरी सानो पिपलको बोट रोप्यो भने विशाल वृक्ष बन्छ। त्यसकारणले जडिबुटी हुनु, वृक्ष हुनु, गड्यौला हुनु, हात्ती हुनु भनेको त्यसको जिनमा भएको जीवाणु विजाणु वा वंशाणुले निर्धारण गरेको हुन्छ। त्यसकारण यस्ता वंशाणुबाट विश्व ठूल्ठूला औषधी बनाउन सफल भएको छ। कृषिमा धेरै नै सफलता हासिल भएको छ। त्यसकारण विश्वभरका एक ठाउँका जीवाणु अर्को स्थानमा लगेर विकास गर्ने कार्यक्रम धेरै भएका छन्। विकसित देशहरूले तिनमा आफ्नो एकाधिकार जमाएका छन्। त्यसकारण जुन स्थानका जीवाणु, वंशाणु हुन् ती स्थानका मान्छेले फाइदा पाएनन्। त्यो स्थानका मान्छेले लाभ उठाउन नसकेको भन्दै सन १९९२ मा बायोडाइभरसिटी कनभेन्सन भयो। त्यसबेलादेखि नागोया प्रोटोकल सम्मका कुरा गर्दा वंशाणु र जीवाणुबाट हामीले पनि फाइदा लिनुपर्छ भनेर लागेका थियौँ। नेपालमा यो प्रयास भएको पनि २५ वर्षभन्दा बढी भइसक्यो। त्यहाँदेखि अहिलेसम्म अनेकौँ प्रयास भए।

यो अवधिमा जैविक खोजीको विषयमा कतिको सफल भइयो त ?

यो वंशााणुबाट लाभ लिनका लागि सबैभन्दा पहिला लगत नै हुनुपर्‍यो। अभिलेखीकरणका लागि रजिस्टर्ड बनाउने भनेर खोकना, चितवन लगायतका गाउँगाउँमा गएर प्रशिक्षण पनि दिएका छौँ । तर, लगत राख्न सकेनौँ। लगत नभएपछि लागत ल्याउन सकेनौँ अनि लगत र लागत दुबै नसकेपछि त्यसबाट लाभ पनि लिन सकिएन।

लगत राख्न किन सकिएन ?

यसको लगत राख्नका लागि कानुनी रूपमा बलियो हुनुपर्छ। कानुनले बाध्न सकेन आजभन्दा १७ वर्ष पहिले कानुनका वक्ताहरूलाई न्यायधीशहरूलाई राखेर यस विषयमा ठूलो छलफल गरेका थियौँ। त्यो बेला श्रीमान् केदारनाथ उपाध्याय, कल्याण श्रेष्ठ र श्रीप्रसाद पण्डित लगायतका हुनुहुन्थ्यो। उहाँहरूले राम्रा राम्रा लेख लेख्नुभएको थियो । त्यो बेलाका सबै जना रिटायर्ड भइसके । हामी पनि रिटायर्ड भयौँ तर यो मुद्दा रिटायर्ड भएको छैन तपाईँहरूले उठाउनुभयो। तपाईँहरूलाई धन्यवाद छ । यसका लागि विधेयक चाहियो । धेरैपटक प्रयास भएको छ तर अहिलेसम्म आएको छैन । सबैभन्दा पछिल्लो विधेयक २०६३ सालको मेरो हातमा छ । त्यसकारण धेरै वर्ष भइसक्यो यो मुद्दा उठेको। जैविक सम्पदा, आनुवंशिक स्रोत नेपालमा अथाह छ भन्ने भयो । यस अथाहलाई थाहा बनाउन सकिएको छैन।

अहिलेको मुख्य चुनौती के हो ?

अहिलेको मुख्य चुनौति भनेको यो अथाहलाई थाहा बनाउनु हो। यसका लागि एउटा विधेयक पास हुन पर्‍यो। कानुन सम्मत रूपमा अघि बढ्यो भने सहज होला। अहिले सबैको प्रयासमा धेरै काम अघि बढिसके पनि सरकारले प्राथमिकतामा राखेर कानुन बनाउन नै प्रयास गर्नुपर्‍यो। अरू बाँकी काम त बिस्तारै अघि बढिहाल्छ। सन् १९९२ मा जैविक विविधतामा हरेक देशको सार्वभौम अधिकार छ, त्यो कायम हुन्छ । त्यो अधिकार कायम गर्न यो हाम्रोे सम्पत्ति हो भन्ने रजिस्टर्ड छैन, त्यो रजिस्टर्ड नबनाइकन हुँदैन । त्यो रजिस्टर्ड गाँउपालिका, प्रदेश तहमा र राष्ट्रिय तहमा कायम नगरी हुँदैन।

Facebook Comments